आम्नै कथा, आम्नै बान्की

कर्णाली विचारको थलो हो

सरला गौतम (लेखक)

म तराइको मान्छे भए पनि मेरो परिचय कर्णाली र सुदूरपश्चिमसँगै जोडिन्छ । कर्णालीले नै मलाई लेखक अनि पत्रकार बनायो । कर्णालीको आँखा रुँदैन मात्र सपना पनि देख्छ । कर्णाली भनेको पीडाको पहाड मात्र होइन विचारको खानी पनि हो ।

हामीलाई विचार बनाउन किन माइकल र डेभिड नै चाहिन्छ ? कर्णालीले देखेको सपना, यसले भोगेको आर्तनाद किन विचार बन्दैन ? राष्ट्रिय पत्रपत्रिकामा बल्लबल्ल कर्णालीले अलिअलि स्थान पाउन थालेको छ । त्यसमा पनि पीडाको स्थान बढी छ, विचारको कम । कर्णाली विचारको पनि थलो हो । खप्तड बाबा, चन्दननाथ, योगी नरहरिनाथहरूरूको पनि थलो हो ।

कर्णाली आफैंमा विचार पनि हो । सपना पनि हो । लेखकका हिसाबले मलाई कर्णालीको आँसु मात्र लेख्नु थिएन । कर्णालीबाट धेरै कुराको कोशेली लिएर जानु थियो । सुरुसुरुमा कर्णालीको हाँसो र सपना पत्रपत्रिकामा पेस गर्दा मान्छेहरू जिल्ल पर्थे । मेरो यस्तो लेख रचनालाई बाँकी भू–भागको नेपालीले माया दिए । मन पराए । मलाई झनै हौसला भयो । पटक–पटक यहाँ आएँ । यँहाका मानिसहरूको जोश, जाँगर र सपनाले मलाई नै उर्जा भरिदियो । कर्णालीको आँशु मात्र देखाएर लोकप्रिय विद्धान बन्ने मानिसहरूलाई भने पोल्यो ।

छाउपडी लगायतको बेथितिमा लड्ने महिलाहरू कर्णालीका मेरुदण्ड हुन् । उनीहरू जसरी बिहानदेखि बेलुकासम्म श्रम गर्छन् त्यो श्रमको उर्जाले कर्णाली उज्यालो पारेका छन् । काठमाडौंका पत्रिका र विदेशी पत्रिकामा महिलाहरूको बेदना मात्र पोखिन्छ । मानौं उनीहरू बिहानदेखि बेलुकासम्म रोएर मात्र बस्छन् । यहाँका महिला शक्तिको प्रतिक हुन् । पीडाको प्रतिक होइनन् । यो दृष्टिकोणलाई बदल्नु आवश्यक छ । कर्णालीको मीना बोले पीडा हुने, अमेरिकाको मोनिका बोले बिचार हुने ?

यो कहिलेसम्म ? विचार निर्माणको प्रक्रियामा कर्णालीका मानिसहरूको सहभागिता चाहिन्छ । यहाँका महिलाहरूको झन् धेरै सहभागिता चाहिन्छ । म कर्णालीको आँशु देखाउनेप्रति पनि वैरभाव राख्दिन । किन कि कर्णालीको दुःख, कर्णालीको छाउपडीकै कुरा भइरहन्छन् । राम्रो होस् भनेरै यी कुराको चर्चा गरिन्छ । तर त्यो कसले हटाइरहेको छ ? काठमाडौंले हटाइरहेको छ, या ट्विटरमा कराउने हामीले हटाइरहेका छौं, या रेलकला बिष्टहरूले हटाइरहेका छन् ?

कर्णालीको अँध्यारोको कुराहरू चाहिँ धेरै भयो तर कर्णालीमा चुपचाप दियो कसले बालिराखेको छ ?

