कुडा कर्णालीका

बाडो, थाडो र ओटालो

मिलेको बस्ती, नमिलेको मन

डा. दीपेन्द्र रोकाया

एकै घरका भाइहरू छुटिँदा एकाअर्काको घर र जमिन छुट्याउनका लागि बार लगाइन्छ । यसरी बार लगाएर छुट्याउँदै जाँदा ठूलो बस्ति नै बन्यो, त्यसलाई ‘बारा’ भनियो । त्यो ‘बारा’लाई पछिल्ला दिनहरूमा ‘बडा’ भन्न थालियो । त्यसबाट सापटी लिएर ‘वडा’ भन्न थालेका छौं । ‘वडा’ भनेर स्थापित गराउन त्यसै ‘बारा’को देन छ । बार, बारा, बारो, बडा, वडा हुँदै अपभ्रंश भएर ‘बाडो’ भन्ने गरिएको छ । वास्तवमा यसलाई ‘बारो’ भन्नु पर्छ । यसको अध्ययन गर्न चाहनेलाई हुम्लाको ठेहे गाउँ निकै उपयोगी हुने ठान्दछु ।

हिमालय क्षेत्र मुनीका बस्तीहरूमा प्रायः मुण्डा घरहरू भेटिन्छन् । त्यसलाई हामी एकलाई ‘थारो’ र धेरै भए ‘थारा’ भन्छौं । ‘थारो’ समथर र चारकुने हुन्छ । थारामा खलो चुट्ने, बिस्कुन सुकाउनेदेखि कचहरी बस्नलाई सहज हुन्छ । त्यो इन्जिनियरिङको विशेष खोज हुन जरुरी छ । यस्तो बन्नुमा वातावरणीय पक्षले ठूलै भूमिका खेलेको पाइन्छ ।

पृथ्वीमा जग हालिएको कोठालाई पशुवस्तु बसाल्ने गोठ मानिन्छ । गोठमाथि बनेको तलालाई मात्र घर मानिन्छ । त्यस माथिको तलालाई ‘पाँण’ भनिन्छ । पाँणलाई स्वर्ग मानी देउताको थान राख्ने र पाहुना आउँदा बसालिन्छ । यसका अलवा कतिपय ठाउँमा त्यसमाथि घाँसपात, दाउरा वा खानेकुरा सुकाएर राख्न ‘नार्‍या’ वा धुरी बनाइएको पाइन्छ । त्यहाँ राता र सेता ध्वजा बाँधिएको ‘लुङरो’ ठड्याइन्छ । जसलाई वायुमार्ग मानिन्छ । यसरी बनेका मुण्डा घरलाई कतिपयले सिधै गरिबको सूचीमा चढाउने गर्दछन् । यो सरासर गलत हो ।

शहरतिर ठूलो घडेरी हुनेको आँगन हुन्छ । कसैले बरण्डा निकालेको देखिन्छ । साविकको कर्णालीमा घरको मूल ढोकानेर बनाइएको सानो थारोलाई कोही ओटालो भन्छन् भने कोही त्यसलाई होटालो पनि भन्छन् ।

कर्णाली प्रदेशको भू–क्षेत्र ठूलो छ । बस्तीहरू छरिएका छन् । यद्यपि हिमाल मुन्तिरका गाउँहरू घना बस्तीकै रुपमा छन् । पहाडमा आउँदा अलि खुकुला घरहरू भेटिन्छन् । हिमाली जिल्लामा कसैको आँगन कसैको थारा छन् । जोडिएका घरहरूमा लिस्नो ठड्याइएको छ । यही लिस्नो भएर सबैले ओहोरदोहोर गर्छन् । थारामा सबैको उठबस सँगै हुन्छ । जब घर पस्ने बेला आउँछ, कुकुरसमेत घरभित्र पस्दा एउटा दलितले दलित भएकै कारण घरभित्र पस्न पाउँदैन । यो समस्या एक हदसम्म माओवादी जनयुद्धले हल गरेको थियो । यसभित्र सामाजिक संरचना, मनोविज्ञान, उत्पादन सम्बन्ध र सम्पन्नताले काम गरेको पाइन्छ । उचनिचको कुरा गर्ने हो भने जसरी हाम्रो केन्द्रीय राजधानी काठमाडौंमा नेवार समूदायभित्र श्रेणी देखा पर्दछ, त्यस्तै श्रेणी दलित समूदायभित्र पनि छ ।

