हिंसा र बलात्कारबाट मुक्ति

प्रतिमा परियार
महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृङ्खलामा भने कमी आउन सकेको छैन । आफ्नै घर र समाज नै महिलाहरूका लागि असुरक्षित बन्दै गइरहेको छ । हिंसाको रूप झन्झन् विकराल बन्दै गइरहेको छ । घरेलु हिंसाको चरम यातना खेप्दै आएका महिलाहरू पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न थालेका छन् । दिन दहाडै बलात्कारको सिकार हुनु परिरहेको छ, त्यो पनि आफ्नै अभिभावक र साथीभाइबाट । सुर्खेतमा पनि पछिल्लो समय बलात्कारका घटना बढेका छन् । प्रहरीको तथ्याङ्कलाई मात्रै आधार मान्ने हो भने पनि सुर्खेतमा बलात्कारको भयावह स्थिति छ । केही वर्षअघि लाटिकोइलीस्थित काँक्रेविहार जंगलमा एक युवतिमाथि सामूहिक बलात्कार भयो । त्यसको केही महिना बित्न नपाउँदै पूर्वी सुर्खेतको नेटा गाविसमा पनि एक बालिका सामूहिक बलात्कारको सिकार भइन् । सामूहिक बलात्कार पछि ढुङ्गाले थिचेर उनको हत्या गरिएको थियो । प्रहरीसम्म आइपुगेका घटना मात्रै सार्वजनिक हुन्छन्, गुपचुपमा हुने घटनाहरूको संख्या अझ बढी छ । 
बलात्कारका घटना धेरै जसोे धाकधम्की र प्रभोलन देखाएर हुने गरेको छ । घटनाका प्रकृतिहरू हेर्दा बालिकाहरू एक्लै हिँडेका बेला धाकधम्की दिएर जबरजस्ती गरेको देखिन्छ भने अर्कोतिर आफ्नै साथीभाइ र आफन्तले विभिन्न लोभ र प्रलोभन देखाएर फसाउने गरेको पाइन्छ । बलात्कारको सिकार हुनेहरूमा बढीजसो २० वर्षमुनीका किशोरीहरू छन् । सबभन्दा ठूलो विडम्बना त के छ भने, महिलाहरू आफन्तबाटै बढी असुरक्षित छन् । परिवारका सदस्य र आफन्त तथा नातेदारबाटै युवती तथा बालिकाहरू बलात्कारको सिकाइ भएका घटना सार्वजनिक भइरहेका छन् । जसलाई धेरै विश्वास गरिएन्छ उनीहरूबाटै बलात्कृत हुँदा महिलाहरूले घरभित्र र आफन्तबाटै असुरक्षित महसुस गर्नु परिरहेको तितो यथार्थ हाम्रासामू छ । 
किन भइरहेको छ ?
बेरोजगारीः बलात्कारका घटना बढ्नुमा बेरोजगारी पनि एक कारण हो । बेरोजगारीका कारण युवाहरू कुलतमा फसेका छन् । उनीहरू प्रायः गलत कामका लागि उत्प्रेरित हुन्छन् । यस्ता युवाहरूबाट महिलाहरू बलात्कृत हुन पुग्दछन् ।
अशिक्षाः अशिक्षाका कारणले पनि हिंसाजन्य घटनाहरूलाई बढावा दिइरहेको छ । ग्रामीण तहसम्म सचेतीकरणको अभावले पनि हिंसा बढेको देखिन्छ । 
कानुनी अज्ञानताः कानुनी कारबाहीका विषयमा पनि तल्लो तहसम्म जानकारी नहुँदा पनि हिंसाका घटनाहरूलाई हल्का रूपमा लिने गरेको पाइएको छ । ग्रामीण इलाकामा कानुनी उपचारका बारेमा न त पीडितलाई थाहा हुन्छ न पीडकलाई । यस्तो अवस्थामा बलात्कार जस्ता भयावह घटनाहरू पनि मेलमिलापमै टुङ्गिन्छन् ।  
