डढेलो नियन्त्रणका लागि सचेतना

 
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ फागुन ।
गर्मी मौसम सुरु भएसँगै आगलागीको खतराबाट जोगिन सचेतनामूलक कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । खडेरीको समयमा राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीको जोखिम बढी हुने भन्दै त्यसका लागि पूर्वतयारी स्वरूप जिल्ला वन कार्यालय सुर्खेतले आइतवार सो कार्यक्रम सम्पन्न गरेको हो । जिल्लाका विभिन्न सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आगलागी हुनबाट रोक्ने र त्यसलाई नियन्त्रण गर्ने उपाय र सीपको बारेमा जानकारी दिइएको छ ।
कार्यक्रममा जिल्ला वन अधिकृत हेमराज विष्टले वन जोगाउनका लागि स्थानीय नागरिकहरू नै सक्रिय हुनुपर्ने
बताए । सरकारी कर्मचारीको एक्लो प्रयासले मात्र वन जोगाउन सम्भव नहुने भन्दै उनले खडेरीको समयमा आगलागीका कारण वन विनाश हुने गरेको बताए । साथै उनले आगलागी नियन्त्रण गरेर वनको संरक्षण गर्ने अभियानमा जुट्न सामूदायिक वनका पदाधिकारीहरूलाई आग्रह गरे ।
सोही क्रममा आगलागी नियन्त्रण गर्ने उपाय र तरिकाको बारेमा नमुना अभ्यास समेत गरिएको थियो । वन कार्यालयका अग्नी नियन्त्रक कर्मचारीहरूले वनमा आगो लागेपछि त्यसलाई नियन्त्रणमा ल्याउने उपायहरूको अभ्यास गरेका थिए ।
प्रकाशित मितिः   २४ फाल्गुन २०७२, सोमबार ०८:००