प्रक्रियाबाटै संशोधन प्रस्ताव असफल बनाउन चुनौती

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रक्रियाबाटै संविधान संशोधन प्रस्ताव असफल बनाउन एमालेलाइ चुनौती दिएका छन् । प्रस्तावको विरोधमा संसदलाई बन्धक बनाउनुभन्दा प्रक्रियामा गएर त्यसलाई विफल पार्न प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरुलाई उनले चुनौती दिएका हुन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कर्णाली नदीको पुल उद्घाटन गरेर फर्किएका मन्त्री लेखकले शनिबार वीरेन्द्रनगरमा आयोजित कांग्रेस कार्यकर्तासँगको भेटमा भने, ‘संसदलाई कुण्ठित पारेर मुलुकलाई गम्भीर दुर्घटनामा धकेल्न खोजिएको छ । एमाले स्वयंका लागि समेत यो भूल हुनेछ ।’

उनले संशोधन प्रस्तावको विरोधमा सडकमा विरोध जनाउनुको कुनै अर्थ नभएको टिप्पणी गरे । ‘सकिन्छ भने प्रक्रियामा गएर विफल पार्नुस्’ एमालेतर्फ इंगित गर्दै मन्त्री लेखकले भने, ‘विगतमा कांग्रेस र एमालेबीच सहमति भएर आइसकेको प्रस्तावको अहिले विरोध गर्नुको कुनै अर्थ छैन ।’ उनले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री लेखकले दुईवटा अतिवादले देशलाई द्वन्द्वलाईतर्फ धकेलिरहेको आरोप लगाए । ‘एउटा अतिवादले अहिलेको संविधानलाई कागजको खोस्टो हो भन्छ, अर्कोथरी अतिवादले संविधानलाई कुनै पनि हालतमा चलाउनु हुन्न भन्छ’ उनले भने, यी दुवै अतिवादले मुलुकलाई विखण्डनतर्फ धकेलिरहेको छ ।’ मन्त्री लेखकले शनिबार पूर्वीसुर्खेतको रामघाटस्थित भेरी नदीको पुल शिलान्यास गरेका छन् ।