सामाजिक सञ्जाल र प्रविधिको दुरूपयोगः  पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल फोनको दुरूपयोग बढ्दै जाँदा सामाजिक सद्भाव खलबलाउने खालका गतिविधिहरू भइरहेका छन् । उछृंल खालका तस्बिरहरू हेर्ने अनि उत्तेजित भइ किशोरीहरू माथि जबरजस्ती यौन तृष्णा मेटाउन खोज्दा पनि बलात्कारले प्रश्रय पाएको देखिन्छ । 
मादक पदार्थ तथा लागू औषधको प्रयोगः छ्यापछ्याप्ती रूपमा मादक पदार्थ लागू औषध किनबेच हुँदा पनि हिंसा बढेको छ । नसाको आडमा दिनप्रतिदिन हिंसा जन्य घटनाहरू बढिरहेको छ ।
अभिभावकको रेखदेख नहुनुः आफ्ना सन्तान कहा जान्छन्, के गर्न जान्छन्, को सँग जान्छन्, भन्ने विषयमा अभिभावक सचेत नहुँदा पनि यौनजन्य प्रकृतिका घटनाहरू बढेका छन् । टाढाको बाटोमा एक्लै बालिकाहरूलाई पठाउँदा साझ मृत लाश फेला परेका घटनाहरू दिन प्रतिदिन सुन्नमा आइरहेका छन् ।
कसरी रोक्ने ?
यौनिक र लैङ्गिक शिक्षाः किशोर अवस्था देखिनै किशोर किशोरी दुवैलाई यौनिक र लैंगिक हिंसाका विषयमा शिक्षा दिन जरुरी छ । 
कानुनी शिक्षाः जबरजस्ती करणी कसुर अन्तर्गत मुलुकी ऐन सम्बन्धी महलको १३(३) नम्बर बमोजिम सर्वस्वसहितको जन्मकैद र १० वर्षकी नाबालिकालाई सामूहिक जबर्जस्तीकरणी गरेकोमा मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (२) बमोजिम ८ देखि १२ वर्ष कैद र सोही महलको ३ (क) अनुसगर सामूहिक रूपमा जबरजस्ती करणी गर्नेलाई थप पाँच वर्ष कैद सजाय हुने कानुनी प्रवधान छ तर यस विषयमा ग्रामीण इलाकाका नागरिकहरूलाई थाहा छैन् । हिंसा न्यूनीकरण अभियान सँगै हिंसा भइहालेमा के गर्ने के कस्ता कानुनी प्रावधानहरू छन् भन्ने विषयमा पनि सचेतना दिन जरुरी छ ।
सामाजिक सञ्जाल र प्रविधिको सदुपयोग ः सामाजिक सञ्जाल र मोबाइल फोनलाई दुरूपयोग होइन सदुपयोग गर्न सचेतना जगाउन आवश्यक छ । विकृति र विसंगतीका लागि मात्रै होइन नयाँ–नयाँ जानकारी हासिल गर्ने अथवा आफूसँग भइरहेका क्षमतालाई वृद्धि गर्ने थलोका 
रूपमा लिन सके वा यसको महŒव बुझाउन जरुरी छ । 
मादक पदार्थ तथा लागू औषध ओसार–पोसारमा रोकावट ः विभिन्न ठाउँमा मादक पदार्थ राखिएका भाडाहरू प्रहरीले फ्याकिदिएका खबरहरू आउँछन्  अभियानका क्रममा पनि हिंसा न्यूनीकरण गर्न मादकपदार्थ नियन्त्रणका प्रयासहरू गरिन्छ तर सुधार आउन सकेका छैनन् । मादक पदार्थ र लागू औषध सेवन गर्ने अनि नशाको आडमा यौनजन्य क्रियाकलापहरू गर्ने हुँदा मादक पदार्थ र लागू औषध ओसार पोसारमा नियन्त्र गर्न जरुरी छ । 
