कांग्रेसको केन्द्रीय समितिमा कर्णालीबाट आठ जना

सुर्खेत: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा कर्णाली प्रदेशबाट आधा दर्जन बढीले प्रतिनिधित्व गरेका छन् । १४औं महाधिवेशनबाट एक
पदाधिकारीसहित कर्णालीका सात जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

पूर्वमहामन्त्री समेत रहेका पूर्णबहादुर खड्का यसपटक उपसभापतिमा निर्वाचित भए । उनीबाहेक सात जना केन्द्रीय सदस्य बनेका हुन् । कर्णालीका १० मध्ये सात वटा जिल्लाबाट सदस्य निर्वाचित भएका छन् ।

सुर्खेतबाट जानकी सिंह केन्द्रीय सदस्य बनेकी छिन् । उनी प्रदेशको महिला कोटाबाट उम्मेदवार बनेकी थिइन् । यस्तै दैलेखबाट सीताकुमारी राना, जाजरकोटबाट राजीवविक्रम शाह र रूकुम–पश्चिमबाट मानबहादुर नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दैलेखकी राना आदिवासी जनजातितर्फबाट निर्वाचित भएकी हुन् । जाजरकोटका शाह प्रदेशको खुल्ला कोटाबाट र रूकुम– पश्चिमका नेपाली दलित कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

हुम्लाकी रंगमती शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी महिलातर्फको खुला सदस्यमा निर्वाचित भएकी हुन् । खस–आर्य कोटाबाट जुम्लाकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । प्रदेशको खुलातर्फबाठ डोल्पाका कर्णबहादुर बुढा केन्द्रीय सदस्य बनेका छन् ।

प्रकाशित मितिः   १० पुष २०७८, शनिबार ०५:०२