राहतमै बेवास्ता

बेमौसमी वर्षाबाट पीडित किसानले पाएनन् राहत, क्षतिको विवरण संकलनमै दुई महिना, राहत पाउने अझै टुङ्गो छैन

सुर्खेत: बेमौसमी वर्षाले धान बाली क्षति भएका किसानले अझै राहत पाउन सकेका छैनन् । असोज अन्तिमदेखि कार्तिक पहिलो सातासम्म परेको अविरल वर्षाले नोक्सानी पुर्‍याएको बालीको विवरण संकलन गरी क्षतिको आधारमा संघीय र प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने भनिएको थियो । तर, क्षतिको विवरण संकलनमै दुई महिना बितेका छन् । सबै जिल्लाबाट अहिलेसम्म क्षतिको तथ्याङ्कसमेत आइसकेको छैन । जसले गर्दा किसानले राहत कहिले पाउने भन्ने अन्योल कायमै छ ।

कृषि विकास निर्देशनालयले जिल्लाबाट उपलब्ध विवरण प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ । राहत वितरण गर्नेबारे टुङ्गो भने लागेको छैन । निर्देशनालयका वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुुर रोकायले दुुई जिल्लाबाट क्षतिको विवरण अझै आइनसकेको जनाए । आठ जिल्लामा धानमा नोक्सानी भएको तथ्याङ्क संकलन भएको छ । ‘उपलब्ध भएका विवरण राहतका लागि मन्त्रालय पठाएका छौं,’ उनले भने, ‘राहत कति र कहिले पाउने भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।’

  • बेमौसमी वर्षाबाट पीडित किसानले पाएनन् राहत

  • क्षतिको विवरण संकलनमै दुई महिना

  • राहत पाउने अझै टुङ्गो छैन

प्रदेशभरको विवरण मन्त्रालयमा पुगेपछि मात्र किसानहरूले क्षति बमोजिमको राहत पाउने प्रक्रिया अघि बढ्ने छ । प्रदेशमा संकलन भएको विवरण संघीय सरकारलाई पनि पठाइने बताइएको छ । सोहीआधारमा संघीय र कर्णाली प्रदेश सरकारले राहत वितरण गर्ने छन् ।

अधिकांश जिल्लामा धान बालीमा भएको क्षतिको तथ्याङ्क मन्त्रालयमा आइसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूूचना अधिकारी रामभक्त अधिकारीले जनाए । उनका अनुसार बेमौसमी वर्षाले पु¥याएको नोक्सानीको राहतका लागि संघीय र प्रदेश सरकारले बनाएका कार्यविधि पास भइसकेका छन् । ‘प्रदेश सरकारले पनि राहत दिने भनेको छ,’ उनले भने, ‘अहिलेसम्म कति दिने भन्ने कुुनै जानकारी भने छैन ।’ मन्त्रालयमा राहत शीर्षकमा कुनै बजेट नरहेको उनी बताउँछन् । ‘सरकारले रकमान्तर गरेर वितरण ग¥यो भने होला, नभए मन्त्रालयमा राहतका लागि बजेट नै छैन,’ अधिकारीले भने ।

भिœयाउने बेलाको धान बाली सखाप भएपछि पीडामा रहेका किसानहरू राहतमा ढिलाइ हुँदा थप मर्कामा परेका छन् । सरकारले तत्कालको पीडा सम्बोधन गर्न किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेपनि त्यसको कार्यान्वयनमा बेवास्ता गरिएको हो । बेमौसमी वर्षाले कर्णालीमा किसानले भिœयाउने तयारी गरेको धानमा ठूलो नोक्सानी भएको थियो । वर्षापछि आएको बाढी र डुबानले प्रदेशभर १० हजार पाँच सय मेट्रिक टनभन्दा बढी धानमा क्षति पुु¥याएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

कर्णालीमा ३८ हजार पाँच सय २७ हेक्टर क्षेत्रफलमा धान खेती हुुँदै आएको छ । प्रदेशमा सरदर ८९ हजार मेट्रिक टन धान उत्पादन हुुन्छ । यसपटक बेमौसममा परेको पानीले प्रदेशमा १२ प्रतिशत धान बालीमा नोक्सानी पुगेको निर्देशनालयको तथ्याङ्क छ । धानसँगै अन्य बालीमा गरी त्यतिबेला ४२ करोड ५४ लाख ७४ हजार बराबरको क्षति भएको हो । सुर्खेतमा १२ हजार ६ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । यहाँ २३ हजार नौ सय १९ मेट्रिक टन धान उत्पादन हुुने आकलन गरिएकोमा दुुई हजार तीन सय ९२ मेट्रिक टन धान वर्षाले नोक्सानी गरेको विवरण छ । जिल्लामा ९५ लाख ६७ हजार ६ सय रूपैयाँ बराबरको कृषि उपजमा नोक्सानी भएको थियो ।

त्यस्तै, जाजरकोटमा तीन हजार ६५ हेक्टर क्षेत्रफलमा धान लगाइन्छ । वर्षाले जिल्लाभर ९९ मेट्रिक टन धानमा क्षति गरेको छ । दैलेखमा पनि बेमौसमी वर्षाले ठूलो क्षति गरेको थियो । त्यहाँ पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको जनाइएको छ । ८५ हजार हेक्टरमा धान लगाइएकोमा एक सय ६७ हेक्टर क्षेत्रफलमा पूर्णक्षति पुगेको हो । कृषि विकास कार्यालय दैलेखका अर्थ विज्ञ झलक भण्डारीका अनुुसार जिल्लाभरको क्षतिको विवरण तयार पारी पठाइसकिएको छ । भण्डारीले नोक्सानी भएको विवरणसहित एक करोड ८८ लाख ८५ हजार दुई सय रूपैयाँ राहतका लागि माग गरी पठाइएको जनाए ।

यस्तै, वर्षाका कारण जुम्लामा पनि धान बालीमा धेरै नोक्सानी भएको थियो । यहाँका विभिन्न स्थानमा लगाएको कालो मार्सीधानसँगै खेतका फाँट नै बाढीले बगाएको थियो । त्यहाँ अहिलेसम्म पनि किसानहरूको बालीमा पुगेको क्षतिको विवरण संकलन हुन सकेको छैन । पालिकाका कृषि प्राविधिकहरूले जिल्लामा क्षतिको विवरण उपलब्ध नगराएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । निमित्त कृषि विकास प्रमुुख भरतबहादुर बस्नेतले अहिलेसम्म किसानको बालीमा भएको क्षतिको तथ्याङ्क कार्यालयमा आएको छैन । स्थानीय तहहरूले विवरण संकलनमा नै ढिलाइ गर्दा अहिलेसम्म राहत वितरण हुने टुङ्गो नलागेको हो । बेमौसमी वर्षाले कृषि बालीमा भएको क्षतिको लगत पठाउन निर्देशनालयले सबै स्थानीय तहमा कार्तिक पहिलो सातामै पत्राचार गरिसकेको थियो ।

प्रकाशित मितिः   १ पुष २०७८, बिहीबार १०:५५