सल्यान र डोल्पामा एमालेको नेतृत्व चयन
सुर्खेत: नेकपा(एमाले)ले कर्णाली प्रदेशका दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान र डोल्पामा जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
सल्यानको अध्यक्षमा गोविन्द पुन चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट पुन सर्वसम्मत अध्यक्ष भएका हुन् ।
उपाध्यक्षमा भीमबहादुर सेन, सचिवमा ओजबहादुर बुढाथोकी, उपसचिवमा दानबहादुर केसी र पुष्पा बोहरा निर्वाचित भएका छन् । अधिवेशनले ८३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
यस्तै एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । छैठौं जिल्ला अधिवेशनले शनिवार बुढाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी बनाएको हो ।
उपाध्यक्षमा विश्वचन्द्र डसाल र सचिव लंकबहादुर रोकाया चयन भएका छन् । त्यस्तै, उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा छनोट भएका छन् । एमाले विधानअनुसार जिल्लामा पाँच जना पदाधिकारी रहने व्यवस्था छ ।
कर्णालीका अन्य जिल्लामा भने नेतृत्व चयनका लागि अधिवेशनहरू जारी छन् । प्रदेशका सात जिल्लामा शुक्रवारदेखि अधिवेशन सुुरू भएका थिए । कालीकोटमा शनिवार जिल्ला अधिवेशन उद्घाटन गरिएको छ भने हुम्ला र मुुगुमा मौसम प्रतिकूलताका कारण केही दिनका लागि अधिवेशन सारिएको छ ।
प्रकाशित मितिः २५ पुष २०७८, आईतवार ०५:०४
साझा बिसौनी ।