विचार

बदनामीको भारी

‘नेता आयो भने मान्छेले नाम सम्झिन्नन् कुन चोर आएछ भन्छन्’ गत मंसिर २४ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य दिँदै बोलेका विचारमा समर्थन गरेर भेलामा उपस्थित हजारौं–हजार जनाले एक स्वरमा भने, ‘ठिक, हो ।’

मन्तव्यका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालो आयो । ‘अघि विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले गाउँघरमा नेता आयो भने चोर आयो भन्छन् भन्नुभयो, तपाईंहरूले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’

‘हो..हो..!’ प्रचण्डलाई एउटै स्वरमा जवाफ दियो विशाल जनसमूहले ।

‘होइन’ हात नचाउँदै प्रचण्ड चिच्याए ।

‘हो !’ झन ठूलो आवाजमा चिच्यायो जनसमूह ।

‘यो गलत हो ।’

‘होइन, सहि हो ।’

‘यो केका निम्ति भनियो, जतिबेला लोकतान्त्रिक राजनीति दल र लोकतन्त्रका निम्ति संघर्ष गरेका, शान्तिका निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न खोजिन्छ त्यहाँ निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हुँदै छ भनेर बुझ्न जरुरी छ…।’ विषयलाई यसरी षड्यन्त्रको अनावश्यक रंग दिएर प्रचण्डले ज्ञान, सिद्धान्त र नैतिकता बाँड्न थाले । लामो समयदेखि आफ्ना कार्यकर्ता र सर्वसाधारणलाई मूर्ख बनाउन र दिग्भ्रमित पार्न प्रचण्डले आदर्श छाँटेर यस्ता खालका ज्ञान र नैतिकता बाँड्दै आइरहेका छन् ।

जनता माझ व्यक्त गरिने अभिव्यक्तिहरूमा पनि यथार्थता हुनुपर्छ । जनभावना समेटिनु पर्छ, केही अडान पनि हुनुपर्छ र विश्वास जगाउन सक्नुपर्छ । तर यहाँ एउटै विषयमा बिहानको अभिव्यक्तिलाई साँझको आफ्नै अभिव्यक्तिले खण्डन गर्दा समेत हेक्का नपाउने पार्टीका नेताहरू छन्, जो आफुलाई राजनेता भन्न र भनाउन औधी मन पराउँछन् । मौसम र परिस्थिति अनुसार बोली बदल्दै हिँड्ने बिचलित मनोवृत्तिका नेतालाई जनताले भर पत्यार मान्छन् ? कदापि मान्दैनन् । दलका नेताहरूप्रति जनतामा कति धेरै घृणा छ, तिनको व्यवहारप्रति कत्रो वितृष्णा छ भन्ने एउटा ज्वलन्त नमुना थियो कांग्रेसको महाधिवेशनमा लिङ्देनले उठाएको ‘चोर काण्ड ।’

‘भर्खरै जन्मेको बाच्छो बढी कुद्छ’ भन्दै नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि लिङ्देनमाथि कटाक्ष गरे, प्रतिशोधमा तितो फाले । हिजोका दिनमा ‘सरकार प्रधानमन्त्री बनाइ पाउँ’ भन्दै बिन्तिपत्र हाल्ने र दाम राखेर राजालाई ढोग गर्ने नेताको गर्जन छुट्टै थियो । राजाले राजनीति गर्ने भए पार्टी खोले हुन्छ नत्र व्यापार गरे हुन्छ भन्दै चुनौती दिइरहेका थिए । आज जसले जतिसुकै ठूला कुरा गरे पनि विगतको कालो कलंक मेटिएको छैन र निन्दनीय गतिविधि जनताले भुलेका पनि छैनन् ।

