एयरलाइन्स थपियो, भाडादर उस्तै
बुद्धभन्दा गुणको भाडादर प्रतिटिकट दुई सय रुपैयाँ कम
सुर्खेत: सुर्खेत–काठमाडौं हवाइ उडानका लागि अर्को निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी थपिएको छ । हाल एक मात्र हवाइ कम्पनी बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएकोमा अबदेखि गुण एयरलाइन्सले पनि सेवा दिने भएको हो । प्रतिस्पर्र्धी एयरलाइन्स नहुँदा भाडादर महँगो भएको ठानिएका बेला गुणले पनि झन्डै बुद्धकै हाराहारीमा भाडादर कायम गरेको छ । गुण एयरलाइन्सले सेवा सुरू गरेपछि भाडादर घट्ने अपेक्षा गरिएको थियो । तर, बुद्धभन्दा गुणले दुई सय सय रूपैयाँ कममा मात्र टिकट बुकिङ् खुला गरेको छ । आजदेखि सुर्खेत–काठमाडौं नियमित उडानका लागि गुणले अनलाइन टिकट बुकिङ थालेको हो । गुणले दैनिक बिहान ८ बजेट उडान भर्ने जनाएको छ ।
विकल्प नभएपछि काठमाडौं जान चर्को भाडा तिर्न बाध्य यहाँका यात्रु मर्कामा छन् । एयरलाइन्स थपिए पनि भाडा दरमा खासै अन्तर नभएपछि यात्रुहरू झन् निराश बनेका छन् । बुद्ध एयरले आठ हजार सात सय ४५, नौ हजार सात सय ४५ र ११ हजार ६ सय २० रूपैयाँ भाडा कायम गरेको छ । बुद्ध एयरका स्टेसन इन्चार्ज नरबहादुर बस्नेतले आफूहरूले कायम गरेको भाडादर नागरिक उड्ययन प्राधिकरणको मापदण्ड अनुसारकै भएको बताए । बुद्ध एयरको ४७ सिट क्षमताको जहाजले सुर्खेत–काठमाडौं उडान सेवा दिँदै आएको छ । अब सेवा सुरू गर्न लागेको गुण एयरले भने आठ हजार पाँच सय ४५, नौ हजार पाँच सय ४५ र ११ हजार चार सय २० रूपैयाँ टिकट दर कायम गरेको छ ।
सुर्खेत विमानस्थलमा यसअघि थुप्रै पटक विभिन्न एयरलाइन्स कम्पनीले परीक्षण उडान गरेका छन् । तर, ती एयरलाइन्सले नियमित उडान भने अझै गर्न सकेका छैनन् । श्री एयरलाइन्सले गत वर्ष माघमा काठमाडौं–सुर्खेत सफल परीक्षण उडान गरेको थियो । तत्काल नियमित उडान गरिने बताएको कम्पनीले हालसम्म सेवा सुरू गरेको छैन । श्री एयरको ८० सिट क्षमताको क्यूआर–८०० जहाजको परीक्षण उडान गरिएको थियो । नागरिक उड्ययन प्राधिकरणबाट अनुमति नपाएपछि अहिलेसम्म नियमित उडान हुन नसकेको श्री एयरका प्रवक्ता अनिल मानन्धरले जनाए । नियमित उडानका लागि प्राविधिक रिपोर्टदेखि सबै प्रक्रिया पुगेको छ,’ उनले भने, ‘प्राधिकरणबाट अनुमतिमात्र लिन बाँकी छ ।’ उडान अनुमति पाउन वित्तिकै सेवा सुरू गर्ने तयारीमा रहेको मानन्धरले जानकारी दिए । अहिले नियमित उडान गरिरहेका भन्दा श्री एयरको सिट क्षमता बढी भएकाले पनि हरेक हिसाबले यात्रुलाई सहुलियत हुने उनको भनाइ छ ।
प्रकाशित मितिः १७ पुष २०७८, शनिबार ०५:०२
साझा बिसौनी ।