दागबत्ती

स्कुले जीवनको गतिविधि छोडेर करिब २५÷२६ वर्षको उमेरदेखि नाटक लेखन र निर्देशनको काममा समेत हात हाल्दै रंगकर्ममा स्वविवेकले लागेको तीन दशक नाघेछ । पत्तो नपाइकन रंगकर्ममा बगेर गयो समय । पछाडी फर्कि हेर्दा कैयन् घटना परिघटना विस्मृतिमा पुरिएका छन्, जसलाई सम्झनाले खोतली उक्काउँदा असाध्यै रमाइलो लाग्छ । दसकौं लामो जीवन कालखण्डमा केही कालजयी घटनाहरू यस्ता पनि छन जो विस्मृतिमा डुब्न मान्दैनन् । जीवनसँग नजिकबाट जोडिएकोले विशेष चर्चा रंगकर्मतिरै पोखिन्छ । तमाम असल र स्मरण योग्य नाटकमध्ये एउटा नाटक थियो दागबत्ती । २०६१ सालमा बुलबुले सांस्कृतिक साँझ नामक कार्यक्रम बाट सुर्खेती कल्याण समाज काठमाडौंको आयोजनामा बागीना समूह सुर्खेतले विविध नाचगान सहित प्रज्ञाभवन कमलादीमा दागबत्ती नाटक मन्चन गरेको थियो ।

द्वन्द्वकालीन समय परिस्थितिको भोगाइलाई चित्रण गरेको नाटकले दुर्गम गाउँमा विपन्न परिवारको कथा बोकेको छ । द्वन्द्वको अत्याचारले खपी नकस्दा मानिसहरू बाँच्नका लागि कि द्वन्द्वमा समाहित भएका छन, होइन भने भागेर मुग्लान पसेका छन । त्यो घरमा १७/१८ वर्षको सर्वजित बाकी छ, किनकि उ जन्मदै अपाहिज हो । बैशाखी बिना हिंड्डूल गर्न सक्दैन त्यसैले बाँकी छ । उसका वृद्ध बा–आमा अशक्त र दीर्घरोगी छन त्यसैले बाँकी छन् । भाउजू टुम नजिकिंदै गरेकी गर्भिणी छन् । त्यसैले बाँकी छन् । उसको दाजु पनि मुग्लानतिरै बेपत्ता भयो । बलियाबाङ्गा मानिसहरू गाउँ बस्ती छोडेर तितरवितर भए । त्यसैले त खेतबारी बाझै छन । खर बारीमा खर फुलेर खेर गएको छ, घरहरू छाउन बाँकी छन । कतै मरि मराउ पर्दा मलामी जाने पुरुष छैनन् । गाउँ समाजमा पुरुषहरूको अनिकाल पर्न सक्ने डर पसेको छ ।

पहिलादेखि यो नाटक लेखिएर सुरु मन्चन हुँदाताका सम्म महिलाले हलो जोत्नु, घर छाउनु र मलामी जानू सामाजिक बन्देज थियो । महिलाहरू स्वयम् यी कार्यलाई अशोभनीय मात्र होइन अपराध नै ठान्दथे । यो मर्मलाई पनि पटक्कै बिर्सनु हुँदैन किन कि नाटकमा गर्भवती महिलालाई हलो जोताइएको छ । आजभोलि समयले दिएको स्वच्छन्दता केही चेतना र परिवर्तनमा यहाँ मानिसका सोचाइ मान्यता र जीवनशैली पनि व्यापक रूपमा बदलिँदै गएका छन । विगतमा पुरुषले मात्र गर्ने उल्लेखित काममा आजभोलि महिलाहरूको पनि सहभागीता भैरहेको छ । कालखण्डमा लेखिएका कुनै नाटकले त्यतिबेलाको संस्कार संस्कृति सामाजिक मूल्य मान्यता पनि बोकि ल्याएका हुन्छन् । भन्न खोजिएको के भने नाटक दागबत्तीलाई वर्तमान परिवेशमा मात्रै ढालेर हेरिँदा त्यसको मर्म त्यति उघ्रदैंन ।

प्रज्ञा भवनमा मन्चन भएको नाटक दागबत्तीमा अपाङ्ग पात्र सर्वजितको भूमिकामा थिए प्रकाश लामिछाने । सर्वजितका वृद्ध बा–आमाको भूमिकामा थिए प्रसिद्ध रंङ्गकर्मी प्रेमदेव गिरी र ज्वलन्त अभिनय गर्ने रंङ्गकर्मी सुशीला बस्नेत । घरभित्र बाहिर कामको सम्पूर्ण शिरोभारो धान्ने सर्वजितकि गर्भवती भाउजूको भूमिकामा थिइन् मीना आले । मीना आलेको माइती तथा दाजुको भूमिका निर्वाह गर्ने दाइत्व मेरो थियो ।