‘चोरको खुट्टा काट’ भन्दा चोरले आफ्नो खुट्टा ताने झैं एकाएक अघोषित रूपमै पनि कम्युनिष्ट नेताहरूको यसमा मतऐक्यता देखिन आयो । केपी ओली अध्यक्षमा निर्वाचित हुँदा अवश्य एमाले पार्टीभित्र केही खुसीयाली छाएको हुँदो हो तर लिङ्देन निर्वाचित हुँदा देशैभरी छाएको थियोे खुसीको माहोल । आज जनताले के खोजेका छन् र राजनीतिमा के परिवर्तन चाहेका छन् भन्ने कुरा बदनामको भारी बोकेका नेताले बुझेर पनि बुझ पचाइरहेका छन्, किनकि आफ्नो पद र प्रतिष्ठा जोगाउनु छ र फोस्रो रवाफ पनि देखाउनु छ ।

यदि विनाकारण कसैले चोर भनेर इज्जत नोक्सान पार्न खोजेको हो भने कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सक्नु प¥यो । होइन भने बेकारको दन्तबझान छोडेर आफ्नो आचरण सुधार्नु प¥यो । पद र प्रतिष्ठाका लागि आपसमा जुँगाको लडाइँ चले पनि लुटेर खाने सवालमा सबै पार्टी मिलेको घटनाहरू पनि टाढा छैनन् । चर्चित वाइड बडी जहाज खरिदमा चार अर्ब रूपैयाँ भ्रष्टाचार भएको तथ्य लेखा समितिले औंल्याउँदासमेत पनि कोही कसैलाई कुनै कारबाही गरिएन । बरु ‘तैं चुप मै चुप’ हुँदै सत्ता पक्ष र प्रतिपक्षको मिलेमतोमा विषयलाई दामदुम पारेको जनताले हेरिरहे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बहालवाला मन्त्रीले कमिसन बापत ७० करोड सिधै घुस मागेको कुरा अडियो रेकर्डमा आयो । टेलिभिजन सञ्चार माध्यममा व्यक्ति स्वयम् उपस्थित भएर अन्तरवार्ता दिए । कसैलाई केही कारबाही भएन । गायव पारिएको ३३ किलो सुन काण्ड, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ओम्नी काण्ड, एनसेलको राजस्वमा लाभकर छली काण्ड, नेपाल आयल निगम जग्गा खरिद काण्ड इत्यादिलाई काण्डै काण्डलाई सुखी नेपाली समृद्धि नेपाल नामको बर्कोले ढाकिदियो ।

कर्णालीका दुरदराज गाउँ बस्तीमा ज्वरो आउँदा सिटामोल र पखाला लाग्दा जिवनजल नपाएर मान्छेले मृत्युवर्ण गरेका कुरा घरीघरी खबरमा आउँछन् र त्यत्तिकै सेलाउँछन् । राजधानीतिर दलका सरदारहरूले भित्राङ्ग सडेको भनेर राज्यकोषबाट मनपरि ढुकुटी झिक्छन् । बिदेशी महङ्गा अस्पतालमा उपचार गराउँछन् । बाँकी रहेको रकमले घर घडेरी जोड्छन् । अस्पतालमा सुते बापत राज्यले तक्मा दिन्छ । कसले बनायो त राज्यलाई यति निरिह ? यतामुखी कहिले सोच्ने त चोर भनेको मनै नपर्ने स्वघोषित असल नेताहरूले ?

