सामाजिक सेवाको नमुना
सामाजिक सेवाका लागि देशमा थुप्रै व्यक्ति र विभिन्न संघ–संस्थाहरू सक्रिय छन् । यस्ता संस्थाहरूले समाजसेवामा उदाहरणीय कार्य गर्दै आएका छन् । वीरेन्द्रनगरमा रहेको मावन सेवा आश्रम पनि त्यस्तैमध्येको एक संस्था हो । आश्रम थुप्रै सहाराविहीनहरूको सहारा बनेको छ । कैयन्लाई आश्रय दिएको छ भने कैयनलाई परिवारसँग पुनर्मिलन र पुनस्र्थापित गरिदिएको छ । आश्रममा आश्रितहरू भन्छन्, ‘हामीले नयाँ जीवन पाएका छौं ।’ यही नै आश्रमको सफलता हो । राज्यले गर्न नसकेको वा बेवास्ता गरेको कार्य सामाजिक संघसंस्थाहरूले गरिरहेका छन् । बरु राज्य उनीहरूको सहयोगी बनिरहेको छ ।
सेवाभावले आश्रम सञ्चालन गरिएको हो । जसले बेसहारा, सहयोगापेक्षी र सडकआश्रित मानवहरूको सेवा गरिरहेको छ । धेरैलाई मानव आश्रमले पुनर्जीवन पनि दिएको छ । खाना, नाना र छानाको अभावमा सडकमा भौतारिरहेकाको उद्धार गरिएको छ । सुर्खेतमा तीन वर्ष अघिदेखि सेवा दिन सुरू गरेको आश्रमले छोटो समयमा धेरैलाई सहयोग गरेको छ । हालसम्म कर्णालीका सबै जिल्लाका नागरिकहरूले सेवा लिइरहेका छन् । आश्रम सञ्चालकहरूका अनुसार अन्य जिल्लाको भन्दा सुर्खेतमा सडक मानवको संख्या धेरै छ । प्रदेश राजधानी वीरेन्द्रनगरका सडकबाट आश्रमले थुप्रैको उद्धार गरेको छ । यसरी उद्धार गरिएकालाई खाने, बस्ने र लगाउने तथा सरसफाइसँगै औषधी उपचारमा पनि आश्रमले सहयोग गर्दै आएको छ । एक वर्षको अवधिमा दुई सय ५६ जनाले सेवा लिएका छन् । जसमा एक सय १४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको हो । उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । ४८ जना निको भएर आफूखुुसी घर फर्केका छन् । आश्रममा अहिले ७३ जना आश्रित छन् ।
सेवाभावले सञ्चालन गरिएको आश्रमका भने आफ्नै चुनौती छन् । आश्रम भाडाको घरबाट सञ्चालित छ । घर भाडा वीरेन्द्रनगर नगरपालिकाले तिरिदिन्छ । आश्रममा अहिले ७० देखि ८० जना अट्ने क्षमताको मात्र आवास छ । आम्दानीको स्थायी स्रोत छैन । परोपकारी व्यक्ति तथा संस्थाहरूको सहयोगका भरमा नै आश्रम चलिरहेको छ । बेलाबखत सरकारबाट सहयोग हुने गरेको छ । मानवसेवा आश्रमले जुन कार्य गरिरहेको छ यो आफैमा राज्यको जिम्मेवारी हो । तर जिम्मेवार निकायबाट नभइरहेको काम गरिरहेका सामाजिक संस्थाहरूलाई भने राज्यले पनि प्रोत्साहन र आवश्यक सहयोग पु¥याउनु अपरिहार्य छ ।
प्रकाशित मितिः २० पुष २०७८, मंगलवार ०५:०४
सम्पादकीय ।