विद्यार्थीलाई आजदेखि खोप

सुर्खेत: विद्यार्थीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप दिइने भएको छ । कर्णालीका सुर्खेतबाहेक नौ जिल्लामा आज (आइतवार)देखि खोप दिइने भएको हो । विद्यार्थीका लागि विद्यालयमै कोरोनाविरुद्धको खोप उपलब्ध हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । पहिलो चरणको मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइने छ  । १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने तयारी गरिएको निर्देशनालयले जनाएको छ । त्यस्तै, साविकको गाविसहरूमा नौ वटा केन्द्र र पालिकाको प्रत्येक वडामा दुई वटा खोप केन्द्रसमेत रहने छन् ।

कर्णालीका नौ जिल्लामा १२ देखि १८ वर्ष उमेर समूहकालाई मोडर्ना खोप दिइने भएको हो ।

निर्देशनालयका अनुसार कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार आठ सय ७२ बालबालिकालाई खोप दिइने छ । २०६१ मंसिरदेखि २०६६ सालसम्म जन्मेकालाई यो खोप दिन लागिएको हो । १२ वर्ष उमेर पुगेका र १८ वर्ष ननाघेकाले मात्र यो खोप पाउने छन् । खोपको द्रोसो मात्रा माघ दुई गते देखि १२ गतेसम्म दिइने छ । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका र विद्यालयका शिक्षक पनि रहने छन् । प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रूकुम–पश्चिम र सल्यानमा मोडर्ना खोप दिइने निर्देशनालयले जनाएको छ । यसअघि सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको पहिलो मात्रा
दिइसकिएको छ ।

प्रकाशित मितिः   ४ पुष २०७८, आईतवार १०:३०