जनयुद्धका नाममा ललाएर फकाएर उल्काएर सर्वसाधारण युवालाई लडाइँमा पठाइयो । तपाईंका छोराछोरी लडाइँमा आउँछन् कि आउंदैनन भनेर ती युवाले नेतालाई कहिल्यै सोधेनन् । बरु आफ्नो जीवन लडाइँमा नै उत्सर्ग गर्न तत्पर भए । हजारौं हजार जीवन खायो युद्धले । न्याय मागीरहेका घाइते अपाङ्गहरू अंझै युद्धको पीडा बोकि हिँड्न विवश छन् । उनीहरू कै त्याग र बलिदानबाट आएको परिवर्तनले युद्धरत नेताहरूलाई सत्तामा हुलिदियो । सत्ताको स्वाद पाए पछि परिवार र नातागोता बाहेक दुनियाँ देखेनन् तिनले । स्वार्थले जितेर खानु र सोहोर्नुमा मात्र एकाग्र बनायो मन । उर्जनशिल समय युद्धमा दिएका ती युवाहरू लगभग घर न घाटको भएको पनि नैतिकताले देखेन । जीवन निर्वाहका लागि देश छोडेर खाडी मुलुकमा जोतिन जानुपर्ने बाध्यता आयो परिवर्तनकामी लडाकुहरूलाई । उनीहरूले पाउनुपर्ने चार अर्ब रूपैयाँ हिनामिना पारिएको उजुरी अख्तियारमा नै विचाराधीन छ । अख्तियार निरीह छ, कारबाही गर्न सक्दैन, किनकि हिनामिना पार्ने नै सत्तामा छ्न मुड्की देखाउँछन् ।

आर्थिक अनियमितता भएका यस्ता तमाम उदाहरण छन् । जिम्मेवार शीर्ष नेता वा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यिनका नामै पोलेर सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लगाइरहेका छन् । उता फर्केर तातोजवाफ फाल्न सक्दैनन् तर लिङ्देनले उठाएको विषयमा भने यति चर्को आपत्ति गर्छन् । यसकारण सर्पको खुट्टा सर्पले देख्छ भन्ने उखान सार्थक हुन जान्छ । व्यवहारले घात गरेर मात्रै होइन अलछिन छुचो मुखले बोलेर पनि पोलिरहेको छ जनताको मन । यिनै बदनाम पात्रका कारणले देश आज यति जर्जर अवस्थामा पुगेको छ । दोषीलाई खोजी कारबाही गर्ने निकायहरू सबै निरीह छन् किन कि सबै सबै ठाउँमा दलको दख्खल पसेर पार्टीकरण भएको छ । यिनको इशारा संकेत र निर्देशनले ती निकायहरू लाई अपाहिज बनाएको छ । त्यसैले त अदालत आज अदालत जस्तो छैन, संसद् पनि संसद् जस्तो छैन ।

राज्यको सबै अंग तहसनहस पारिएको छ किन कि लुटको स्वर्ग ढल्ला भन्ने ठूलो चिन्ता छ बदनाम पात्रहरूलाई । तब त स्वार्थमा एकै आवाज मिसाएर कराउँछ्न उनिहरू । भन्छन् ठूलो त्याग र बलिदानबाट जनताले प्राप्त गरेको उपलब्धि जोगाउन आउ जनता हाम्रो पछि लाग । हामीलाई शंका नगर । मिडियामा आएका कुरा नपत्याउ । अन्यत्र ध्यान नदेउ, हामी बोलेको पूर्ण विश्वास लेउ । हामीले गरेको कुनै पनि कामको टिकाटिप्पणी नगर । हामी दुनियाँ भरीका मानिस मध्ये असल जातका हौं तिम्रा भाग्य बदल्न नेपालमा जन्म लिएका छौं ।

अहंकारले उमाल्दा दलका बदनाम मुखियाहरूमा राजा बन्ने धुन चढिरहेको छ । जुनसुकै मूल्यमा पनि सत्ता नै चाहिने महत्वाकांक्षाले सिद्धान्त र विचार आफू अनुकूल व्याख्या भैरहेको छ । नैतिकतामा ठूलो खडेरी परेको छ, जनतामा विश्वास मरेको छ । नैतिक धरातल सकिए पछि कसरी पो चल्ला राजनीति । सबैले समय बलवान हुन्छ भन्छन हेरौं भविष्यले कहाँ पु¥याउँछ कसरी कारबाही गर्छ ।

– उमालाल आचार्य

प्रकाशित मितिः   ३ पुष २०७८, शनिबार ०५:०४