एसओएसलाई सहयोगको प्रतिबद्धता

सुर्खेत: एसओएस बालग्राम अन्तर्गत सञ्चालित परियोजनाहरूलाई स्थानीयस्तरबाट आर्थिक श्रोत र सहयोग जुटाएरै भए पनि निरन्तरता दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बालबालिकाको क्षेत्रमा एसओएसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै एसओएस बालग्राम सुर्खेतको सामाजिक परीक्षणको सार्वजनिकीकरणमा सहभागी जनप्रतिनिधिहरूले यस्तो जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय दाताहरूको आर्थिक सहयोगमा बाल संरक्षणका विभिन्न पक्षमा काम गर्दै आइरहेको एसओएसले पछिल्लो केही समय यता सहयोग रकम कटौती हुँदै गएको व्यहोरा प्रतिवेदनमा समाविष्ट गरिएको छ । हाल सुर्खेतको बालग्राम अन्तर्गत सुर्खेतमा एसओएस बालग्राम, विद्यालय, दिवा स्याहार तथा बाँकेको नेपालगञ्जमा युवालय र बर्दियामा सामाजिक केन्द्र सञ्चालनमा रहेका छन् । कोभिडका कारण दुई वर्षयता वैदेशिक आर्थिक सहयोगमा कटौती भएपछि बर्दियाको बाँसगढीमा रहेको मेडिकल केन्द्र भने हाल नगरपालिका अन्तर्गत सञ्चालन हुने गरी हस्तान्तरण गरिएको पाइएको छ ।

एसओएस बालग्राम सुर्खेत अन्तर्गत हाल पारिवारिक स्याहार, परिवार सबलीकरण, नातागोता स्याहार, छात्रवृति कार्यक्रम, व्यावसायिक तथा पेसागत तालिम र सहयोग परियोजना सञ्चालनमा रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले एसओएसले राज्यले निर्वाह गर्नुपर्ने दायित्वसमेत निर्वाह गर्दै आइरहेको भन्दै प्रशंसा गरे । बाल अधिकार संरक्षणमा विशुद्ध अभिभावकीय भूमिकामा रहेको एसओएसलाई सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाए । वीरेन्द्रनगर वडा नं. ४ का वडाध्यक्ष नीलकण्ठ खनालले बालबालिकाको संरक्षणदेखि शिक्षा, स्वास्थ्य हुँदै स्वालम्बनसम्ममा एसओएसले महŒवपूर्ण सहयोग पु¥याउँदै आएको भन्दै परोपकारी परियोजनाहरू निरन्तर रहनुपर्नेमा जोड दिए ।

बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले कोभीडको महामारीका बीच पनि बालग्रामले आवश्यक सुरक्षा सावधानी अपनाएर आफ्ना गतिविधिहरूलाई निरन्तरता दिएको जानकारी दिए । कोभीड र लकडाउनका बेला बालबालिकालाई पर्नसक्ने आर्थिक, सामाजिक, शैक्षिक तथा मनोवैज्ञानिक प्रभावलाई मध्यनजर गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

यसैगरी एसओएस चाइल्ड क्लब सुर्खेतले बराहताल गाउँपालिका सुर्खेतका ४० कोभिड प्रभावित परिवारलाई सामुदायिक सहयोग कार्यक्रमको रूपमा खाद्यान्न सहयोग गरेको जनाइएको छ । हाल आर्थिक सहयोग कटौती हुँदै गएको अवस्थामा स्थानीय दाताहरूबाट सहयोग जुटाइरहेको बालग्रामले नेपालगञ्जका आठ जना स्थानीय सहयोगदातालाई दोसल्लासहित सम्मान पनि गरेको छ । अभिभावकीय स्याहार नपाएका बालबालिकाहरूको पालनपोषण, शिक्षा स्वास्थ्य तथा बालअधिकारको संरक्षण एवम् पैरवीका लागि सुर्खेतको कालागाउँमा सन् १९८६ मा एसओएस बालग्रामको स्थापना भएको हो ।

प्रकाशित मितिः   १९ पुष २०७८, सोमबार ०५:०३