बेपत्ता चन्द्रेको अवस्था अझै अज्ञात

सुर्खेत: एक साताअघि बेपत्ता भएका हुम्लाका चन्द्रे कामीको अवस्था अझै अज्ञात छ । खोजी कार्य भइरहे पनि अत्तोपत्तो लागेको छैन । यसैबीच चन्द्रेको अवस्था सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला कार्यसमिति सुर्खेतले कामीको अवस्था सार्वजनिक गर्न माग गर्दै मंगलवार वीरेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

सहभागीहरूले चन्द्रे कामीको अवस्था सार्वजनिक गर, जात व्यवस्था मुर्दावादलगायतका नारा लेखिएका पर्चासहित प्रदर्शन गरेका हुन् । जात व्यवस्था उन्मूलन मोर्चा सुर्खेतकी संयोजक अस्मिता बादीले सरकारले चन्द्रे कामीको खोजीमा पनि विभेद गरेको बताइन् । चन्द्रे कामी दलित भएकैले उनको खोजीमा सरकारले तदारुकता नदेखाएको उनको दाबी छ । ‘यदि चन्द्रेको पछाडि कामी हुन्थेन भने सरकारले खोजी कार्यमा तदारुकता देखाउँथ्यो होला,’ बादीले भनिन्, ‘दलित भएकाले सरकारले खोजी कार्यमा पनि विभेद र बेवास्ता गरेको छ ।’ बेपत्ता पारिएका चन्द्रे कामीको स्थिति तत्काल सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम गर्ने उनले बताइन् ।

मुगुकी रमिला मल्ल (सुन्तली) सँग भागीविवाह गरेका चन्द्रे २९ मंसिरदेखि बेपत्ता छन् । उनलाई केटी पक्षले नै बेपत्ता पारेको परिवारको दाबी छ । १५÷२० जनाको समूहले मध्यराति छरछिमेकीको घरमा समेत तालाबन्दी गरी चन्द्रे र सुन्तलीलाई लिएर गएको नातामा चन्द्रेका दाइ पर्ने गगन लोहार बताउँछन् ।

प्रकाशित मितिः   ७ पुष २०७८, बुधबार ०५:०१