ति साना मान्छेहरू कसले सभ्यता सिँगारिरहेछन् ? ति मानिसहरूको चाहिँ कुरा धेरै भएन । जस्तो थिन्ले दाइ, उहाँले डोल्पाको बाटोको सपना देख्नुहुन्थ्यो । अहिले डोल्पामा बाटो पुग्यो । उपल्लो डोल्पामा बाटो पुगेको छैन । जसले बाटोको सपना देखेर बाटोमै बित्नुभयो । बाटोबारे उहाँको विचार वा ज्ञान हामीले पढ्न पाएनौं । डोल्पा भन्नेवित्तिकै हामीले दुनै सम्झन्छौं । हदै भए यार्सागुम्बा सम्झिन्छौँ । या त उही रोदन सम्झिन्छौँ । दुनैले नेपाल हाँकिरहेको थियो । नेपालका सबै जिल्लाका मानिसहरू दुनैमा पसल थापेर बसेका थिए । व्यापारमा रौनक थियो । त्यो बजारले अथाह सम्भावना बोकेको थियो र त मानिसहरू पसल थापेर बसे ।

आइएनजिओको जागिर छोडेर, खेती किसानी सम्हालेर बसेका रविन्द्र शाही जस्ता युवा थिए । उनको बान्की परेको क्याफेमा बसेर उनकै केशर खेती हेर्दै मैले कुराकानी गरेकी थिएँ । कालीकोटको पलाता गाउँ पाँच बजे उठ्छ । मान्छेहरू काममा लाग्छन् । युवाहरू काम गर्छन् । यहाँ पहिले द्वन्द्वको बम पड्किन्थ्यो, अहिले विकासको बम पड्किन्छ । दश वर्षको अन्तरालमा दोश्रो पटक म यो गाँउमा पुगेकी थिएँ । यो गाँउ बद्नाम गाँउ थियो । चोरीको लागि बद्नाम । रक्सी र झैझगडाको लागि बद्नाम । तर म दोश्रो पटक पुग्दा यो सबै झन्डै शुन्यमा झरेको थियो ।

अहोरात्र काम र बन्दै गएको आफ्नो गाँउ देखेर मानिसहरू खुसी थिए । यो आफै जादु भएर भएको थिएन । मानिसहरूको पसिनाले बनाएको थियो । पसिनाको कथाहरू बाहिर आउन थाल्नुप¥यो । यही पसिना र परिवर्तनको कुरा समेटेर राष्ट्रिय अखबारहरूमा कभर स्टोरीहरू गरें । पसिनाले ल्याएको परिवर्तन थाहा पाएपछि मानिसहरूमा उत्साह थपिएको प्रतिक्रिया पनि पाएँ । महिलाहरू त घरको काम र निर्माणको काम दुवैतिर सक्रिय थिए । कर्णाली मौरीजस्ता महिलाहरूले हाँकेको ठाउँ हो । महिलाहरूको आँशु मात्र नलेखौँ, त्यो आँशुबाट निस्किएको विचार लेखौँ । छाउपडी गोठमा बसेका महिलाहरूको दुःख मात्र नलेखौँ, चार दिन बस्दा, उसलाई कस्तो महशुस हुन्छ, त्यो आर्तनादबाट निक्लेको सत्य पनि लेखौँ ।

कर्णाली भनेको उद्यमीहरूको ठाउँ हो । दश वर्ष अघि झुपडीमा चिया पसल थापेको एक युवालाई भेटेकी थिएँ । दश वर्षपछि भेट्दा तीनतारे होटलको योजना गर्दै थिए । कालीकोटको मान्ममा सबैभन्दा राम्रो होटलका मालिक बनिसकेका थिए । बाँकी लक्ष्यको लागि रेखा कोर्दै थिए ।
मान्मकै पूर्ण बिक दाइले बनाएको जुत्ता देश विदेशमा प्रख्यात छ । जटिबुटीको व्यापारमा साना व्यापारीहरू लागेका छन् । यी मानिसहरूको मेहनत र लगन कर्णालीबारे बाहिर आउने एकाङ्की दृष्टिकोणमा छोपिएको छ । कर्णालीका किसानले माटोलाई गरेको माया सिक्न लायक छ । अर्गानिक खेतीप्रति उनीहरूको लगाव, नेपालले मात्र होइन बाँकी विश्वको लागि पाठ हो । यहाँको जटिबुटीको बयान अतुलनीय छ । यो सबै छर्लङ्ग देखिनुपर्छ । लोकज्ञानमा हाम्रो विश्वास जाग्नु जरुरी छ ।

