खेलकुद क्षेत्रमा धक्का
सुर्खेत: गएका तीन वर्षयता कर्णालीको खेलकुद क्षेत्र निकै प्रभावित बनेको छ । खेल पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीलाई कोरोना महामारीले थप धक्का पु¥याएको हो । नियमित खेल गतिविधि हुन सकेका छैनन् । कोरोनाका कारण स्थानीयस्तरमा हुने प्रतियोगितादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितामा पनि कमी आएको छ । यो अवधिमा खेलाडीहरूको दैनिक अभ्याससमेत प्रभावित बनेको हो ।
यसैपनि विरलै मात्र खेल गतिविधि सञ्चालन हुने प्रदेशमा कोरोनापछि झनै असर परेको छ । कर्णालीमा कोरोना महामारी सुरू भएयता कुनैपनि प्रदेशस्तरीय खेलकुदका प्रतियोगिता भएका छैनन् । प्रदेश, अन्तरजिल्ला, अन्तरपालिका र स्थानीय तहहरूले हरेक वर्ष आयोजना गर्दै आएका खेल प्रतियोगिता रोकिएका हुन् । आर्थिक अभावसँगै कोरोना संक्रमणको जोखिमका कारण कर्णालीमा खेलकुदका गतिविधि हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । यो समयमा सबै क्षेत्र प्रभावित भए पनि कोरोना महामारीले खेलकुदमा बढी असर पुगेको कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल बताउँछन् । उनले त्यसमा पनि कर्णालीको खेलकुद निकै मारमा परेको जनाए । ‘विश्वभरका खेलकुद गतिविधि नै झन्डै दुई वर्षदेखि ठप्पप्रायः छन्,’ उनले भने, ‘हाम्रो जस्तो खेल पूर्वाधार कमजोर भएको ठाउँमा झन् सबै खालका प्रतियोगिता र खेल गतिविधि प्रभावित हुने नै भए ।’
गत वर्ष प्रदेशस्तरीय मुख्यमन्त्री कप आयोजना गर्ने तय भए पनि कोरोना संक्रमणको त्रासले खेल सम्पन्न गर्न नसकेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । मुख्यमन्त्री कप प्रत्येक वर्ष आयोजना हुनुपर्नेमा हालसम्म एक पटक पनि सञ्चालन नभएको हो । यस्तै, परिषद्ले केही समय पहिले राष्ट्रियस्तरको कर्णाली गोल्डकप आयोजना गर्ने तयारी पनि गरेको थियो । उक्त प्रतियोगिता भने बजेट अभावका कारण हुन सकेन । ‘बजेट व्यवस्थापन गर्न समस्या हुने देखिएपछि प्रतियोगिता आयोजना हुन सकेन,’ परिषद्का उपाध्यक्ष हमालले भने । उनका अनुसार परिषद्को कार्ययोजनामा परेका खेलकुदका कतिपय गतिविधि सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।
कर्णालीमा खेलकुदका गतिविधि अहिले पनि सन्तोषजनक हुन नसकेको परिषद्ले जनाएको छ । प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिनेको संख्या न्यून छ । यहाँका खेलाडीका लागि प्रशिक्षण लिन एवम् नियमित अभ्यास गर्न चुनौती छ । प्रशिक्षक र खेल संरचनाको अभावले खेलाडीहरू उत्पादनमा समस्या हुँदै आएको हो । खेल पूर्वाधारको अवस्था हेर्दा कर्णालीले हालसम्म गरेका उपलब्धी भने प्रशंसायोग्य भएको बताउने गरिएको छ । प्रदेशस्तरीय र कतिपय जिल्लामा स्थानीय प्रतियोगिता सञ्चालन गर्न पर्याप्त पूर्वाधार छैनन् । अनेक अभावकाबीच पनि कर्णालीले खेल क्षेत्रमा सक्दो योगदान गरिरहेको खेलाडीहरू बताउँछन् । कर्णालीबाट प्रतिनिधित्व गरेर विभिन्न विधाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक ल्याएका छन् । त्यस्ता