प्रदेश गौरवको अर्को योजना

सुर्खेतमा मेडिकल कलेज स्थापना हुने पक्का भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्रदान गरिसकेको छ । बजेट विनियोजन गर्न थालेको झन्डै तीन वर्षपछि मात्र सरकारले निर्माणको अनुमति दिएको हो । निर्माण स्वीकृती पाएसँगै भौतिक संरचना बनाउनुपूर्वका प्रक्रियागत कामहरू सुरू गरिएको छ । निर्माणको चर्चा भए पनि अन्योलमा रहेको मेडिकल कलेज निर्माणको कामले अब भने गति लिन थालेको हो । मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले अहिले गुरुयोजना निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रक्रिया समेत अघि बढाइसकेको छ । सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएपनि मेडिकल कलेज निर्माणको कार्यक्रम स्वीकृत भने गरेको थिएन । गएको कार्तिकमा ढिलागरी अनुमति प्रदान गरिएको हो ।

यो वर्ष गुरुयोजना र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गुरुयोजना निर्माण र ईआईए भएपछि जग्गा अधिग्रहणका लागि प्रक्रिया थालिने छ । प्रक्रियागत सबै काम सम्पन्न गरेर भौतिक संरचनाको निर्माण अघि बढाइने जनाइएको छ । गुरुयोजना निर्माण र वातावरणीय मूल्याङ्कन सकिएपछि जग्गा अधिग्रहणका लागि सर्भेको काम थालिने छ । मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि झन्डै ८० बिघा जग्गा आवश्यक पर्ने आकलन गरिएको छ । यद्यपि, गुरुयोजना निर्माण नभइ अहिले नै यति जग्गा चाहिन्छ भन्न सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ । गुरुयोजना बनेपछि सर्भे गरेर मात्र कति जग्गा आवश्यक पर्छ भन्नेबारे यकिन हुनेछ । आयोजनाले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ मा पर्ने बतासे डाँडामा मेडिकल कलेज स्थापनाका लागि जग्गा हेरेको छ । त्यसलाई टुङ्गोमा पु¥याउन कानुनी प्रक्रियालगायतका काम अगाडि बढाइएको छ ।

प्रत्येक प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको अवधारणा छ । सोहीअनुसार कर्णालीका लागि सुर्खेतमा पनि मेडिकल कलेज स्थापना गर्न लागिएको हो । सुर्खेतमा बन्ने मेडिकल कलेजले कर्णालीका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुनुका साथै यस क्षेत्रको स्वास्थ्य सेवा पनि सुलभ हुने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्तिको अभाव झेल्दै आएको कर्णाली प्रदेशलाई यो योजनाले राहत दिने छ । प्रक्रिया सुरु भइसकेकाले अब भौतिक संरचना निर्माणसँगै अन्य आवश्यक काममा ढिलाइ गर्नु हुँदैन ।

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार ०५:०५