डोल्पाका कुलालहरू अझै दलितभित्र सूचीकृत हुन पाएका छैनन । तिनीहरूको मन जोड्नुपर्दछ । तिनीहरूसँगै अरुको मन पनि जोड्नुपर्दछ । हिजोका कामीहरू इन्जिननियर हुन् । दर्जी र सार्कीहरू डिजाइनर हुन् । गन्धर्व, हुड्क्या र वादी सन्देश वाहक र मनोरञ्जन दिने सामाजिक कलाकार हुन् । हिजो उनीहरूलाई आफ्नो गाउँमा आलोथलो दिएर राख्न तछाडमछाड हुन्थ्यो । जसरी अहिले डाक्टर र इन्जिनियरलाई महत्व दिएर माग गर्ने गरिन्छ ।

जल, स्थल र वायुका ज्ञाताले आफ्नो सीपलाई जमाना अनुसार परिस्कृत गर्दै नजानाले कारखानाको मैलो तथा धेरैसँगको संगत र उपयोगितालाई देखाएर अछुत बनाउने समाज निर्माण भयो । यो कालान्तरमा छोइछिटो हाल्ने परम्परा बन्न थाल्यो । आयस्रोत घट्न थालेपछि काम गर्ने र माग्ने लगी प्रथा चल्यो । कर्मलाई भाग्यका रुपमा परिभाषित गर्न थालेपछि उपेक्षा र दमन गर्ने आधार बन्यो । कालान्तरमा दलित भनेर परिभाषित हुन पुग्यो ।

श्रम र सीपअनुसार विगतमा दलितको स्थान उच्च देखिन्छ । हरेक कर्ममा दमाई अगाडि लाग्ने परम्परा बस्नु यसैको नमूना हो । अरु त अरु कोही कसैको ग्रहदशा बिग्रेको छ भने दमाईसँग मित लगाउनुको पछाडि उनीहरू हिम्मतिला थिए भन्ने बोध हुन्छ । यहाँ गरिवी बढी देखिनुको मुख्य कारण उत्पादन गर्ने जमीन कम भएका दलित समूदाय धेरै हुनु हो । आज समाजमा सबभन्दा पछि परेको वर्ग र समूदाय दलित भएकाले उनीहरूलाई उठाउन जिविकोपार्जन र शिक्षामा लगानी गर्नुपर्ने देखिएको छ ।

यसैगरी अरु सिमान्तकृत तथा पछि परेका वर्ग समूदाय उत्थानका कार्यक्रम मार्फत् अगाडि बढाइएको छ । हिमाली भोट्या लामा, थपाल्या व्यासी र कार्मारोङहरू पनि सूचीकृत हुनुपर्छ । यहाँका बाहुन र क्षेत्रीलाई झापा र स्याङ्जाका बाहुन र क्षेत्रीसँग तुलना गर्नु हुँदैन । जडान क्षेत्रका बासिन्दाले खसहरूलाई ‘टोपी टाल्या’ भन्ने गर्दछन् । यसभित्र ठूलो अर्थ लुकेको छ । कुनैबेला सम्पन्न खसहरू टोपी समेत टालेर लगाउने स्थितिमा पुगेका थिए । मुल लुगा कुन हो भनी चिन्न नसकिने गरी टालै टालाले टालेको लुगा लगाएको र खाली खुट्टामा जिन्दगी बिताएको पुस्ता हामीले देखे–भोगेकै कुरा हो । यसको मुल कारण खोतल्न कर्णालीको नलेखिएको इतिहास खोज्नुपर्छ ।

शिवभक्त नागराजले जुम्लाको पाल राज्य जितेपछि अहिलेको ‘हाट शिजा’को लामोथारा चौक्या बारामा कचहरी गरे । शिव र जालन्धर ऋषिको सम्झना र सम्मानमा ‘शिजा’ नामाकरण भयो । ‘शिजा’लाई अहिले ‘सिन्जा’, ‘सिञ्जा’ आदी लेख्ने गरिएको छ, जुन गलत छ । गाउँ–ठाउँको रित बसाउन दैवी शक्तिलाई साक्षी राखी बाह्र भाई मइठाको सम्झनामा बाह्रदेउ स्थापित भयो । राज्य चलाउन प्रत्येक घरका एक जना राज्यको मान्छे हुनपर्ने परम्परा बस्यो । राज्य कोष निर्माण गर्न ‘दे–उठा’ व्यवस्था मिलाइयो । ‘दे’ ले दिने र ‘उठा’ ले उठाउने अर्थ दिन्छ । अर्काे अर्थमा ‘देउ’ ले माग्ने काम र ‘उठा’ ले उठाउने कार्य बोध गराउँछ । यसैगरी भोट र मैदानी भागसम्म नुन, सुन, अन्न, ऊन र सुतीका लुगा तथा बाजको व्यापारले शिजा राज्य बलियो भएको थियो ।

