सडक स्तरोन्नति थालियो

सुर्खेत: वीरेन्द्रनगर बजारको मुख्य सडक स्तरोन्नतिको काम अघि बढाइने भएको छ । सडक विस्तारका लागि विद्युतका पोल तथा तार हटाउन आज (शनिवार) देखि सुरू गरिने भएको छ । यसक्रममा मंगलगढीदेखि गणेशचोकको मुख्य सडकमा पर्ने विद्युत लाइनको व्यवस्थापन गरिने भएको हो । ११ मिटरका ४५ वटा तथा ८ र ९ मिटरका ३३ वटा पोलका साथै तारहरू हटाइने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज गिरीले जानकारी दिए ।

मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडकमा पर्ने विद्युत लाइनको व्यवस्थापन गरिने भएको हो ।

उक्त कामको जिम्मा रेस कन्ट्रक्सन प्रा.लि.ले लिएको छ । ठेकेदार कम्पनीसँग मंसिर २९ मा भएको सम्झौताअनुसार एक महिनामा यो क्षेत्रमा पर्ने विद्युतका पोल तथा तार हटाइसक्नु पर्ने छ । सडक निर्माणपछि पुनः पोल तथा तार हाल्ने कामको पनि सम्झौता गरिएको छ । दुई चरणकै कामका लागि रेस कन्ट्रक्सनले ६ लाख ४६ हजार ६ सय ६९ रूपैयाँमा सम्झौता गरेको हो । वितरण केन्द्र प्रमुख गिरीले पोल हटाउनका लागि आवश्यक सामान वितरण केन्द्रले नै व्यहोर्ने बताए । ‘सामान हामी आफैँले खरिद गर्ने हो,’ उनले भने, ‘ज्यालाको लागि मात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।’ पोल हटाउँदा बजार क्षेत्रका केही ठाउँमा विद्युत अनियमित हुनेछ । अन्य क्षेत्रमा असर नपर्नेगरि पोल तथा तार हटाउने तयारी गरिएकाले लामो समय र धेरै ठाउँमा त्यसको असर नपर्ने वितरण केन्द्रले जनाएको छ ।

मंगलगढीदेखि गणेशचोकसम्म हाल सात मिटर चौडा सडक छ । त्यसलाई बढाएर १५ मिटर चौडाइ बनाउन लागिएको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्यबहादुर ऐडीले बताए । मंगलगढी–गणेशचोकको सडक निर्माणका लागि खड्का निर्माण सेवा बाँकेसँग भदौ १७ गते नै सम्झौता भइसकेको छ । साढे १३ करोडमा सडक निर्माण गर्नेगरी सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ । विद्युत र खानेपानीका संरचना हटाउन ढिलाइ हुँदा सम्झौता गरेको लामो समयसम्म सडक स्तरोन्नतिको काम अघि बढेको छैन । विद्युत र खानेपानीको व्यवस्थापन गरेपछि सडक विस्तारको काम थालिने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः   ३ पुष २०७८, शनिबार ०५:०३