घरमा बसिखानु नभएपछि लुक्दैछिप्दै झोलामा मनभरीका निराशा बोकेर मैले तताइरहेको थिएँ मुग्लानको बाटो । लामो बाटो हिँडी सकेपछि जाँदाजाँदै बहिनीलाई भेट्न बाटामाथि पर्ने उसको घरतिर उक्लिएँ । म आँगनमा पुग्दा बहिनीले हलो बोकि आएकी थिइ, करेसामा बिसाइ । गर्भवती बहिनीले हलो जोतेको चाल पाएपछि म आश्चर्य चकित भएको थिएँ । उसको हैरानी र बाध्यात्मक परिस्थितिले मलाई अत्यन्त तरल बनायो । बहिनी नजिकै आइ ढोगभेट भयो, अम्खोरामा पानी ल्याएर दिइ, मैले ठाडो घाँटी पारेर मुखमा धारो थापेँ । बाआमालाई देख्न आत्तिएको कुरा गरि, मैले सम्झाएँ अरु घरायसी कुराकानी भयो । उसको दयनीय अवस्थाले म भावविभोर भएको पनि बहिनीले बुझिरहेकी थिइ । आफूलाई सामान्य पार्ने बहिनीले जतिसुकै कोसिस गरे पनि मेरा सामु उसका आँखा रसाइरहेका थिए । रसिला आँखाले भनिरहेका थिए, यो जिन्दगी दुखैदुःखको सागर रहेछ बरै ! उसलाई सान्त्वना दिनका लागि पीर नगर नानी म छुनी भन्ने सामथ्र्य पनि मसँग थिएन । द्वन्द्वको त्रासले मलाई पनि लाचार बनाएको थियो । चुपचाप हामी आपसमा आफ्ना आँखा पुछी रहेका थियौं । मैले ज्वाईंका बारेमा सोध्दा रात बिरातमा भागेर मुग्लान पसेपछि कुनै चिट्ठी पत्रसमेत नआएकोले दिक्दार लागेको कुरा गरी । म उठेर हिड्न लाग्दा एक रात बस्न निकै आग्रह गरी । मैले आफ्नो सबै बाध्यता फुकाएर देखाएपछि बहिनीले अङ्गालो हालेर रोइ । मैले पनि थाम्न सकिन आफ्नो मन । दाजु–बहिनी अङ्गालोमा गाँठो परेर रोयौं एकछिन । मलाई रूने फुर्सद पनि थिएन, बहिनीसँग उम्किएर म हिँडे । फर्की हेर्दा बहिनी रोइरहेकी थिइ मलाई नै हेरेर, म अत्यन्त भावविह्वल भएँ सरासर हिँडे बहिनीलाई रूदारूदै छोडेर ।

आमाले जाँतो पिसेको, पिठो छिन्केको, घरसारमा ऐचोपैचो चलाएको तथा बाले सकि नसकि हलो ताछेको दृश्य पनि खुबै मनमोहक थियो । नाटकमा सबै दृश्यहरू अत्यन्त चित्त आकर्षक थिए ।

अन्तिम दृश्यमा ओछ्यान परेका घरमुली वृद्ध पुरुषलाई पिँढीमा सुताइएको थियो । भित्र बुहारीलाई व्यथाले च्यापेर पीडा खटाउन नसकी कराइ रहेकी थिइन् । बाहिरका बिरामी मृत्यु शैड्ढयामा तड्पी रहेका थिए भने भित्रकी बिरामी प्रसव वेदनाले छट्पटाएकी थिइन् । चिन्ताग्रस्त सर्वजित इन्तु न चिन्तु भएका पितालाई दबाइ पानी खुवाउने असफल प्रयास गरिरहेको थियो । घरपट्टी आमा बुहारी सम्हाल्न र पतिदेवको सेवा शुश्रुषा गर्न पटक–पटकभित्र र बाहिर गरिरहनु परेको थियो । त्यही ओहोरदोहोरका बीचमा चिहाँ–चिहाँ गर्दै भित्र नवजात जन्मियो । त्यसै बखत बाहिर वृद्धले सिरानीबाट लथ्रक्क टाउको ढाले । वृद्धको प्राण पखेरु उडेपछि आमा छोरा अङ्गालोमा बेस्सरी रोए । हात जोड्दै आमाले भन्छिन्, हे दैव ! यो कस्तो संयोग हो ? दुःख भनौं भने वंश चलाउने नाति जन्मेको छ । सुख भनौं भने यसै घडी आफ्ना स्वामीज्यूको स्वर्गवास भयो । हाम्रो सहारा कोही छैन भगवान, दीन दुखीको कल्याण गर ।