शिजा राज्य पतन हुनुको कारण कोही होरिखोरी लामालाई शिजापति राजाले ‘हुने नहुने र नहुने हुने नाच’ हेर्न चाहेको कुरा कर गरेर देखाउन लगाएका कारण एकाएक आकाशबाट मुसलधारे पानी परेको र त्यसैबेला आकाशबाट शिउबाघ जुध्दै आएर दरवार ध्वस्त पारेको कथा सुनाउँछन् । यो बिम्बात्मक कथाले राज्यशक्तिलाई खेलबाड गर्ने नाश हुन्छन् भन्ने देखाउँछ । कतिपयले राजा अभय मल्ल निःसन्तान भएकाले उनका उत्तराधिकारीले भाई भाग लगाएको कारण सुनाउँछन् ।

जेहोस, शिजा राज्यलाई भाइ भागमा लगाउँदा मेदिनी बर्माले जगतिपुर जाजरकोट, पिताम्वर वर्माले रुकुम, सुमेरु वर्माले सामाकोट सल्यान, संसारी वर्माले विलासपुर लिँदा ज्वाईं बलिराज शाहीले जुम्ला राज्य पाएका थिए । राज्यको ढुकुटी नभएको बेला बलिराजले दानसाँगुमा राजतिलक लगाएपछि छिनासिमबाट भैलो खेल्न लगाएर राज्यकोष निर्माण गरेका थिए । जसलाई अहिलेसम्म भैलो माग्दा ‘हामी त्यसै आएनौ बलिराजले पठाएको’ भनेर दावी गर्ने गरिन्छ ।

जब जुम्ला नेपाल विस्तारको क्रममा कब्जामा पर्याे, त्यसपछि कर्णाली क्षेत्रले अकल्पनीय नियति भोग्न प¥यो । कर्णालीका सबै युद्धबन्दी नै भए पनि कालीपारीको मोर्चाहरूमा देशका लागि बहादुरीताका साथ लड्नु पर्याे । अधिकांशले अंग्रेजसँगको लडाइँमा ज्यान फाल्नु प¥यो । बाह्र वर्ष माथिका बिद्रोहीहरू नाग, चुल्ठो र गोर्खालीको सफायामा पर्नु पर्याे । बालबालले बाँचेकाहरूले भित्ताको पनि कान हुन्छन् भन्ने डरले वास्तविकता आफ्ना सन्तानलाई भन्न सकेनन् । यसरी एउटा समृद्ध इतिहास नागराजको ‘दे उठा’ व्यवस्था वैरागीएर ‘दे उरा’ हुँदै ‘दे उडा’ भन्ने अवस्थामा पुग्यो । वन पाखामा ठाडीभाका लगाएर धेरै कुरा भन्ने तर समाजमा बोल्न नसक्ने अवस्था सिर्जना भयो ।

माओवादी जनयुद्धले कर्णालीलाई जुरुक्कै उठाएको हो । संघीयता कर्णालीलाई चाहिएको थियो । यसैले हरेक क्षण कर्णालीले मूल्य चुकाउँदै आएको छ । अचेल धेरैले राजस्वलाई देखाएर संघीयता टिक्न सक्दैन भनिरहेको पाइन्छ । उनीहरूले लोकतन्त्र र संघीयताको सुन्दर पक्ष देख्न सकिरहेका छैनन् । हिजो नभएको विकास र नखुलेको मार्ग तथा नपाइएको अधिकारलाई तुलनात्मक रुपमा हेर्दा वास्तविकता अनुभूत गर्न सकिन्छ । पुराना कुरा सम्झने हो । अब मानव केन्द्रित विकासमा लाग्नु पर्दछ । सामाजिक न्यायका साथ शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि दिगो पूर्वाधार निर्माणमा ध्यान दिनु पर्दछ ।

