मुख्यमन्त्री कांग्रेसको सहमहामन्त्रीमा पराजित

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको सहमहामन्त्रीमा पराजित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा उनी पराजित भएका हुन् ।
पीछडिएको क्षेत्रका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् । पाण्डे शेखर कोइराला समूका उम्मेदवार हुन् भने शाहीले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए ।
शुक्रवार सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले दुई हजार चार सय ११ मत ल्याउँदा शाहीले दुई हजार एक सय ३३ मत मात्र ल्याए । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा यसअघि केन्द्रीय सदस्य थिए ।
योसँगै कांग्रेसको पदाधिकारीको मतगणना सम्पन्न भएको छ । १३ सदस्यीय पदाधिकारीमा सभापति देउवा समूहको बहुमत पुगेको छ । उपसभापति पूर्णवहादुर खड्कासहित सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा पक्षबाट निर्वाचित भएका छन् ।
त्यस्तै डा. शेखर कोइराला पक्षबाट उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार पदाधिकारीमा निर्वाचित भएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
प्रकाशित मितिः ३ पुष २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।