प्रहरी सक्रियता बढाउनेः  प्रहरीले ग्रामीण इलाकामा गस्ती बढाउन जरुरी छ । घटना भइसकेपछि पनि घण्टौंसम्म प्रहरी घटनास्थलमा पुग्न नसकेका खबरहरू बाहिर आइरहेका बेला घटना हुनै नदिनका लागि पनि प्रहरी सक्रियता एकदमै महŒवपूर्ण हुन्छ । त्यसैले प्रहरीका तर्फबाट पनि विभिन्न सचेतना सम्बन्धीका अभियानहरू गाउँबस्तीमा समय–समयमा सञ्चालन गर्न सके हिंसामा कमी आउन सक्छ ।
अभिभावकको रेखदेखः  आफ्नो घरवरिपरी वा बाहिर निस्किदा पनि अभिभावकले रेखदेख गर्नुपर्छ । सकेसम्म साथमै जाने नसके भरलाग्दो मान्छे साथमा पठाउने । काममा गएको छोरी समयमा घर नआएपछि खोज तलासी पनि समयमा 
गर्नुपर्छ । आफ्ना आफन्त र छिमेकीसँग जबरजस्त रूपमा अभिभावकले पठाउँदा हिंसाको सिकार हुनुपरेको घटनाहरू पनि बाहिर आउँछन् । यस्तो अवस्थामा अभिभावकहरू सचेत हुनुपर्छ । 
स्वयम् आफू सचेतः किशोरीहरू आफू पनि सचेत हुनुपर्छ । जहाँ पनि जे पनि एक्लै गर्नसक्छु अनि जानसक्छु भन्ने दम्भ राख्नु हुँदैन । आफूमाथि हुनसक्ने घटनाहरूको पहिला नै अनुमान गरी सर्तकर्ता अपनाउनुपर्छ । आफूले धेरै विश्वास गरेका आफन्त र साथीभाइहरूबाट पनि सचेत हुनुपर्छ । देखाएको प्रभोलनमा छिट्टै फस्नु हुँदैन् आफ्नो स्वविबेक प्रयोग गरेर मात्रै निर्णय लिनुपर्छ । 
महिलामाथि हुने हिंसा र बलात्कार मानवियता विरुद्धको कार्य हो । यसलाई रोक्नु जरुरी छ । जसका लागि समाजलाई सचेतीकरण, महिलाहरूलाई सक्षम र सबल बनाउनुका साथै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक छ । नारीहरू असुरक्षित हुनुमा समाज दोषी होइन् यो समाजमा बस्ने नागरिकहरू दोषी हुन् । समाज त यहाँका नागरिकहरूले जस्तो बनायो त्यस्तै बन्ने हो । जबसम्म समाजका हरेक व्यक्तिले महिलामाथि कुनै पनि किसिमको हिंसा गर्नु हुँदैन भनेर बुझ्दैन तबसम्म बलात्कार जस्ता जघन्य अपराधहरू भइरहनेछन् । त्यसैले अब हामी सबैले यसलाई रोक्नका लागि प्रण गर्न जरुरी छ । तपाईं हामी सबै समृद्ध समाजको कल्पना गरौं । अबदेखि महिला हिंसा नगर्ने र गर्न नदिने संकल्पका साथ हामी आजैबाट जुटेमा यसको अन्त्य सम्भव छ । एकले अर्कोलाई ताक्नुको साटो आफूबाटै सुरुवात गरौं । दानवीय प्रकृतिका घटनाहरू रोकौं । महिलाहरू एक्लै निर्धक्कसँग हिँड्न, बस्न, घुम्न र काम गर्नसक्ने वातावरणको सिर्जना गरौं । जबसम्म नारीहरूलाई हेर्ने दृष्टि परिर्वतन हुँदैन् तबसम्म जतिसुकै अभियानहरूले पनि समाजलाई समृद्ध बनाउन सकिदैन । समृद्ध समाज निर्माणका लागि महिला हिंसारहित समाज अनिवार्य छ । 
(परियार, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको कार्यसमिति सदस्य हुन् ।)
प्रकाशित मितिः   २४ फाल्गुन २०७२, सोमबार ०८:१०