सन्दर्भ बारो, थारो र ओटालोको हो । यो एकीकृत बस्तीसँग सम्बन्धित छ । कर्णालीमा अधिकांश ग्रामीण बस्तीहरू छन् । ती बस्तीहरू छरिएर रहेका छन् । तिनको लागि आधारभूत सेवा सुविधा पु¥याउन गाह्रो छ । भू–कम्पीय जोखिम पनि उस्तै छ । यसैले सुरक्षित गाउँ–शहर तथा बस्तीलाई आधुनिकीकरण गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को सपनालाई साकार पार्नुछ । यसका लागि एकाइसौं शताब्दीको मौलिक विशेषता सहितको गाउँ–सहर तथा बस्तीको विकास गर्नुपर्छ । बस्तीको विकास गर्ने निकायहरूबीच आपसी समन्वय गर्नुपर्छ । बढ्दो जनसंख्या र अव्यवस्थित बसाइँ–सराईंको व्यवस्थापन हुनुपर्छ ।

कर्णाली प्रदेश सरकारले समृद्धि र सुखका लागि आधारभूत सुविधा सहितको गाउँ–शहर तथा बस्तीको विकास गर्ने सोच अगाडि सारेको छ । मौलिक विशेषता सहितको आधुनिक गाउँ–शहर तथा एकीकृत बस्ती विकास गर्ने लक्ष्य राखेको छ । एकीकृत सेवा सुविधासहित सुरक्षित, वातावरणमैत्री र व्यवस्थित गाउँ–सहर तथा एकीकृत बस्तीको निर्माण गर्ने उद्देश्य राखेको छ । यो कसरी सम्भव हुन्छ ? यही सोच, लक्ष्य र उद्देश्य पूरा गर्न आवश्यक रणनीति, कार्यनीति तथा कार्यक्रम तय भएको छ ।

गाउँ–सहर तथा एकीकृत बस्ती विकास कर्नाली प्रदेशको पहिलो प्राथमिकताभित्र पर्दछ । यसको मापदण्ड सहितको गुरुयोजना तयार गरी लागू गर्नुपर्छ । भू–उपयोगको अध्ययनको आधारमा हाल अठार लाख जनसंख्या भएको कर्नाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्मार्ट सिटी, शिजा र दुल्लुमा खस साँस्कृतिक पहिचानको शहर, चौरजहारी र राकमलाई मध्य पहाडी शहर तथा साविकका सदरमुकामहरूलाई आर्थिक केन्द्र शहरका रुपमा विकास गर्नुपर्छ ।

यसैगरी पालिका केन्द्रहरूलाई नयाँ साना शहर र करिव दुई सय गाउँलाई एकीकृत सुरक्षित बस्तीको रुपमा विकास गर्नुपर्छ । पर्यटनलाई ध्यान दिएर हुम्लाको न्यारी र मुगुको मुर्मा टपलाई स्मार्ट भिलेज बनाउनुपर्छ । जनता आवासबाट तीन हजार आवास निर्माण गर्नुपर्छ । रारामा गृष्मकालीन सदन र काठमाडौंमा कर्णाली सदन निर्माण गर्नुका साथै भूमिहिन सुकुम्वासी, वादी, मुक्त हलिया तथा लोपोन्मुख राउटे समूदायको लागि सुरक्षित बस्ती व्यवस्थापन गर्नुपर्छ ।

यो कार्य भन्न जति सजिलो छ, कार्यान्वयन गर्न निकै कठीन छ । यही कठीनता र चुनौतिभित्र एउटा महान सम्भावना लुकेको छ । यसैले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा निजी क्षेत्र र उपभोक्ताको समेत साझेदारीमा निर्माण गरे असम्भव भन्ने केही रहने छैन । सरोकारवालाहरूलाई भन्नैपर्ने कुरा के छ भने कर्णाली एकै दिनमा बन्ने छैन । यसका लागि निरन्तर लागि परेको खण्डमा क्रमशः सुरक्षित एकीकृत बस्ती बसाल्न सक्नेछौं । हामी सबैले आफ्नो क्षमता अनुसार साझेदारी गर्न सकेको खण्डमा समृद्धि ल्याउन सक्नेछौं । बस्ती र बस्तीको मन मिलाउन सकेको खण्डमा शान्ति कायम गर्न सक्नेछौं ।

(रोकाया कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् ।)

 


