‘अपरिचित अनुहार’माथि विमर्श

सुर्खेत: महेश पौड्यालद्वारा लिखित पुस्तक ‘अपरिचित अनुहार’माथि विमर्श गरिएको छ । फ्यूचर नेपालको आयोजनामा शनिवार वीरेन्द्रनगरमा उक्त कथा संग्रहमाथि छलफल गरिएको हो ।

कार्यक्रममा डा. नवराज केसीले ‘पुस्तक किन पढ्ने ?’ विषयमा आफ्नो धारणा राखेका थिए ।bकार्यक्रममा साहित्यकार तथा गितकार गोविन्द कंडेल ‘आँसु’ले अपरिचित अनुहारले समाज बोलेको बताए । पुस्तकबारे टिप्पणी गर्दै नेहा बस्नेतले अपरिचित अनुहारमा अधिकांश मनोवैज्ञानिक धारमा रहेर कथाहरू लेखिएको बताइन् । ‘सामाजले कुनै स्थान नै नदिएका पात्रहरूलाई नायक बनाएर कथाकारले संक्षिप्त कृती रचना गरेका छन,’ उनले भनिन् ।

त्यस्तै अर्का टिप्पणीकर्ता मध्यपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक तथा लेखक बासुदेव पाण्डेले किताबमा मान्छेका कथा मात्र नभएर जीवन, जगत, मनोविज्ञान, दर्शन र समाजको गतिलो चित्रण भएको बताए । कृतीले समाजको वास्तविक ऐनालाई प्रतिबिम्वित गरेको उनको भनाइ थियो ।

साहित्यकार पहल असिम थापाले अपरिचित अनुहार सम्झिँदा आफ्नो विगतलाई सम्झिएको बताए । ‘लेखकहरू भावुक, रुन्चे हुन्छन् भनिन्छ, अब हामी जस्तो लेख्न चाहनेहरूले के रुन्चे साहित्यबाट बाहिर निस्किएर साहित्य लेख्न सक्छौं ?’ भन्दै उनले प्रश्न गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै लेखक तथा समालोचक महेश पौड्यालले आफूले कथा फरक धारमा रहेर लेख्ने गरेको बताए । ‘एकपछि अर्को किताब लेख्दै गर्दा सरलतातर्फ ध्यान दिन खोजेको हुँ,’ उनले भने, ‘कथाहरू आँसुहरू पुछ्नका लागि, स्याबासी दिनका लागि पनि हुन् । मान्छेलाई अल्मल्याउनका लागि धेरै साहित्य लेखिन्छन् ।’ पौड्यालले सरलताको खोजी नै अपरिचित अनुहार भएको तर्क गरे । जिज्ञासाहरूको जवाफमा उनले थपे, ‘कथामा कौतुहल्ता नहुने हो भने कथानै हुँदैनन् । प्रेम साहित्य पढ्दै गएको व्यक्तिले अपरिचित अनुहार पढ्ने हो भने सुकेको काठजस्तो पाउँछ । प्रेरणा कता मिल्छ पाठकले त्यतै तर्फ ढल्न सक्नुपर्छ ।’

कर्णालीको पठन संस्कृतिमा एउटा इटा थप्ने प्रयास स्वरूप कार्यक्रम गरिएको आयोजक फ्यूचर नेपालका अध्यक्ष यज्ञ खत्रीले बताए । प्रविधिको प्रयोग बढ्दै जाँदा पुस्तक पठन संस्कृति ओझेलमा परेकाले यसलाई थप प्रबद्र्धन गर्न कार्यक्रम गरिएको उनले जनाए । कार्यक्रमको सहजिकरण फ्यूचर नेपालका सचिव आदर्श विक्रम सिंहले गरेका थिए ।

प्रकाशित मितिः   ४ पुष २०७८, आईतवार १०:२७