छाउपडीको विरुद्धमा रातदिन लड्ने यति धेरै यहाँका महिलाहरू हुनुहुन्छ । आज हामी काठमाडौंका महिलाहरू सडकमा गएर प्लेकार्ड बोक्दैमा बीस वटा मिडियामा छाउँछौं । यहाँको गाउँ–गाउँको महिलाको एउटा मिडियामा पनि अन्तरवार्ता आउँदैन । बाजुराकी रेलकला आमा, बडिमालिकाकी पण्डितकी बुहारी भुवनेश्वरी उपाध्याय, बाजुरा कोल्टिकी उपमेयर सृष्टि रेग्मी जस्ता मान्छेहरूले छाउपडीविरुद्ध लडिरहनुभएको थियो । आफ्नो घरभित्रबाट सुरु गरेर उहाँहरूले आफ्नो क्षेत्रमा सुधार ल्याउन सफल पनि हुनुभएको थियो । त्यस्ता मान्छेहरू पनि हुनुहुन्छ जसको कहीँ पनि अन्तरवार्ता आउँदैन । जसको कुरा लेख्दा हामी पनि ट्रोलमा पर्न सक्छौँ । उहाँहरूको कुरा किन सुनिँदैन ? उहाँहरूले पनि भन्नुहुन्थ्यो तपाईंहरू कर्णालीमा सधैँ आउनुहुन्छ, एउटै कुरा लेख्नुहुन्छ, किन हाम्रो यस्तो कुराहरू लेख्नुहुन्न ? यो बीचमा मेरो कोसिस भनेको कर्णालीको सपना पनि आओस् र कर्णालीको विचार पनि आओस भन्ने हो ।

आँशुसँग, दुःखसँग, नराम्रो कुरासँग लड्न पनि त ऊर्जा चाहिन्छ नि । अँध्यारोसँग मुठी कस्ने होइन, उज्यालो बाल्ने मानिसहरूको कथाको दियो बाल्ने हो । कर्णाली भनेको देखिएको कर्णाली मात्रै होइन । कर्णालीलाई हेर्न यसको समग्र दृष्टिकोण चाहिन्छ । समाज भनेको नै समग्र हो । समग्र वृक्ष जस्तो हो । हरेक जरा त्यसको जीवन हो । कर्णालीको रोदन, देउडा, सपना, विचार सबै कर्णाली हो । कर्णाली जहिले पनि अरूको आँखाबाट वा अरूको विचारबाट अभिव्यक्त भइरह्यो । त्यसैले अघि भनेको जस्तै यसको समग्र चित्र आएन होला । जुन खालको दुःख विरहको कुरा आयो त्यो गल्ती थियो पनि म भन्दिन । त्यो पनि कर्णालीलाई उज्यालो बनाउनकै लागि आएको हो । यँहाका पत्रकार लेखकले कर्णालीलाई लेख्न ठूलै दुर्घटना पर्खने होइन । कहिले मान्छे मर्लान् र कलम तिखारौंला भनेर बस्ने होइन । हरेक क्षण एक एक पाइला यो भेगलाई अघि बढाइरहेका मानिसहरूको उर्जा र हौसला पनि लेख्ने हो ।

यो कठिन भूगोलमा केही गरिरहेका मानिसहरूको जुझारूपनलाई लेख्ने हो । अनुभूति र भोगाई मिसिएर बनेको विचार लेख्ने हो । महिलाहरूको आर्तनाद मात्र लेख्ने होइन । त्यो आर्तनादबाट उत्पत्ति भएको सत्य लेख्ने हो । कर्णाली जसरी बग्छ त्यसरी नै यहाँका सबै कुरा समेटिनुपर्छ । कर्णाली नदीलाई म हेरिरहन्थें । कतै उर्लन्थ्यो । कतै सुस्त शान्त बग्थ्यो । आफ्ना सन्तान लिएर फाल हाल्ने आमाको पीडामा कर्णाली नदी आँशु भएर पनि बग्यो होला । बेथितिविरुद्ध जुध्ने मानिसहरू दखेर बिजुली बेगमा पनि बग्यो होला । यहाँका ज्ञानी मानिसहरूको ज्ञानधारा समटेर प्रज्ञाको बहाव भएर पनि बग्यो होला ।

