जिल्ला लिग अनिश्चित

सुर्खेत: जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको दोस्रो चरण अनिश्चित बनेको छ पुस १ गतेदेखि सञ्चालन गर्ने भनिएको लिग अझै सुरु हुन सकेको छैन । कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने समेत टुङ्गो लागेको छैन ।

मैदान अभावका कारण समस्या भएको आयोजक सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ । संघका महासचिव गणेशकुमार कार्कीले वीरेन्द्रनगर रंगशालाको मर्मत कार्य सुरु भएकाले लिग सञ्चालनको कार्यतालिका प्रभावित भएको जनाए । अहिले रंगशाला स्तरोन्नतिको काम चलिरहेको छ ।

वैकल्पिक मैदान नहुँदा लिग सञ्चालनमा समस्या भएको हो । विकल्पका रूपमा सैनिक आवासिय विद्यालयको मैदानमा खेल सञ्चालनको तयारी भइरहेको संघका महासचिव कार्कीले जानकारी दिए । उनका अनुसार अहिले सैनिक आवासियक विद्यालयको खेल मैदानमा लिग सञ्चालनका लागि आवश्यक मर्मत कार्य भइरहेको छ । ‘मैदान मर्मत कार्य भइरहेको छ’ उनले भने, ‘अबको एक÷दुई दिनमा टुङ्गो लाग्नसक्छ ।’

चार वर्षपछि जिल्ला लिग हुन लागेको हो । यसअघि २०७४ मा जिल्ला लिग भएको थियो । जसको उपाधि एबीसी स्पोर्टस्ले जितेको थियो । त्यसपछि कोरोना महामारीका कारण लिग सञ्चालन हुन सकेन ।

यस वर्ष लिगको दोस्रो चरणमा १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजन शीर्षस्थानमा रहेका ६ र यस वर्ष नकआउट चरणबाट छनोट भएका ६ क्लबबीच लिग उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो । समूह ‘ए’ मा साविक विजेता एबीसी स्पोर्टस् क्लबसहित बाबियाचौर सपोर्टस् क्लब, ब्वाइज युनियन, सिर्जनशील युवा क्लब, वीरेन्द्रनगर स्पोर्टस् र जीअल क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा काँक्रेविहार क्लब, फ्रेण्डसिप स्पोर्टस्, जीवनज्योति युवा क्लब, सिरमोर युवा क्लब, साथी खोर्के युवा क्लब र भैरवी युवा क्लब रहेका छन् ।

यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागिएको हो । दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने १२ मध्ये अंकतालिकाको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्नेछन् । ति दुई टिमले अर्को सिजन पुनः नकआउट चरण खेल्नुपर्ने छ ।

प्रकाशित मितिः   ४ पुष २०७८, आईतवार १०:२९