आजदेखि प्रधानमन्त्री कप, आर्मीसँग खेल्दै कर्णाली

सुर्खेत – आज(सोमवार)देखि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलम आज कर्णाली प्रदेशले त्रिभुवन आर्मीविरुद्व खेल्दैछ । कर्णालीको टोली रविन्द्रजंग शाहीको कप्तानीमा रहेको छ ।

फेब्रुअरी १५ देखि ओमानमा हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक ट्वान्टी–२० संरचनामा आयोजना गर्न लागेको हो । विश्व ट्वान्टी–२० छनोटका लागि क्यानले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेर बन्द प्रशिक्षण सञ्चालन गर्दै आएको छ । यी खेलाडीले अब प्रधानमन्त्री कपमा आ–आफ्नो टोलीबाट खेल्नेछन् ।

प्रतियोगितामा ७ प्रदेश तथा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब गरी १० टोलीको सहभागिता रहनेछ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस, सुदूरपश्चिम प्रदेश र प्रदेश १ तथा समूह ‘बी’ मा एपीएफ, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रकाशित मितिः   २६ पुष २०७८, सोमबार ००:००