एउटै धुन र लय छैन नदीको । यसले सबै समेटेको छ । विशाल छ, गहिरो छ । जति गहिरो र फराकिलो कर्णालीको बान्की छ त्यस्तै फराकिला कुराहरू अब बाहिर आउन थाल्नुपर्छ । लेखनमा, पत्रकारितामा अब भन्न थाल्नुपर्छ कि कर्णाली रूँदैन मात्र सपना पनि देख्छ । यहाँ उज्यालो छ, ज्ञानको धारा छ । यो सम्पूर्ण हो, केही अंश मात्र होइन ।


समाज रुपान्तरणको माध्यम रंगमञ्च

हिरा नेपाली (रंगकर्मी)

विश्वव्यापी रूपमा रङ्गमञ्चलाई समाज रूपान्तरणको सबैभन्दा महत्वपूर्ण औजारको रूपमा हेरिन्छ । रङ्गमञ्च हुँदैनथ्यो भने सामाजिक न्याय स्थापनामा कठिनाइ हुने थियो । २०६४ सालमा संविधानसभाको चुनावताका हामीले सडक नाटक गर्ने अवसर पाएका थियौं । र, कर्णालीमा समाज रूपान्तरणको सबैभन्दा उत्तम माध्यम रङ्गमञ्च हुनसक्छ ।

२०६५ सालको कुरा हो । काठमाडौंस्थित गुरूकुलमा हामीले ‘कर्णाली दक्षिण बग्दो छ’ भन्ने एउटा नाटक प्रस्तुत गरेका थियौं । त्यो चाहिँ विकासमा रङ्गमञ्चले खेल्ने भूमिकाको सबैभन्दा प्रचुर उदाहरण हो जस्तो मलाई लाग्छ ।

समग्र कर्णालीमा रङ्गमञ्चको गतिविधि एकदमै न्यून छ । जसको कारण हो यहाँका मानिसको मानसिकता । यहाँ नाटक गर्दा महिलाको भूमिका पनि पुरुषले नै निभाउनुपर्ने अवस्था छ । नाट्यकर्मीहरूलाई हेर्ने दृष्टि गलत छ । पढ्न सकेन, जागीर छैन, त्यसैले नाटक खेल्छ भनिन्छ । यस्तो सोचले रङ्गमञ्चको विकासमा ढिलाइ भयो । आफ्नै इच्छाशक्तिले अगाडि बढ्न खोजेपनि सामाजिक कारणले हामी केही कमजोर भयौं ।

सायद नेतृत्व तह पनि हाम्रो लागि उदार भइदिएन कि ! हामीलाई माया गर्ने, सम्मान गर्ने भइदिएन कि ! फलस्वरूप आज हामी यो स्थितिमा छौं । यहाँ बसेर हामीले गफ मात्र गरिराख्नुपरेको छ । पूर्व र पश्चिमको तुलना गर्दा पूर्वमा आज दश वटा रङ्गमञ्चहरू छन् । इलाम, विराटनगर आदि ठाउँमा नाटक घरहरू छन् । त्यहाँ सरकारी र निजी तबरबाट नाटकलाई प्रवद्र्धन गरिएको छ । गत वर्ष कर्णालीमा राष्ट्रिय नाटक महोत्सवको आयोजना भयो । जहाँ आयोजना गरिएको थियो त्यो कभर्ड हल दर्दनाक अवस्थामा थियो । त्यसले पनि यहाँको माहौललाई संकेत गर्छ ।

साहित्य दुई तरिकाले स्थापित हुन्छ । पहिलो, पुर्खाहरूबाट हस्तान्तरित हुँदै आउने कला र संस्कृति । दोस्रो, लिखित रूपबाट स्थापित हुने साहित्य । पढेर लेख्नेले हाम्रा कथा लेखेनन् । हामी भोग्नेले पनि हाम्रा कथा लेख्न सकेनौं । दलित वा पिछडिएको वर्गको कथा त उनीहरूले नै लेख्नुपर्‍यो नि । तर लेखपढ नै गर्न नपाएपछि उनीहरूले कसरी आफ्ना कुराहरू लेख्न सक्थे त ?

