हात्तीपाइलेका तीन हजार बिरामीः खोजीखोजी औषधि खुवाइने

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ फागुन ।
मध्यपश्चिमका विभिन्न जिल्लामा हात्तीपाइलेको संक्रमण बढ्दै गएपछि त्यसविरुद्ध विशेष अभियान सञ्चालन गर्न लागिएको छ । यो रोगको संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी र स्वयम् सेवकहरूले घरमै पुगेर खोजीखोजी हरेक व्यक्तिलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने छन् । त्यसका लागि मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले आवश्यक स्वास्थ्यकर्मी र स्वयम् सेवकहरू तयारी हालतमा राखेको छ ।
यस क्षेत्रका विभिन्न जिल्लामा अहिले करिब तीन हजार व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको छ । कर्णाली अञ्चलमा खासै समस्या नदेखिए पनि भेरी र राप्ती अञ्चलका विभिन्न जिल्लामा गरी दुई हजार आठ सय ४८ जनामा  हात्तीपाइलेको संक्रमण देखिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी हात्तीपाइलेका बिरामी बाँकेमा छन् । बाँकेमा एक हजार दुई सय ५३ जना हात्तीपाइलेका बिरामी रहेको निर्देशनालयले जनाएको छ । यस्तै बर्दियामा एक हजार एक सय ७७, सुर्खेतमा एक सय ९९, दाङ्गमा एक सय ६४, जाजरकोटमा १८, रोल्पामा १४ र सल्यानमा १३ जना हात्तीपाइलेका बिरामी फेला परेका छन् । दैलेख र प्युठानमा भने समान पाँच÷पाँच जनामा मात्र यो रोगको संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ ।
हात्तीपाइलेको संक्रमण दर उच्च रहेको र बिरामीको संख्या पनि बढ्दै गएपछि मध्यपश्चिममा त्यसविरुद्ध विशेष अभियानको तयारी गरिएको हो । अभियान अन्तर्गत यस क्षेत्रमा रहेका राप्तीका प्युठान बाहेकका अन्य चार जिल्ला र भेरी अञ्चलका सुर्खेतसहित पाँच वटै जिल्लामा यही फागुन २९ गते हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो । निर्देशनालयका निमित्त प्रमुख खेमराज उपाध्यायले फागुन २९ गते यस क्षेत्रका नौ जिल्लामा नै एकैपटक हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागिएको जानकारी दिए । 
उनका अनुसार २९ गते छुटेकाहरूलाई फागुन ३० र चैत १ गते घरघरमा नै पुगेर सबैलाई औषधि खुवाइने छ । उपाध्यायले भने, ‘हात्तीपाइले समस्याको रूपमा देखापरेको छ, यो सरुवा रोग भएकाले सबैले औषधि सेवन गर्नु पर्दछ । हामीले त्यसका लागि स्वास्थ्यकर्मी र स्वयम् सेवकहरू तयारी अवस्थामा राखेका छौं, उनीहरूले हरेकलाई जहाँ जस्तो अवस्थामा भए पनि खोजीखोजी औषधि खुवाउने छन् ।’ औषधि खुवाउनका लागि करिब तीन हजार स्वास्थ्यकर्मी र १५ हजार भन्दा बढी स्वयम् सेवकहरू एकैसाथ परिचालन गर्न लागिएको छ । उनीहरूले प्रत्येक घरमै पुगेर आफ्नै हातले प्रत्यक्ष निगरानीमा सबैलाई औषधि खुवाउने जानकारी उपाध्यायले दिए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयले यसपटक यस क्षेत्रका नौ जिल्लाका करिब २९ लाख ८२ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको जनाएको छ । तराईका केही जिल्लामा औषधिको बारेमा गलत भ्रम फैलाइएका कारण मानिसहरूले औषधि खान नमान्ने गरेको भन्दै निर्देशनालयका जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेले भने, ‘यसपटक हामीले औषधिको बारेमा सबैलाई राम्रोसँग जानकारी गराएका छौं, स्वास्थ्यकर्मीहरूले नै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने छन् । यसका लागि सबैको सहयोग आवश्यक छ ।’ उनले दैलेखमा रहेका राउटेहरूलाई समेत उनीहरूको वस्तीमै पुगेर औषधि खुवाइने जानकारी 
दिए । यस्तै बाढीपीडितका शिविर, विद्यालय, सेना र प्रहरीका क्याम्पमा समेत स्वयम् सेवक परिचालन गरेर औषधि खुवाउने तयारी भइरहेको उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट यो रोगको संक्रमण अन्य निरोगीमा सर्ने भएकाले हरेकले औषधि खानुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । प्युठानमा भने अघिल्लो वर्ष नै सबैलाई औषधि खुवाउन सफल भएको भन्दै निर्देशनालयले यसपाली अन्य पाँच जिल्लामा पनि सबै नागरिकलाई औषधि खुवाउने योजना रहेको जनाएको छ ।
सरकारले सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । तर, मध्यपश्चिमा यसको संक्रमण उच्च देखिएको भन्दै स्वास्थ्यकर्मीहरूले औषधि सेवन गर्न डराउने समस्याका कारण थप चुनौती थपिएको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले यसपाली आफूहरूले घरघरमा पुगेर औषधि खुवाउन लागेको बताए । साथै उनले गर्भवती र सुत्केरी महिला, दुई वर्षमुनीका बालबालिका, दीर्घरोगी, सिकिस्त बिरामी र बृद्धबृद्धाहरू बाहेक अरु सबैले यो औषधि सेवन गर्दा कुनै समस्या नहुने समेत स्पष्ट पारे । 
निरन्तर ६ पटकसम्म औषधि खाएमा हात्तीपाइलेको संक्रमण नहुने उनको भनाइ छ । अभियानको बारेमा छलफल गर्न आइतवार वीरेन्द्रनगरमा आयोजीत कार्यक्रममा निर्देशनालयका महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन श्यामलाला आचार्य, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती र क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत लक्ष्मी खरेललगायतले अभियान सफल बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
प्रकाशित मितिः   २४ फाल्गुन २०७२, सोमबार ०८:०५