जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन

सुर्खेत: नेकपा (एमाले) सुर्खेतको जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । शनिवार जिल्लाका नौ वटै स्थानीय तहका वडाहरूबाट अधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

जिल्लाका ९९ वटा वडाहरूमध्ये अधिकांशमा शनिवार नै प्रतिनिधि चयन भइसकेको र केही वडामा प्रक्रिया जारी रहेको नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार समिति संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जिल्लाभर नै सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ । शनिवार सम्पन्न नभएका वडामा आइतवारसम्म प्रतिनिधि छनोट भइसक्ने उनले जानकारी दिए ।

‘एकताबद्ध पार्टी, सुदृढ संगठन, सुखी नेपाली र समृद्ध नेपाल निर्माणको महाअभियान’ भन्ने नारासहित एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते वीरेन्द्रनगरमा हुँदैछ । यसपटक जिल्ला नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गर्नेगरी तयारी भइरहेको नेताहरूले बताएका छन् । सोहीअनुसार प्रतिनिधि चयन पनि सर्वसम्मत रूपमा गरिएको हो ।

प्रकाशित मितिः   १८ पुष २०७८, आईतवार ०५:०४