हामीले कर्णालीका कथाहरू लेख्ने र यहाँको नाट्य यात्रालाई अगाडि लैजाने पूर्णप्रयत्न गरिराखेका छौं । हाम्रो यात्रा जारी छ । मैले नाटक काठमाडौंमा नै पढेको हो । तथापी मलाई मेरो माटोले तानेर फेरी कर्णालीमा ल्यायो । थाहा छैन मान्छेहरू किन सहर केन्द्रित हुन्छन् । हाम्रो प्रयास कर्णालीमा नाटकको विकास हो । सकभर काठमाडौंका मान्छे पनि नाटक हेर्न मुगु, जुम्ला वा कालीकोट नै आउन् भन्ने लाग्छ ।

काठमाडौंमा अवसरहरू पनि हुन्छन् । त्यहाँका अन्तर्राष्ट्रिय नाटक उत्सवहरूमा हामीले यहाँको कथालाई प्रतिनिधित्व पनि गर्न सक्छौं । साहित्य स्थापित गर्ने भनेको पनि त्यही त हो नि आफ्नो कथा अरूकहाँ गएर देखाउने हो हामीले । मलाई लाग्छ ‘कर्णाली दक्षिण बग्दो छ’ देखाएपछि नै खस भाषाले काठमाडौंमा लाजको घुम्टो खोल्न थालेको हो । त्योभन्दा अघि त्यहाँ मान्ठभन्दा पनि लाज हुन्थ्यो । कसैले सुने पनि नसुने पनि हामीले खस भाषामै नाटक गर्छाैं भन्यौं । भाषा र साहित्यको विकास यसरी नै हुने हो ।

हामी कर्णालीका मान्छेले नै कर्णालीका कथाहरू भन्न सकेनौं भने कर्र्णलीका हौं भनेर हिँड्दा पनि शोभा दिँदैन । विदेशका कथाहरू नेपालमा आउँछन् तर कर्णालीका कथाहरू अन्त किन नजाने त ? त्यसकारण हामीले प्रयास गर्दै छौं । र, हामीले त्यसको सम्भावना पनि देखेका छौं । यस उत्सवमा देखिएको उत्साहजनक सहभागिताले पनि त्यही संकेत गर्छ कि हामी अगाडि बढ्दै छौं ।


भाषा नै कर्णालीको पहिचान

वुद्धिसागर (लेखक)

पहिले–पहिले कर्णालीमा साहित्यिक कार्यक्रमहरू पनि एकदमै कम हुन्थे । वि.सं. २०५३ सालमा म कालीकोटमा हुँदा ‘साहित्य के हो ?’ भन्ने पनि थाहा थिएन । तर अहिले आएर साहित्यिक क्षेत्रमा कर्णालीमा धेरै प्रगतिहरू भइराखेका छन् । कर्णालीको भाषाको मिठास नै यहाँको साहित्यिक पहिचान हो । ती चीजहरू पनि विस्तारै फैलिरहेका छन् । यहाँको भाषा र लवज बुटवल कटेपछि छुट्टिन्थ्यो । साहित्यका कोर्सहरूमा पनि भाषिक सीमितता थियो । तर अहिले यही कर्णाली उत्सव जस्ता कार्यक्रमहरू भइराखेका छन् । छलफल भइराखेको छ । यहाँबाट पनि विभिन्न कुराहरूको प्रसार हुन्छ । स्थानीय साहित्यकारहरूले पनि बुझ्दै जान्छन् ।