भू–उपयोगको अभ्यास

डा. टिकाराम गौतम
डा. टिकाराम गौतम

धेरै समयअघिको कर्णालीको मुख्य ठाउँलाई ‘हाट सिञ्जा’ भनिन्छ, जोसँग जोडिएर हामी अहिलेको कर्णालीलाई चिन्छौँ । त्यहाँभित्रको बाडो, थाडो र ओटालो बनाउने बेलामा त्यहाँ बसेका मान्छेहरूले केही न केही आपसी सल्लाह गरे । मान्छे त्यहाँ आउनेबित्तिकै जुन भूगोलमा उनीहरू प्रवेश गरे, हामी कहाँ बस्ने हो ? के चिज उब्जाउने हो ? कसरी खाने हो ? एउटाले अर्कोलाई मद्दत कसरी गर्ने हो ? भन्ने अन्तरक्रियात्मक सम्बन्धले वास्तवमा भू–उपयोग नीति बन्यो । त्यसैले बाडो जन्मियो । अनि घर, थाडो र ओटालो बन्यो ।

व्यवस्थित बस्ती बस्नुअघि त्यस स्थानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने छलफल हुन्छ नै । अन्नपात वा फलफूल उत्पादन कहाँ गर्ने, कसरी सामाजिक कल्याण गर्ने आदि विषयमा पक्कै छलफल हुन्थ्यो । अहिले सरकारले जुन भू–उपयोग नीति भनेर भनिरहेको छ, त्यो बेलाको नीति बस्तीका सदस्यहरूलेनै तय गर्दथे ।

वास्तवमा विभेद र असमानतालाई अलग–अलग बुझ्यो भने कुरा गर्न सजिलो हुन्छ । कुनै ठाउँमा उपलब्ध हुने विभिन्न खालका अवसर र स्रोत साधनमा व्यक्ति वा घरपरिवारको पहुँच हुने वा नहुने कुरा असमानतासँग जोडियो । नागरिकहरूले एक अर्कालाई कस्तो खालको व्यवहार गर्ने त्यो व्यवहारसँग जोडिएको कुरा विभेद हो । त्यसैले हामीले विभेद र असमानताको कुरा गरिरहँदा फरक–फरक पाटोबाट हेरेर चर्चा ग¥यौं, हेर्‍यौं भने त्यसलाई समाधान गर्न पनि सजिलो हुन्छ । त्यसरी जाँदा विभेदको कारणहरू पनि पत्ता लगाउन सजिलो हुन्छ ।

स्रोतसाधनमाथि पहुँचको असमानता जहाँतहीँ हुन्छ । हामीले सिङ्गो नेपालभित्र देखिएको समस्यालाई कर्णालीभित्र राखेर हेर्दा के देखिन्छ त ? कर्णालीको असमानता कस्तो छ त भनेर हेर्ने हो । कर्णालीभित्र पनि शिक्षा, स्वास्थ्य, रोजगारी, आम्दानी वा अन्य अवसरमा असमानता होला । यसरी हेर्दा तुलनात्मक रुपमा कर्णाली पछाडी परेको देखिन्छ ।

कर्णालीमा यो खालको असमानता हिजो पनि थियो । उदाहरणको लागि त्यति बेलाका धनीहरू, हुने खानेहरूको घर तीन–चार तला हुन्थ्यो । कमजोर घरपरिवारहरूको दुई तले हुन्थ्यो । सँगसँगै त्यो बेलाको उत्पादन गर्ने जमिनमा समेत असमानता हुन्थ्यो । यदि हामीले घरभित्र पनि के कुरा पाक्थ्यो भनेर हे¥यौं भने, कहीँ चामल पाकेको हुन्थ्यो होला, कहीँ कोदो पाकेको हुन्थ्यो होला । अहिलेको अवस्था हिजोजस्तो छैन । आजको बाडो बेग्लै छ । घरहरू अलग अलग छन् । स्रोतसाधनमा पहुँच र प्रविधिको प्रयोगले धेरै परिवर्तन ल्याएको छ । तर आधुनिकताले जन्माएको प्रविधि र अवसरबाट पनि केही अझै वञ्चित छन् । त्यहाँ बढी असमानता छ ।

