कर्णालीमा वैशाखसम्म सबैलाई खोप

सुर्खेत: कर्णाली प्रदेशका सबै नागरिकले आगामी वैशाखभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्णखोप पाउने भएका छन् । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर वैशाख मसान्तसम्म प्रदेशलाई पूर्णखोप घोषणा गर्ने तयारी गरिएको छ । निर्धारित अवधिभित्रै लक्षित समूहका सबैले खोप पाउने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार हालसम्म प्रदेशका ६० प्रतिशत नागरिक कोरोना भाइरसविरुद्धको खोपको दायराभित्र आएका छन् । लक्षित वर्गका ४० प्रतिशत नागरिकलाई भने खोप दिन बाँकी छ । बाँकी रहेका ४० प्रतिशतले पनि वैशाखसम्म दुवै मात्रा खोप पाउने सरकारी दाबी छ । स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवारसम्म कर्णालीमा आठ लाख सात हजार आठ सय ९७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । त्यस्तै, कोरोनाविरुद्धको दुवै मात्रा पाउनेको संख्या चार लाख ९२ हजार पुगेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीका सुुर्खेत र हुुम्लामा खोपको पहुँच अन्य जिल्लाको तुलनामा राम्रो रहेको जनाएको छ । त्यहाँ झन्डै ८० प्रतिशतमाथिले खोप पाएका हुन् । निर्देशनालयका अनुसार खोपको दायरा कम भएका जिल्लाहरूका लागि आवश्यक रणनीति बनाउन थालिएको छ । त्यस्ता जिल्लामा स्वास्थ्य संयोजकहरूसँग कोभिड–१९ विरुद्धको खोपको दायरा बढाउनेबारे छलफल भइरहेको हो । प्रदेशमा जाजरकोट र कालीकोटमा खोपको पहुँच कम देखिएको निर्देशनालयले जनाएको छ । यीसहित पाँच वटा जिल्लामा निर्देशनालयले अहिले अनुगमन तथा सरोकारवालासँग छलफल गरिरहेको छ ।

पछिल्ला केही महिनायता कर्णालीमा कोरोना संक्रमण दर निकै न्यून छ । यहाँ हाल संक्रमण दर दुई प्रतिशतभन्दा पनि तल झरेको हो ।

निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले वैशाख अन्तिमसम्म प्रदेशका सबै नागरिकलाई खोप लगाइ सक्ने बताए । उनले पुस मसान्तसम्म दुुई तिहाइ नागरिकलाई खोप दिने लक्ष्य रहेको जानकारी दिए । ‘त्यसका लागि वडा तथा पालिकास्तरमा स्वयम्सेवक परिचालन गरिएको छ,’ उनले भने, ‘प्रत्येक वडामा कुुन घरधुुरीमा खोप लगाउन छुुटे भनेर उनीहरूमार्फत तथ्याङ्क संकलन भइरहेको छ ।’ त्यसकै आधारमा योजना बनाएर अभियान अघि बढाइने तयारी निर्देशनालयको छ । यस विषयमा स्थानीय तहका प्रमुखहरूसँग छलफलसमेत गरिदै आएको छ । पालिकाहरूले खोप लगाउन छुटेका नागरिकको विवरण निर्देशनालयलाई उपलब्ध गराउने बताएका छन् ।

पछिल्लो समय खोप अभियानको दायरा तथा प्रभावकारी भए/नभएको अनुगमनसमेत निर्देशनालयले गरिरहेको जनाइएको छ । खोपको कम पहुँच भएका जाजरकोट र कालीकोटलगायतका पाँच जिल्लाको अवस्था बुझ्न केही दिन पहिले अनुगमन गरिएको निमित्त निर्देशक खड्काले बताए । विभिन्न जिल्लाको छलफलको निश्कर्ष र तथ्याङ्कको आधारमा खोप अभियानको आगामी रणनीति बनाइने उनको भनाइ छ ।

पछिल्ला केही महिनायता कर्णालीमा कोरोना संक्रमण दर निकै न्यून छ । यहाँ हाल संक्रमण दर दुई प्रतिशतभन्दा पनि तल झरेको हो । संक्रमणको जोखिम भने कायमै रहेकाले खोपको दायरा फराकिलो बनाउँदै लगिएको जनाइएको छ । प्रदेशभर चार जना संक्रमित मात्र आइसोलेसनमा रहेका छन् । अहिले कोरोनाका कारण कोही पनि सिकिस्त बिरामी नभएको निर्देशनालयले जनाएको छ ।

अतिरिक्त खोप वितरण स्थगित

मंगलवारबाट सुरु हुने भनिएको अतिरिक्त खोप अभियान स्व ास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थगित गरेको छ । सूचना जारी गर्दै मन्त्रालयले केही लक्षित वर्गका लागि दिने भनिएको कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरिएको जनाएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने बताइन् । उनले सबै नागरिकलाई कोरोना विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन सरकार तयार रहेको जनाइन् ।

सरकारले यसअघि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने निर्णय गरेको थियो । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीलाई थप मात्राको खोप दिइने तयारी थियो । यस्तै, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिका व्यक्तिले अतिरिक्त खोपको मात्रा पाउने भनिए पनि हाललाई अभियान स्थगित गरिएको हो ।

प्रकाशित मितिः   २१ पुष २०७८, बुधबार ०५:०६