अर्को असफल योजना

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्यायो । दुध उत्पादक कृषकलाई अनुदान दिने योजनाअनुसार कार्यक्रम बनाइएको हो । त्यसका लागि प्रदेशभर एक करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । तर विडम्बना के छ भने आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म उक्त अनुदान कार्यक्रम कार्यान्वयनमा गएको छैन । अहिलेसम्म एक जना किसानले पनि अनुदान रकम पाएका छैन् । प्रदेश सरकारले घोषणा गर्ने तर कार्यान्वयन हुन नसकेका अन्य योजना र कार्यक्रमजस्तै यो कार्यक्रम पनि अलपत्र परेको छ । हचुवाका भरमा कार्यविधि बनाइँदा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान दिने प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको हो ।

कार्यविधिअनुसार साविक कर्णालीका जिल्लामा किसानले उत्पादन गरेको प्रतिलिटर दूधमा १० र अन्य जिल्लामा तीन रूपैयाँ अनुदान दिने जनाएको छ । भूगोलअनुसार फरक अनुदानको व्यवस्था गरिएपनि कार्यविधि भने सबै जिल्लाका लागि एउटै छ । भूगोलमैत्री कार्यविधि नबनाउँदा किसानहरू अनुदान कार्यक्रममा समेटिन सकेका छैनन् । जिल्लाहरूको वास्तविक अवस्थाबारे अध्ययन नै नगरी हचुवामा कार्यविधि बनाइँदा लक्षित समूह अनुदानबाट वञ्चित हुने देखिएको हो । अनुदान पाउन कम्तीमा पाँच सय लिटर दुध उत्पादन गरेको हुनुपर्ने र उत्पादित दूध संस्थागत रूपमा बिक्री गर्नुपर्ने प्रावधान छ । यस्तो व्यवस्थाका कारण किसानहरूको ठूलो संख्या अनुदानबाट वञ्चित हुने भएको हो । हिमाली जिल्लामा ६ महिना पशुचौपाय पाटनमा बस्छन् । घरबारीमा घाँस अपुग हुने भएकाले चरनका लागि चौपाया पाटन लिने गरिन्छ । जसले गर्दा दुधमा अनुदान रकम पाउन किसानलाई मुस्किल हुने देखिन्छ । हिमाली जिल्लामा डेरी उद्योगसमेत छैनन् । त्यहाँ सरकारले तोकेको परिमाणमा दुध उत्पादन गर्नसमेत कठिन छ । कार्यविधिमा संस्थागत तथा डेरी उद्योगमा दूध बिक्री गरेको हुनुपर्ने पनि भनिएको छ ।

झन्झटिलो कार्यविधिका कारण लक्षित कृषकहरू पनि अनुदान कार्यmमप्रति आकर्षित हुन सकेका छैनन् । न त सरकारले नै अनुकुल कार्यविधि बनाएर योजना कार्यान्वयनमा ध्यान दिएको छ । कुनै पनि योजना र कार्यक्रम बनाइसकेपछि त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्दछ । प्रभावकारी कार्यान्वयनविनै कुनै पनि योजना सफल हुन सक्दैन । तर कर्णाली प्रदेश सरकार विगतदेखि नै योजना कार्यान्वयनमा चुक्दै आएका छ । जसले गर्दा असफल योजनाहरू थपिदै गएका छन् ।

प्रकाशित मितिः   ६ पुष २०७८, मंगलवार ०५:०४