कर्णाली पराजित

सुर्खेत: प्रधानमन्त्री (पीएम) कप महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले खराब सुरुवात गरेको छ । शनिवार भएको उद्घाटन खेलमा कर्णाली प्रदेश नं. १ सँग पराजित भएको हो ।

कर्णाली प्रदेशलाई एक सय ६० रनले पराजित गर्दै प्रदेश नं. १ ले भने सानदार सुरुवात गरेको हो । फाप्ला क्रिकेट मैदानमा एक सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रनमा अलआउट भयो ।

कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् । प्रदेश नं. १ की अलिशा खडियाले ५ विकेट हात परेपछि कर्णाली सस्तैमा समेटियो । अलिशाले ४ ओभर बलिङ गर्दै ३ मेडेन ओभर फाल्दै मात्र १ रन खर्चिन् । संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर एक सय ६६ रन बनायो । कप्तान रूबिना क्षेत्रीले १० चौकाको मद्दतले सर्वाधिक ७६ रन जोड्दा अप्सरी बेगमले ६२ बलमा अविजित ६१ रनको योगदान गरिन् । कर्णाली प्रदेशकी दिब्या धामीले २ विकेट हात पारिन् ।

प्रकाशित मितिः   ४ पुष २०७८, आईतवार १०:२६