राष्ट्रियसभा निर्वाचनः ६ जनाको उम्मेदवारी दर्ता

सुर्खेत: माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा सदस्यमा रिक्त हुने तीन सदस्यका लागि मंगलवार मनोनयन दर्ता भएको हो । महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रूकुम–पश्चिम) को पदावधि सकिदैछ । रिक्त हुने यी सदस्यको पदमा गठबन्धन र नेकपा (एमाले) ले उम्मेदवारी दिएका हुन् । गठबन्धनले तीन जना साझा उम्मेदवार बनाएको छ भने एमालेबाट पनि तीनै जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूले प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्ट (सुर्खेत) र नेकपा (एकीकृत समाजवादी)का उदय बोहरा (सल्यान) उम्मेदवार बनेका छन् । यस्तै, एमालेबाट गंगा महत (जुम्ला), चुडामणि शर्मा (सुर्खेत) र पदम माझी (दैलेख) उम्मेदवार भएका छन् । प्रदेश निर्वाचन अधिकारी एवम् सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गता/अल्पसंख्यक कलस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुने बताए । उनका अनुसार दलहरूले उम्मेदवारी दिँदा सम्बन्धित कलस्टरबाटै दिएका छन् ।

यस्तो छ मतभार

कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि सोमवार मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि यहाँ एक सय ९१ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय ५६ र प्रदेशसभाका सदस्य ३५ जना मतदाता हुन् । राष्ट्रिय सभा सदस्यको चुनावमा स्थानीय तह र प्रदेश सभाका सदस्यले मात्र मतदान गर्न पाउने अधिकार छ । स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ ।

त्यसअनुसार राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत माओवादी केन्द्रसँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख/उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रमा स्थानीय तहबाट नौ सय ३६ र प्रदेश सभाबाट पाँच सय ७६ मत गरी एक हजार पाँच सय १२ मत हुन्छ । त्यस्तै, नेकपा (एमाले) का स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । एमालेको स्थानीय तहबाट आठ सय १० र प्रदेशसभाबाट ६ सय २४ मत हुन आउँछ । यसरी एमालेको कूल मत एक हजार चार सय ३४ रहेको छ ।

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको सात सय २० तथा प्रदेशसभा सदस्यको दुई सय ८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभाका तीन जना मतदाता रहेका छन् । समाजवादीसँग स्थानीय तहको मतभार दुई सय ३४ र प्रदेशसभा सदस्यको मतभार एक सय ४४ गरी कूल मत तीन सय ७८ रहेको छ । राप्रपाका एक जना प्रदेशसभा सदस्य भएकाले मतभार ४८ मात्र छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरूले तालमेल गरेका छन् । सत्ता साझेदार गठबन्धनसँग एमाले भने एक्लै चुनावमा भिड्दै छ । मतभारको अन्तर धेरै भएकाले तीन वटै सीटमा गठबन्धनको जीत निश्चितप्रायः छ ।

प्रकाशित मितिः   २१ पुष २०७८, बुधबार ०५:०३