प्रतियोगितामा प्रदेशभरबाट झन्डै एक सय जना सहभागी बनिसकेका छन् । खेलाडीहरूको प्रयासबाट कर्णालीले थुप्रै पुरस्कार तथा मेडलहरू प्राप्त गरेको छ । यद्यपि, यसरी प्रतियोगितामा जिते पनि खेलाडीले सरकारी निकायबाट आवश्यक सहयोग र सम्मान पाउन नसकेको गुनासो गर्दै आएका छन् । प्रदेश र स्थानीय सरकारले समेत खेल क्षेत्रलाई उपेक्षा गर्ने गरेको खेलाडीहरूको आरोप छ । खेलकुदका लागि बजेट थोरै विनियोजन हुने हुँदा प्रतियोगिता सञ्चालनमा समस्या हुने गरेको हो ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले विगतका झन्डै दुई वर्षदेखि खेल गतिविधि गर्न नसकिएको बताए । उनका अनुसार यो अवधिमा जिल्लास्तरीय एउटा मात्र खेल सम्पन्न भएको छ । पालिका तहमा केही खेलकुदका गतिविधिहरू भइरहे पनि जिल्लास्तरका सबै विधाका खेलहरू प्रभावित भएका छन् । कर्णालीको खेलकुद पछाडि पर्नुमा भौतिक संरचना र आर्थिक अभाव नै मुख्य कारण रहेको उनले जनाए । ‘कर्णालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरू खेल्ने क्षमता भएका खेलाडीहरू छन् तर उनीहरूको उचित मूल्याङ्कन नगर्ने समस्या छ,’ गिरीले भने, ‘सुर्खेत जिल्लामा मात्रै त्यस्ता खेलाडी ५० भन्दा बढी छन् ।’ सुर्खेतबाट अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा ११ जनाले सहभागिता जनाइसकेको गिरीले बताए ।
प्रदेशको नाम चिनाउन जोखिम मोलेर खेल्नुपर्ने भए पनि खेलाडीहरू यस्ता प्रतियोगितामा भने आफ्नै खर्चले सहभागि बन्नु पर्ने बाध्यता रहेको खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । यही पुस १२ देखि १४ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा यहाँबाट दुई जना खेलाडी सहभागी हुँदै छन् । सो प्रतियोगितामा सुर्खेतबाट प्रकाश खड्का र सन्दिप महत सहभागी हुन लागेका छन् । तर, दुवै खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिन लागेका हुन् । जिल्ला खेलकुद विकास समितिले समन्वय गरेपनि प्रतियोगितामा सहभागी हुनका लागि सरकार र सम्बन्धित निकाय कसैले सहयोग नगरेको खेलाडीहरूले बताएका छन् ।
कर्णालीमा खेलकुदका लागि इन्डोर र आउटडोर रंगशाला बनेका छैनन् । आवश्यक स्रोतसाधन नभएपछि खेल क्षेत्रको अपेक्षित विकास नभएको जानकारहरू बताउँछन् । प्रदेश खेलकुद परिषद्का अनुसार कर्णाली १० वटै जिल्लामा खेलका भौतिक संरचनाको अभाव छ । खेलाडीलाई अभ्यास गराउने जनशक्ति अपुग छ भने भएका प्रशिक्षकको पनि उचित व्यवस्थापन हुन सकेको छैन । थुप्रै अभाव र कठिनाइकाबीच पनि खेल क्षेत्रको विकासमा आफूहरू लागिरहेको परिषद्का पदाधिकारीहरूले बताएका छन् । सुर्खेतमा प्रदेशस्तरीय रंगशालाका लागि काम सुरू भएको छ । कर्णाली सरकारको बजेटमा प्रदेश गौरवको आयोजनाअन्तर्गत १० हजार दर्शक अट्ने क्षमतको अत्याधुनिक रंगशाला निर्माण थालिएको हो । डेढ अर्ब लगानी हुने रंगशालाको निर्माण कार्य अबको ३० महिनाभित्र सम्पन्न हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
प्रकाशित मितिः ९ पुष २०७८, शुक्रबार ०५:०५
भीमबहादुर परियार ।