प्रदेश अधिवेशनको तयारीमा एमाले
सुर्खेत: नेकपा (एमाले) ले माघ ८ गते कर्णाली प्रदेश अधिवेशन गर्ने भएको छ । आइतवार वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन तयारीलगायतका विषयमा छलफल गरेको छ । बैठकले अधिवेशन तयारीसँगै अन्य समसामयिक विषयमा निर्णय गरेको एमाले केन्द्रीय सदस्य दल रावलले बताए । बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ‐अपानी) कार्यान्वयन, कार्यालय सञ्चालनलगायतमा छलफल गरिएको हो । ‘आजको बैठकले नौ वटा प्रस्ताव पास ग¥यो,’ रावलले भने, ‘आफ्ना अधिवेशनदेखि सरकारलाई खबरदारी गर्नेसम्मका निर्णय भएका छन् ।’ उनकाअनुसार अहिलेको गठबन्धन सरकारमा बेथिति देखिएकाले त्यसको सुधारका लागि समेत प्रदेश कमिटी बैठकले सुझाव दिने निर्णय गरेको छ ।
वीरेन्द्रनगरमा हुने एमालेको प्रदेश अधिवेशनमा झन्डै सात सय जनाको सहभागिता रहने केन्द्रीय सदस्य रावलले जानकारी दिए । एमालेले अधिवेशनका लागि भूगोलबाट एक सय ५० बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । त्यसमा एक तिहाइ महिला प्रतिनिधि रहनेछन् । प्रदेशभरबाट यसरी करिब चार सय प्रतिनिधि आउनेछन् भने आयोजक कमिटी, अतिथि र पर्यवेक्षक गरी सात सयको हाराहारीमा अधिवेशनमा सहभागी हुने जनाइएको छ । प्रदेश अधिवेशन बन्द हलमा गरिने र आमसभा नहुने जनाइएको छ । एमालेले जिल्ला अधिवेशनहरू भने यही पुस २३ गते गर्न लागेको छ ।
प्रकाशित मितिः ५ पुष २०७८, सोमबार २०:२९
साझा बिसौनी ।