त्यसकारण अबको प्रश्न भनेको जो माथि पुग्न सकेन त्यो किन पछाडि पर्याे भन्ने हो । अर्काेतिर असमानतासंगै विभेद पनि छ । कर्णालीमा जातीय, लैंगिक तथा वर्गीय विभेद कायमै छ । विभिन्न सामाजिक मान्यता र कुरीति अभ्यासमा छन् । विभेदको जरा स्रोतसाधन र अवसरको पहुँचसँग मात्र जोडिएको छैन । यो हाम्रो समाजमा कहीँ न कहीँ बलियो भएर रहेको मूल्य मान्यता र त्योसँग जोडिएको आस्था र विश्वाससँग जोडिएको कुरा पनि हो ।

वास्तवमा चेतना फेरिने भनेको हाम्रो आस्था वा सोचमा परिवर्तन आउनु हो । त्यो सोचले मात्रै हाम्रो व्यवहारमा परिवर्तन ल्याउने हो । त्यसकारण हाम्रो समाजमा पहिलेदेखी नै दलित र गैरदलितबीचको सम्बन्धको स्वरूप रह्यो । त्यो सम्बन्धको स्वरूपमा परिवर्तन ल्याउन जरुरी छ । परिवर्तनका लागि अवसर र पहुँचमा सबैलाई जोड्नुपर्‍यो ।

कर्णालीको विभेद र असमानतालाई सामान्यकृत गर्न सकिँदैन भन्ने लाग्छ । किनभने समाज विशेष र ठाउँ विशेष यी असमानताहरूको प्रकृति फरक–फरक छ । त्यसको स्वरूप फरक छ । त्यसकारण प्रदेश र स्थानीय योजनामा नै स्थानीय विशेषतालाई समेट्नुपर्छ । स्थानीय निकायको आवश्यकता महसुस त्यसैकारणले भएको हो । यसले खास खास ठाउँको समस्या केलाउन तथा स्रोत साधनको प्रयोगमा उचित नीति अवलम्वन गर्न सक्छ ।

हरेक समुदायका आ–आफ्नै समस्या र सम्भावना छन् । यसका लागि अनुसन्धानमा आधारित नीति र कार्यक्रम बनाउनु जरुरी छ । विशिष्ट समस्या समाधानका लागि विशिष्ट कार्यक्रम हुनुपर्छ । योजना कार्यान्वयनमा सकेसम्म स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्न सक्ने हो भने त्यसले आत्मनिर्भरता पनि बढाउँछ । हिजोको बाडो निश्चित वंशज वा खास थरमा आधारित हुन्थ्यो भने आजको बाडो मिश्रित प्रकृतिको छ ।

कतिपय सहरहरूमा एउटाको घरको माथि अर्काेले घर बनाउने चलन पनि छ । जग्गा सिमित हुँदै जाँदा भोलिका दिनमा हाम्रा विभिन्न सहरहरूमा पनि यस्तो नहोला भन्न सकिन्न । त्यो अवस्थामा पनि कर्णालीको बाडो, थाडो र ओटालोको विचार सान्दर्भिक नै हुन्छ होला ।

(गौतम समाजशास्त्री हुन् ।)

 


विभेदका बाछिटा

गोविन्द नेपाली

कर्णालीमा दर्जनौं विभेदहरू छन् । महिला–महिला बीचको विभेद, छुवाछुतको विभेद, धनी–गरिबबीचको विभेद, शिक्षित–अशिक्षित बीचको विभेद आदि । त्यसमा मुख्य विभेद बाडो, थाडो र ओटालोबीचको विभेद हो । मुख्यतया पानी चल्ने र नचल्ने बीचको विभेद हो ।

कर्णालीमा ठकुरीहरू छन् । ठकुरीहरूको बाडो, थाडो र ओटालो आफ्नै छ । क्षेत्रीहरू छन् । उनीहरूको पनि आफ्नै बाडो, थाडो र ओटालो छ । तामाङहरूको आफ्नै छ । दलितहरूको पनि आफ्नै छ । त्यसैले त्यो तीनवटा चिजलाई हेर्दा मन मिलेको छ । पानी चल्ने चल्नेको जात पनि मिलेको छ । उदाहरणको लागि क्षेत्रीहरूको बस्तीमा क्षेत्रीहरूकै बाडो, थाडो र ओटालो मिल्छ तर दलितसँग मिल्दैन । त्यहाँ विभेद भयो । दलितभित्र पनि पानी चल्ने र नचल्ने छ ।