साहित्य लेख्दा पनि आधिकारिकता हुनुपर्छ । लेखिएका विषयमा न्याय गर्न सक्नुपर्छ । जुन पात्रको बारेमा कथा लेखिएको हो त्यो पात्रलाई नै न्याय भइराखेको हुँदैन । किनभने जसले लेख्छ त्यो गहिराइमा गएकै छैन । कर्णाली साहित्यमा आउन त आएको छ तर अलिकति आधिकारिक भएर आइदिनुप¥यो भन्ने मेरो अनुरोध छ । यस्ता उत्सवहरूले अन्तिममा निकाल्ने मोती पनि त्यही हो जस्तो मलाई लाग्छ । यसो हेर्दा अहिले एउटा उज्यालो चाहिँ देख्छु म । मैले कर्णाली उज्यालो भन्नुको मतलव एकदमै टल्केको होइन, साहित्यको क्षेत्रमा अलिअलि क्षणिक रूपमा विकास देखिराखिएको छ । त्यो बेलाको स्थिति र अहिलेको स्थितिलाई तुलना गर्दा राम्रो छ । एउटा मान्छेले आधिकारिक रूपमा लेखिदिएन भने त्यो कथा र त्यसको पात्रमाथि पनि अन्याय हुन्छ भन्ने कुरा पनि उठेको थियो ।

अहिले कर्णालीका कथा मैले लेखिरहेको छु । यदि मैले नलेखेको भए मेरो बारेमा अर्कैले लेख्थ्यो । म खासमा पात्र नै हुँ तर आफूले लेख्ने साहस गरेँ । अहिले मैले उज्यालो के देखेको भन्दा जसलाई लेख्न आउँछ, जसलाई साहित्य पढ्न आउँछ, र उनीहरूलाई लाग्छ कि हाम्रो कथा पनि पढिन्छ अथवा हाम्रो कुरा यसरी पनि राख्न सकिन्छ र हामीले लेखेको चीज सबैभन्दा आधिकारिक हुन्छ र मेरो कथा चाहिँ एउटा पुस्तक बन्न सक्छ, मेरो कथाको पात्र म आफै हुन सक्छु र मेरो कथा मैले यसरी पनि भन्न सक्छु भन्ने सपना उब्जिँदै छ ।

सपना देख्न पनि साक्षर हुनुपर्छ, र कर्णाली साक्षर हुने प्रयासमा छ । सपना कहाँसम्म देख्ने, कहाँसम्म हेर्ने त्यसको उचाई कति हो भनेर नाप्न वा अझ उचाइमा जान चाहिँ सिकिरहेको अवस्था हो । अहिले चाहिँ आफ्नो कथा आफै लेख्छौँ भनेर कलममा मसी भर्नु नै उज्यालोको प्रहर हो भन्ने मलाई लाग्छ ।

साहित्यको रचना गर्ने क्रममा पढ्दै जाने, खोजी गर्दै जाने, एउटा पाठकको रूपमा आफूले आफूलाई साक्षर बनाउँदै जाने हो । कविता लेख्दै गर्दा पनि मेरो एउटा शैली छ कवितामा त्यो शैलीले विषय तान्छ । यो लेख्दै गएपछि, पढ्दै गएपछि धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो । विषयगत हिसाबमा त अहिलेका युवा पुस्ता पनि अगाडि देखिइरहेका छन् । कहीँ कुनै घटना भयो भने पनि सामाजिक सञ्जालमा यति धेरै मन छुने कविताहरू आउँछन् । मलाई लाग्छ, युवा पुस्ता यसमा आफै पनि सक्षम भइसकेको जस्तो लाग्छ ।


 हाम्रो मुल संस्कृति नै देउडा

नेत्रराज शाही(देउडा गायक)

देउडा कर्णालीको पहिचान हो । कर्णालीको इतिहासका साथै वास्तबिक धरातलमा उभिएको संस्कृति पनि हो । यसले ‘कर्णाली’ भन्दा अहिलेको कर्णाली अञ्चल र अहिलेको कर्णाली प्रदेशको मात्र उजागर गरेको छैन । पूर्वको गण्डकी, पश्चिमको कुमाउ गढवाल चम्पावतसम्मको कर्णाली र उत्तरको ताम्रोकोटसम्मको कर्णालीको बीचमा रहेको यो कर्णालीको वास्तबिक पहिचान देउडा हो ।

