बजेट व्यवस्थापन गर

कर्णाली प्रदेशमै व्यवस्थित सभाहल छैन । ठूला सभा, समारोह, सेमिनार, गोष्ठिहरू आयोजना गर्नलाई समस्या हुँदै आएको छ । यही समस्या समाधान गर्न सुर्खेतको वीरेन्द्रनगरमा सभाहल (सिटी हल) निर्माणको योजना अघि सारिएको छ । अहिले सिटीहल निर्माणाधिन अवस्थामा छ । पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने दोस्रो चरणको काम हुन बाँकी छ । प्रदेशकै ठूलो सभाहल निर्माणमा बजेट अपुुग भएको छ । बजेट नभएपछि निर्माणाधीन सिटी हलको दोस्रो चरणको काम सुुरू हुन सकेको छैन । अहिले यहाँ संरचना निर्माण कार्य रोकिएको हो ।

बजेट अभावले दोस्रो चरणको कामका लागि प्रक्रिया नै अघि नबढेको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । सभाहलमा संरचना निर्माणका लागि झन्डै साढे चार करोड बजेट अभाव छ । बजेट नहुँदा दोस्रो चरणको कामको टेन्डर गर्न नसकिएको हो । सरकारले माग बमोजिम बजेट उपलब्ध गराए सोहीअनुसार टेन्डर गर्ने र बाँकी काम अघि बढ्ने जनाइएको छ । त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागमा रकम माग भइसकेको छ । दोस्रो चरणका लागि चालु वर्षमा डेढ करोड बजेट मात्र विनियोजन भएको छ । ६ करोडकोे स्टिमेट रहेकोमा निकै थोरै बजेट पठाइएको हो । जसले गर्दा काम गर्न समस्या भइरहेको हो । वीरेन्द्रनगर–६ वुद्धपथमा निर्माण भइरहेको सिटी हलको पहिलो चरणको काम भने सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्माण कार्य २३ करोडको लागतमा सम्पन्न गरिएको हो । जसअन्तर्गत बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माणका काम भएका हुुन् । सात सय ८० जना क्षमताको सभाहल, डेढ÷डेढ सय जना अट्ने क्षमताका दुुई वटा बैठक कक्ष र सभाहल क्षेत्र घेरबार गरिएको छ । सभाहल निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा २० करोड ५४ लाख ८६ हजार सात सय रूपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले पहिलो चरणको काम गरिएको हो । सम्झौताको म्याद तीन वर्ष भए पनि अरु डेढ वर्ष म्याद थप गरेर निर्माण सम्पन्न गरिएको छ ।

निर्माणको समयावधि लम्बिदा सभाहलको लागतसमेत बढेको छ । पहिलो चरणको काममा करिब तीन करोड लागत बढेको हो । दोस्रो चरणमा पार्किङ्को व्यवस्था, भुुइँमा ब्लक बिछ्याउने, गार्डेनलगायतको काम हुनेछ । त्यस्तै, हलहरूमा कुर्सी राख्ने, बगैँचा निर्माण र फिनिसिङ्का काम बाँकी छन् । यीनै संरचना बनाउन र सामग्री खरिदका लागि बजेट अभाव भएको हो । प्रदेशकै गौरवको योजना निर्माणमा सरकारले विशेष ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ८ पुष २०७८, बिहीबार ०५:०४