कर्णालीमा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बन्ने

सुर्खेत: भलिबल खेलका लागि वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल निर्माण गरिने भएको छ । प्रदेशस्तरीय रंगशाला निर्माण अन्तर्गत नै भलिबलको कभर्डहल थप गर्न लागिएको हो । निर्माणाधीन रंगशालाको यसअघिको डिजाइनमा भलिबल खेलका लागि कोर्ट मात्र बनाइने भनिएको थियो । हाल त्यसैमा डिजाइन थप गरेर भलिबलको पनि कभर्डहल बनाउन लागिएको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ । केही दिन पहिले बङ्गलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर स्वदेश फर्किएका राष्ट्रिय महिला भलिबल टोलीले कभर्डहल नभएको गुनासो गरेपछि कर्णालीमा उक्त संरचना बनाउने निर्णय गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले बताए । भर्खरै निर्माण थालिएको प्रदेशस्तरीय रंगशालाभित्र अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बन्ने भएको हो ।

‘देशभर नै भलिबलको छुट्टै कभर्डहल नभएका कारण प्रशिक्षण र प्रतियोगिताहरूमा असर पर्र्दै आएको छ,’ सदस्य सचिव सन्ज्यालले भने, ‘त्यसलाई मध्यनजर गरेर हामीले कभर्डहल बनाउने तयारी अघि बढाएका छौं ।’ उनले निमार्णाधीन रंगशालामा कभर्डहल बनाउन निर्माण कम्पनी सहमत भएको बताए । उनका अनुसार आज (आइतवार) यसबारे मन्त्रीस्तरीय निर्णय हुनेछ । खेलकुद परिषद््ले भलिबलको कभर्डहल बनाउँदा रंगशालाको लागत करिब १५ लाख रूपैयाँ बढ्ने देखिएको छ । कर्णाली प्रदेश सकारले प्रदेश गौरवको आयोजनाका रूपमा एक अर्ब ५९ करोड ४७ लाख लागतमा सुविधासम्पन्न रंगशाला निर्माण थालेको छ ।

कर्णालीले पायो आठ पदक

काठमाडौंमा सम्पन्न प्रथम मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशले आठ वटा पदक जितेको छ । त्यसमध्ये सुर्खेतले मात्र ६ पदक हात पारेको हो । पुस १५ देखि १७ सम्म सञ्चालित प्रतियोगितामा कर्णालीले दुई रजतसहित ६ काँस्य जितेको हो । प्रशिक्षक भुवन थापाका अनुसार ६३ केजी तौल समूहमा सल्यानका योगन्द्र शाह र ५० केजीतर्पm सुर्खेतका सुशील ओलीले रजत पदक पाएका छन् ।

यस्तै, ४६ केजी तौल समूहमा सुर्खेतका दिनेश मगरले पुम्सेमा र राजकुमारी गुरुङ्गले काँस्य हात पारे । यसैगरी ७६ केजीतर्पm रूकुम–पश्चिमका डिल्लीप्रसाद शर्मा, ४९ केजी तौलतर्पm सुर्खेतका दिप्ती नेपाली, ६३ केजीतर्पm सुर्खेतकै पुजा गाहा र ५४ केजीतर्पm पनि सुर्खेतकै दिपेन्द्र चुनाराले काँस्य पदक जितेका हुन् । प्रथम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा छनोट भइ कर्णालीबाट १९ जना खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा सुर्खेतका १५, रूकुम–पश्चिका तीन र सल्यानका एक जना खेलाडी प्रतियोगितामा सहभागि थिए । प्रदेशस्तरीय प्रतियोगितामा सुर्खेत १४ स्वर्ण, ६ रजत र ४ काँस्यसहित च्याम्पियन भएको थियो ।

प्रकाशित मितिः   १८ पुष २०७८, आईतवार ०५:०३