सर्वजितले उल्टो शंख फुक्छ, धूँ…धूँ…धूँ…। फेरि आमा भन्छिन् भो कान्छा नबजा शंख । संस्कार जनाउनलाई पुगिहाल्योबा । मलामी जान कोही आउँदैन अब किन कि गाउँमा मान्छे नै कोही छैनन् । ल बालाई दागबत्ती दिने जोहो गर्नुप¥यो अब । तँ भएर दागबत्ती दिन पाइस् छोराको धर्म निभाउन पाउने भइश । मरि मराउ पर्दा दागबत्ती दिने आफन्त पनि कोही छैनन् गाउँमा । आमा छोराले बलिन्द्र धारा छोडेर दागबत्ती दिन्छन् ।

दागबत्तीको काम सकिएपछि आमाले डोको ल्याउँछिन् । डोकोमा लुगा ओछ्याएर लास हालिन्छ । त्यतिबेलाको दृश्यले मान्छेको मन विदिर्ण बनाउँछ ।

कान्छा नाम्लो लगाएर बोक बालाई । अन्त्येष्टिको संस्कार गरेर आइज बा ।

आमै, मैले बालाई बोक्न सकुला र ?
सक्नै पर्‍यो बा, छोरो भएर जन्मेपछि ।

आमाले डोको अड्याउँछिन धकेली दिन्छिन् । सर्वजितले नाम्लो लगाएर बोक्छ उठ्न सक्दैनन । बैसाखी टेकेर सहारा लिन्छ, बैसाखी र उसका गोडा थररर काम्छ्न । सर्वजितको भूमिकामा प्रकाश लामिछानेको त्यो जीवन्त अभिनयले दर्शकको मन चिरिदिन्छ । दर्शकले सक्दैनन् रोक्न आँसुको भेल । लास बोकेर बैसाखी टेक्दै सुस्त सुस्त पाइला सारेर अगाडि बढ्छ सर्वजित । निरन्तर ताली बजाएर सराहना गर्छन दर्शक । मन्चमा उज्यालो निभ्दै जान्छ र पटाक्षेप हुन्छ नाटक ।

कालजयी नाटक दागबत्तीका लेखक हुन बागीना समूह सुर्खेतका वरिष्ठ रङ्गकर्मी गोविन्द कोइराला । सामाजिक परिवेशमा तयार पारिएको नाटकको संवादशैली र विषय बस्तुको गाम्भीर्यतालाई लेखकले निकै महत्व दिएका छ्न् । यस्ता सफल नाटकले रङ्गकर्मीलाई उत्साह, हौसला र उर्जा दिइरहन्छन् ।

एउटै नाटकमा पनि फरक–फरक निर्देशकको आफ्नै ढंगको तौरतरिका र कार्यशैली हुन्छ, जसले गर्दा प्रस्तुतिमा फरक देखिन जान्छ । तŒव उही भए पनि सारमा विविधता हुन्छ । दर्शक श्रोताले नयाँ स्वाद भेटाउँछन । उक्त नाटकलाई आफ्नै मौलिकताबाट मेहनत पूर्वक निर्देशन गरेका थिए नेपालका प्रसिद्ध कलाकार, बागीना समूहका सल्लाहकार तथा सुर्खेती रंगमञ्चका अत्यन्तै चर्चित रंगकर्मी प्रेमदेव गिरीले । गिरी स्वयम् पात्रमा रूपान्तरण भैदिएका कारणले पनि नाटकको स्तर माथि उठेको कुरालाई कसैले नकार्न सक्दैन । त्यसैले प्रेमदेव गिरीको निर्देशनमा अभिनय गर्ने मनको तिर्खा मेटिएको छैन ।

केही वर्ष पछिको अन्तरालमा पात्र फेरिएर यो नाटकलाई बागीना समूह सुर्खेतले बुटवल र हेटौंडामा पनि मन्चन ग¥यो । त्यतिबेला पनि चर्चा आर्जन गरेका रङ्गकर्मीहरू माया थापा, डम्बर आचार्य, बुद्धि सुबेदी र अकवर खानसहितका कलाकारहरूले नाटकमा पात्रताको भूमिका निभाएका थिए । रस अनुभावले मान्छेका मन मस्तिष्क छुने वा खलबल्याउने केही अरु नाटक पनि सुर्खेतमा लेखिएका छन् । लेखिएका नाटक जबसम्म मन्चन हुँदैन तबसम्म परिपूर्ण पनि मानिदैन । मन्चन गर्ने समूहगत काम एकल प्रयासबाट त्यति सम्भव छैन । नाटकलाई सार्थक बनाउन जगेर्ना गर्न, दर्शकलाई रङ्गमन्चसम्म तानी ल्याउन र बानी लगाउन रङ्गकर्मीहरूकै ठूलोभूमिका हुन्छ । रङ्गमन्चीय गतिविधि गर्ने संस्थाहरू अनेक छ्न्, तर गतिविधि सुस्त छ । गतिविधि बढाउन नयाँ पुराना पिढिका रङ्गकर्मीहरू एकजुट हुन र एक आपसमा भावनाको मस्त कदर गर्न पनि उत्तिकै जरूरी देखिन्छ ।

प्रकाशित मितिः   १७ पुष २०७८, शनिबार ०५:०५