कर्णालीमा बाडो, थाडो र ओटालोले सामाजिक परिवेशलाई एक किसिमले बन्धनमा बाँध्यो जुन सकारात्मक पक्ष हो । तर त्यसले कहाँ विभेद ल्याइदियो त भन्दा जसको पानी चल्दैन त्यो जहिले पनि ओटालो अर्थात् घरको छतभन्दा माथि वा त्योभित्र जान पाउँदैन । जबसम्म ऊ त्योभित्र जान पाउँदैन उसले कहाँ महसुस गर्छ कि विभेद छैन भनेर ।

विभेदको कुरा गर्दा, जति मैले विभेद भोगेको छु त्यति अरुले भोग्नुपरेको छैन । कर्मले के गर्न सकिन्छ ? त्यति बेलाको इन्जिनियर एउटा दलित हो । जलसँग, जमीनसँग, वायुसँग दलितको कर्म जोडियो । दलितको धुन जोडियो । दलितको आश जोडियो । बास जोडियो । गास जोडियो । तर, दुःखले भन्नुपर्छ दलितको पानी जोडिएन ।

विभेदको अन्त्य गर्न विभेदको मूल जरालाई मैले चार एस (फोर एस) का आधारमा विश्लेषण गर्ने कोसिस गरेको छु । पहिलो, कर्णालीमा सीपलाई विभेद गरियो । पूजापाठ गर्नेलाई माथि राखियो ।

दोस्रो, समाजलाई उत्थान कसरी गर्ने भन्दा पनि समाजबाट ज्ञान कसरी लिने त्यो ज्ञानलाई आफूले ग्रहण गरेर मोज कसरी गर्ने भन्ने बारेमा सोचियो । तेस्रो, स्थिरता र आम्दानी सिर्जनालाई मुख्य पेसासँग जोडिएन । त्यो नजोडिएको कारणले दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था तल प¥यो । जसले गर्दा दलितमाथि आउन सकेन । ठूलो विभेद आयो । चौथो, सीप र जातलाई भिन्दा–भिन्दै राखियो । इन्जिनियरिङलाई सीपसँग जोडेको भए जाति हुन्थ्यो । सबै मानव एउटै हो ।

विभेद मिल्नलाई आत्मा मिल्नुपर्छ र चेतनाको ज्ञान फुक्नुपर्छ । जब चेतनालाई हामीले माथि उठाउन सकेनौं र यो चार ‘एस’लाई ठीक ठाउँमा लागू गर्न सकेनौं भने विभेद कायमै रहन्छ । विभेद न्यूनीकरणका लागि पहिले सीप र ज्ञानको लेनदेन हुनुपर्छ । जसले विभेदलाई एक किसिमले न्यूनीकरण गर्छ । यो कुरा राज्यको योजना प्रक्रियामा आउनुपर्छ । दोस्रो, चाहिने कुरालाई सहज तरिकाले, सहज ठाउँमा लिनका लागि सह अस्तित्वसहित सहभावनासहित उपचार हुनु जरुरी हुन्छ ।

तेस्रो, भावना–भावनाद्वारा भएको ज्ञान हस्तान्तरण हुनुपर्छ । त्यसले एक किसिमको सहजता ल्याउँछ र विभेद न्यूनीकरण गर्न सजिलो हुन्छ । चौथो, जुन हामीहरू एउटा वर्ग भित्र जालजस्तै भएर बसिराखेको छ, त्यो जालबाट उन्मुक्ति दिनुपर्छ । यी कुराहरूलाई विचार गरियो भने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।

कर्णाली प्रदेशमा चार लाख दुई हजार बढी दलित जनसंख्या छ । जुन प्रदेशको कुल जनसंख्याको २३.७ प्रतिशत हो । मैले यहाँ बोलिरहँदा एक जना गोविन्दको भाव बोलेको होइन यी सम्पूर्ण कर्णालीका दलितहरूको भावनाको प्रतिनिधित्व गरेर बोलेको हो ।

(नेपाली अध्येता हुन् ।)

 


(ऋति फाउण्डेसनको आयोजनामा २०७७ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को दोस्रो संस्करणको पहिलो ‘सत्र ‘बाडो, थाडो र ओटालो’का वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी । उत्सवका अन्य सत्रमा व्यक्त विचारहरू पनि क्रमशः प्रकाशित हुनेछन् ।)

प्रकाशित मितिः   ७ पुष २०७८, बुधबार ०५:०४