बेपत्ता युवक भेटिए

सुर्खेत: हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका बेपत्ता चन्द्रे कामी बुधवार बिहान भेटिएका छन् । अन्तरजातीय बिहे गरेका उनी एक सातादेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले उनलाई खार्पुनाथ गाउँपालिका–५ याङ्चु बजारमा भेटेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी सकुशल भेटिएका हुन् । सूचना अधिकारी भण्डारीका अनुसार बिहान ८ बजेतिर एक्लै हिँडिरहेको अवस्थामा उनी फेला परेका हुन् । बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा खटिएका थिए । घटनाको थप अनुसन्धानका लागि सोधपुछ गरेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधवारदेखि हराएका थिए । परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका हुन् । त्यसयता उनको अवस्था अज्ञात थियो ।

केटी पक्षका आफन्त आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको आरोप छ । चन्द्रे र सुन्तलीले घरबाट भागेर विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारको दाबी छ । १८ वर्षीय चन्द्रे र १७ वर्षीया रमिलाले मंसिर ५ मा प्रेम विवाह गरेका हुन् । उनीहरूको विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए । उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गएका थिए । हुम्लाको जैर गाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दै गर्दा चन्द्रेको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको गाउँलेको भनाइ छ ।

प्रकाशित मितिः   ८ पुष २०७८, बिहीबार ०५:०२