कर्णालीबाट एमालेका नौ जना उम्मेदवार सिफारिस
सुर्खेत: आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले कर्णालीबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले नौ जनाको नाम केन्द्रमा पठाएको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवारका लागि छानिने छन् ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्द विक्रम शाह र कालीकोटका हिरे सुनार अन्य कलस्टरबाट सिफारिस भएका छन् । त्यस्तै, महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस भएकी छन् ।
यसैगरी, अपाङ्गतातर्फ मुगुका रूपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम उम्मेदवारका लागि पठाइएको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ । हरेक कलस्टरमा तीन जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको हो । त्यसमध्येबाट एक–एक जना उम्मेदवार बन्नेछन् । प्रदेशमा रिक्त तीन जना राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
प्रकाशित मितिः १७ पुष २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।