आजभन्दा करिब हजार वर्ष पहिले नै देउडा थियो भन्ने कता कता हामी किताबबाट, उखान टुक्काबाट पाउँछौं । जति बेला बाह्रौं शताब्दीमा नागराजले राज्य गरेका थिए, कर्णालीमा त्यतिबेला नै बाइसे–चौबिसे राज्यको उत्पत्ति हुँदाखेरी गाइएका गीतहरू अहिले जनजिब्रोमा आउँदै गरेको छ । देउडा भनेको आजभन्दा हजार वर्ष पहिले पनि कर्णालीबाट उत्पत्ति भएको रहेछ र कर्णालीको वास्तबिक पहिचान त्यो देउडामा रहेको छ भन्ने कुरा यस दृष्टान्तले बुझाउँछ ।

देउडा भनेको ‘कच्चा पदार्थ’ हो भने त्यसबाट लोक, पप, र्‍याप आदि त्यसका प्रतिउत्पादन हुन् । जसरी कस्तुरीमा बासना हुन्छ, तर उसले त्यो पत्ता लगाउन सक्दैन र चारैतिर भौंतारिन्छ त्यस्तै संगीत तथा संस्कृतिको खोजीमा कर्णाली पनि त्यसरी नै हिँडिरहेको छ ।

संस्थागत रूपमा कर्णाली प्रदेशले साउन १ गतेलाई ‘देउडा दिवस’ को रूपमा घोषणा गरेको छ । देउडा दिवसकै नामबाट देउडा पनि स्थापित हुन्छ भन्ने आशा लिइएको छ । यसमा हामी सबैको पहल हुनुपर्छ । देउडालाई स्थापित गर्ने क्रममा प्रत्येक महिनाको १ गते र १५ गते हामी देउडा खेल खेल्छौं । कर्णालीका प्रत्येक जिल्लाहरूमा म दौडिरहेको छु । देउडालाई स्थापित गर्ने जिम्मा तपाईं हामी सबैको हो । हामीले आज भाषा बिर्संदै गयौं, यहाँको भेषभुषा बिर्संदै गयौं । यसलाई स्थापित गरेर कसरी लैजाने भन्ने कुरामा हामी दुईचार जना कलाकारले, दुईचार जना पात्रले, दुईचार जना अंश मात्रले यसलाई अगाडि बढाएर सम्भवको विषय छैन । यद्यपि अहिले दुई चार वर्षयता यो पुनःस्थापित हुने प्रयत्नमा छ । त्यो मेरो मात्र कारणले नभएर म जस्ता धेरै देउडा गायकभित्रको जगेर्नाको भावले सम्भव भएको छ ।

यसलाई राज्यले पनि राम्रोसँग हेरेन र नयाँ पुस्ताले पनि अर्काको देखासिकी मात्रै गर्न लागे । पश्चिमेली संस्कृतिको यहाँ विकास भइरहेको कारणले हाम्रो परम्परागत ऐतिहासिक संस्कृतिको विकास हुन सकेन र अहिलेका पुस्ताले यसलाई अनुशरण गर्ने चेष्टा दिएको पनि छैन । लोपोन्मुख अवस्थामा रहेको देउडाको जगेर्ना गर्न कर्णालीका स्थानीय तह, प्रदेश सरकार एवम् संघीय सरकारले पनि ध्यान दिनुपर्छ । हिजो सामान्य संस्कृतिको रूपमा निश्चित एउटा आँगनमा खेलिने खेललाई आज राष्ट्रिय पर्वको रूपमा बिदा दियो । त्यस कारण गर्न सक्यौं भने त सम्भव छ नि । तसर्थ प्रत्येकको जनजिब्रोमा अब देउडा उब्जिनुपर्छ । प्रत्येकले देउडाबारे खोज तथा अनुसन्धान गर्नुपर्छ ।


(ऋति फाउण्डेसनको आयोजनामा २०७७ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को दोस्रो संस्करणको ‘आम्नै कथा, आम्नै बान्की’ सत्रका वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी ।

प्रकाशित मितिः   २१ पुष २०७८, बुधबार ०५:०५