प्रसंशनीय पहल

सरकारले सबैका लागि शिक्षा कार्यक्रम सञ्चालन गरे पनि दृष्टिविहीन बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने विषयमा ठोस योजना भने बनाएको छैन । जसले गर्दा कयौं दृष्टिविहीन बालबालिकाहरू पढ्नबाट वञ्चित भएका छन् । कतिपय दृष्टिविहीन बालबालिकाहरूले भने अन्य बालबालिकाहरूसँगै कष्टपूर्ण तरिकाले अध्ययनलाई निरन्तरता दिएका छन् । एकातर्फ दृष्टिविहीन बालबालिकाहरूलाई घरपरिवारले नै पढाउन नचाहनु र अर्कोतर्फ दृष्टिविहीनमैत्री विद्यालय नहुनु उनीहरूका लागि सबैभन्दा ठूलो समस्या हो । विद्यालयको भौतिक संरचना त अपाङ्गमैत्री छैनन् नै विद्यालयभित्रको अध्ययनको वातावरण पनि उनीहरूलाई अनुकूल हुनेखालको छैन । तर सरकारले निरक्षरता उन्मूलनको लक्ष्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा दृष्टिविहीन बालबालिकाहरू विद्यालय जान नपाएर घरमै बस्नुपरेको विडम्बनालाई ख्याल गरिएको पाइँदैन । यस्तो अवस्थामा दृष्टिविहीन बालिकाहरूलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्नका लागि सुर्खेतमा छात्राबास स्थापना गर्न पहल गरिएको समाचार सार्वजनिक भएको छ । यो प्रसंशनीय पहल हो । जिल्लामा दृष्टिविहीन बालबालिकाहरूको शिक्षामा काम गर्दै आएको संस्था दृष्टिविहीन हेरविचार केन्द्रले वीरेन्द्रनगरमा आवासीय सुविधासहितको छात्राबास स्थापना गर्ने योजना तयार पारेको हो । त्यसका लागि आवश्यक सहयोगको खोजी र योजना निर्माणको तयारी समेत सुरु भएको छ ।
सरकारले समेत दृष्टिविहीन बालबालिकालाई सहज रूपमा शिक्षा प्रदान गर्नेतर्फ आवश्यक र प्रभावकारी कदम चाल्न नसकिरहेको अवस्थामा सामाजिक सेवाको उद्देश्य राखी स्थापना भएको एउटा गैरसरकारी संस्थाले यसको पहल गर्नु पक्कै स्रहानिय कार्य हो । आर्थिक अभाव र प्राविधिक सुविधा नहुँदा पढाइबाट वञ्चित भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्नका लागि स्थापना भएको दृष्टिविहीन हेरविचार केन्द्रले जिल्लामा आवासीय विद्यालयको योजना ल्याएको हो । केन्द्रले अहिले वीरेन्द्रनगरस्थित खजुरामा घर भाडामा लिएर १० जना दृष्टिविहीन छात्राहरूलाई आवासीय सुविधा दिएर पढाइरहेको छ । उनीहरू अहिले उच्च मावि इत्राममा अध्ययन गरिरहेका छन् । दृष्टिविहीन भएकै कारण परिवारले बेवास्ता गर्ने र आर्थिक अभाव हुँदा शिक्षाको अवसरबाट वञ्चित भएका उनीहरूलाई केन्द्रका संस्थापक जीवनकुमार शाक्यले विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउँदै शिक्षा प्रदान गरिरहेका छन् । शाक्यले स्थापना गरेको हेरविचार केन्द्रले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाटै आर्थिक सहयोगको जोहो गर्ने गरेका छन् । केन्द्रका अनुसार अहिले विभिन्न दाताहरूले दिएको करिब एक लाख ४५ हजार रूपैयाँ सहकारीमा बचत गरिएको छ । यस्तै उपत्यका नगरविकास समितिसँग जग्गा माग गरिएको र निकट भविश्यमा नै छात्राबास स्थापनाको प्रक्रिया सुरु हुने जानकारी केन्द्रले दिएको छ । छात्राबास स्थापना भएमा शिक्षाबाट वञ्चित दृष्टिविहीन छात्राहरूले शिक्षा पाउने छन् ।
आवासीय सुविधासहितको विद्यालय आवश्यक पनि छ । सार्वजनिक विद्यालयहरू अपाङ्गमैत्री छैनन् । दृष्टिविहीनहरूका लागि छुट्टै विद्यालय पनि छैनन् । सार्वजनिक विद्यालयका शिक्षकहरूमा ब्रेललिपीको ज्ञान छैन । अन्य विद्यार्थीहरूसँगै बसेर पढ्न दृष्टिविहीन बालबालिबाहरूलाई सहज हुँदैन । त्यसैले उनीहरूको अध्ययनका लागि छुट्टै विद्यालयको आवश्यकता छ । समय परिवर्तन भए पनि समाजको चरित्र अझै पूर्ण रूपमा बदलिएको छैन । दृष्टिविहीनहरूलाई फरक र हेयको दृष्टिले हेर्ने तथा अवहेलना गर्ने प्रवृत्ति कायमै रहेको छ । जसले गर्दा उनीहरूलाई मानसिक तनावका साथै हिनताबोध समेत हुने गरेको छ । त्यसकारण पनि छुट्टै आवासीय शिक्षाको व्यवस्था गर्न सकेको खण्डमा दृष्टिविहीन बालबालिकाहरूले सहज वातावरणमा अध्ययनको अवसर पाउने छन् । यसतर्फ राज्यको ध्यान जान जरुरी छ । यद्यपि गैरसरकारी क्षेत्रबाट हुने प्रयासलाई पनि सहयोग गर्न सकेमा त्यसले दृष्टिविहीन बालबालिकाहरूलाई नै सहयोग पुग्नेछ ।
प्रकाशित मितिः   २४ फाल्गुन २०७२, सोमबार १०:५०