अध्यक्षमा प्रचण्डकै निरन्तरता

सुर्खेत: नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिएका छन् । पार्टीको आठौंं महाधिवेशनपछि सोमवार बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा दाहाललाई निरन्तरता दिने निर्णय भएको हो ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए । आइतवार भने दाहालले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली पढेर सुनाएसँगै आठौं महाधिवेशन सम्पन्न भएको हो । यससँगै दाहाल तीन दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदै आएका छन् ।

अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएपछि प्रचण्डले आफूले महŒवपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् । उनले सेवा गर्ने अन्तिम अवसर र अन्तिम चुनौती भएको समेत बतााएका छन् । ‘मैले भनेको थिएँ, सायद नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ । नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने,’ उनले भने । महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत रूपमा छलफल गरी पारित गरेको भन्दै प्रचण्डले व्यक्तिको आदेश अनुसार नचलेका बताएका हुन् ।

अध्यक्षमा दाहाललाई चयन गरिए पनि अन्य पदाधिकारीको भने टुङ्गो लागेको छैन । केन्द्रीय कमिटीले अर्को बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । अर्को बैठक पुस २५ गते बस्ने छ ।

कर्णालीबाट २९ जना केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट २९ जना चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाबाट सर्वसम्मत केन्द्रीय सदस्य चयन गरेको हो ।

प्रदेशका दुुई जिल्ला दैलेख र मुुगुुले भने केन्द्रीय सदस्य पाएका छैनन् । सबैभन्दा बढी जाजरकोटबाट केन्द्रीय सदस्य बनेका छन् । जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक केन्द्रीय सदस्य चयन भएका हुन् । त्यस्तै, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य बनेका छन् ।

यसैगरी, रूकुम–पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन तथा जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्दीय सदस्य चयन भएका छन् । कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत केन्द्रीय सदस्य बनेका हुन् । आठौं महाधिवेशनबाट कर्णालीको सबभन्दा कम डोल्पामा एक जना काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यमा कर्णालीबाट १२ प्रतिशत सदस्य संख्या रहेको छ । दुुई सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा दुई सय २६ जना चयन गरिएको छ । बाँकी सदस्य पछि मनोनित हुनेछन् ।

प्रकाशित मितिः   २० पुष २०७८, मंगलवार ०५:०२