पराजित भए थानी

सुर्खेत: नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थानी एक मतअन्तरले पराजित भएका हुन् ।

मंगलवार साँझ सम्पन्न मतगणनामा थानीले दुई हजार एक सय ९९ मत प्राप्त गरे । दुई हजार दुई सय मत पाएर कर्णबहादुर बुढा थानीलाई पछि पार्दै केन्द्रीय सदस्यमा निर्वाचित भए ।

यस्तै राजिवविक्रम शाह पनि कर्णाली प्रदेशबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले दुई हजार आठ सय २० मत पाएका छन् । प्रदेशबाट खुलातर्फ दुई जना केन्द्रीय सदस्यमा शाह र बुढा निर्वाचित भएका हुन् । उनीहरू दुवैजना सभापति शेरबहादुर देउवा समूहका हुन् ।

सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थानीसँगै दिनबन्धु श्रेष्ठ पनि पराजित भए । महिला सदस्यामा जानकी सिंह निर्वाचित भएकी छिन् । उनले दुई हजार ६ सय २४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी मैना कार्कीले एक हजार नौ सय ५५ मत पाएकी छिन् ।

यसअघि पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीको उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि पराजित भएका थिए । पूर्वमहामन्त्री पूर्णबहादुर खड्का भने उपसभापतिमा निर्वाचित भइसकेका छन् । महिलातर्फबाट खुला केन्द्रीय सदस्यमा कर्णालीबाटै रंगमति शाही विजयी भएकी छिन् ।

प्रकाशित मितिः   ७ पुष २०७८, बुधबार ०५:०२