एमयूलाई अनुसन्धानको हब बनाउने योजना

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू)लाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने भएको छ । विश्वविद्यालयको ११औं सभाले दक्ष जनशक्ति उत्पादन तथा अनुसन्धान केन्द्र बनाउने योजना अघि सारेको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने आधार तयार पार्न चालु आर्थिक वर्षमा १० करोड बजेट छुट्याइएको छ ।

एमयूले विकास गर्ने अनुसन्धान केन्द्रको उद्देश्य कर्णालीको समग्र क्षेत्रको खोज, अध्ययन र प्रवद्र्धन गर्नु रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । ‘कर्णालीमा थुप्रै सम्भावनाहरू छन्,’ उनले भने, ‘त्यसका लागि खोज अनुसन्धान आवश्यक छ । हामी एमयूलाई अनुसन्धानको थलोको रूपमा विकास गर्दैछौं ।’ यहाँको सभ्यता, ज्ञान, सीप, जीवनशैली, जैविक विविधता, जडिबुटी तथा खनिज पदार्थहरूको उपयुक्त खोज अनुसन्धान एवम् प्रवद्र्धन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको उपकुलपति सिंहले बताए ।

अनुसन्धान केन्द्रलाई व्यवस्थित रूपमा अघि बढाउन अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका करिब २५ जना विज्ञहरू अध्यापनका लागि नियुक्त गर्ने तयारी गरिएको छ । उपकुलपति सिंहले विश्वविद्यालयलाई अध्ययन अनुसन्धानको हब बनाउन शैक्षिक सुधारका लागि २७ वटा कार्यविधि निर्माण गरिएको जनाए । उनका अनुसार प्रविधिको उच्चतम् प्रयोग गरेर विश्वविद्यालयलाई पेपर लेस बनाउने योजना छ । आगामी दिनमा विश्वविद्यालयले सम्पूर्ण शैक्षिक प्रशासनिक तथा आर्थिक क्रियाकलापहरू अनलाइन सिस्टममा सञ्चालन गर्ने योजना बनाएको हो । त्यसका लागि ३५ वटाजति वेवसाइट तथा एप्लिकेसनको निर्माण गर्न लागिएको जनाइएको छ । उपकुलपति सिंह भन्छन्, ‘आउँदो वैशाखमा एमयूलाई डिजिटल विश्वविद्यालय घोषणा गर्नेगरी तयारी थालिएको छ ।’

अत्याधुनिक शैक्षिक सामग्रीको प्रयोग गरेर विद्यार्थीको पठनपाठन भौतिक उपस्थितिमै गरिए पनि विश्वविद्यालयका अन्य सबैजसो क्रियाकलापलाई प्रविधिमैत्री बनाउन लागिएको दाबी गरिएको छ । शैक्षिक उन्नयनका लागि विद्यमान पाठ्यक्रमहरूको पुनः ढाँचा, प्राध्यापक तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम र स्मार्ट भौतिक पूर्वाधारको विकास गरिने बताइएको छ ।

यस्तै, विश्वविद्यालयलाई आर्थिक रूपमा सक्षम बनाउने विभिन्न नीति पनि अघि सारिएको छ । विश्वविद्यालय हाताभित्र क्यान्टिन र सुविधायुक्त होटेल सञ्चालन गर्नेदेखि विभिन्न व्यावसायिक गतिविधिका योजना ल्याइएको हो । यस्ता योजनाको कार्यान्वयन गरेर सयौं विद्यार्थीलाई रोजगारी दिने लक्ष्य विश्वविद्यालयले राखेको छ । उपकुलपति सिंहले भने, ‘एमयूलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्दै आर्थिक रूपमा पनि बलियो बनाउने योजना ल्याइएको छ ।’

एमयूले नेपाली कला संस्कृति र लोप हुन लागेका वनस्पती तथा जनावरहरूको पनि अनुसन्धानको थलो बनाइने जनाएको छ । कर्णालीको पहिचानलाई विश्वसामु चिनाउन विश्वविद्यालयले विभिन्न योजनाहरू बनाएको बताइएको छ । सबै क्षेत्रको अध्ययन अनुसन्धान एकै ठाउँबाट गर्नेगरी एमयूलाई विश्वकै नमुनामध्येको एक विश्वविद्यालयका रूपमा विकास गरिने वार्षिक सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । उपकुलपति सिंहले नेपालका विश्वविद्यालयहरूमध्ये नेपालकै पहिलो अनुसन्धान केन्द्रको रूपमा स्थापन गर्नेगरी आफूहरू लागिरहेको बताए । कर्णाली तथा नेपालको भौगोलिक स्वरूपलाई मध्यनजर गरी कृषिमा आधारित विषयलाई प्राथमिकता दिएर पठनपाठन थालिने उनको भनाइ छ । मध्यपश्चिम विश्वविद्यालयले संयुक्त राष्ट्रसंघ अन्तर्गतका ६ भाषाहरू तथा पेसागत विकासका लागि ग्रिक, रोमन, संस्कृत, जर्मन, जापनिज र कोरीयनजस्ता भाषाहरूको पनि यसै वर्षदेखि तालिम सञ्चालन गर्ने भएको छ ।

यसैगरी, विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त र सुशासन केन्द्र बनाइने एमयूको ११आंै सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघिका पदाधिकारीले सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै आएका उपकुलपति सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउँदै आएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा करिब २६ करोड बेरुजु कायम भएकोमा त्यसमध्ये करिब ४६ प्रतिशत सम्परीक्षण भएको विश्वविद्यालयले जनाएको छ  । एमयूले कार्यरत कर्मचारी तथा विद्यार्थीहरूका लागि प्रोत्सान कार्यक्रम पनि ल्याइने जनाएको छ । त्यसअन्तर्गत १५ वटा विद्यामा कर्मचारी र विद्यार्थीमध्ये झन्डै ५० जनालाई वार्षिक रूपमा पुरस्कृत गरिने छ ।

गएको आर्थिक वर्ष २०७७/०७८ मा कूल बजेट ८० करोड ५० लाख १४ हजार रहेको विश्वविद्यालयले यो वर्ष झन्डै २० करोड बढी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि ९९ करोड ८७ लाख २२ हजार बजेट विनियोजन गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो ।

प्रकाशित मितिः   १३ पुष २०७८, मंगलवार १०:००