माओवादी केन्द्रको कर्णाली अध्यक्षमा केसी
सुर्खेत: नेकपा ‐माओवादी केन्द्र) को कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधवार बसेको प्रदेश समितिको पहिलो बैठकले रूकुम–पश्चिमकी केसीलाई अध्यक्षमा छनोट गरेको हो ।
कर्णाली प्रदेश सरकारकी पूर्वमन्त्री केसी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कर्णाली इन्चार्जसमेत हुन् । उनले माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।
वीरेन्द्रनगरमा मंगलवार सम्पन्न प्रदेश सम्मेलनले दुई सय ११ सदस्यीय प्रदेश कमिटी बनाएको छ । अध्यक्ष चयन भए पनि अन्य पदाधिकारीको टुङ्गो भने अझै लागेको छैन । नेताहरूका अनुसार अर्को बैठकले पदाधिकारी चयन गर्नेछ । अध्यक्ष बनेपछि केसीले प्रदेश हाँक्ने जिम्मा दिएकाले अब पार्टीलाई अब्बल बनाउने गरी लाग्ने बताइन् । आगामी चुनावमा राम्रो परिणाम ल्याउनेगरी पार्टीका गतिविधि सञ्चालन गरिने उनको भनाइ छ ।
माओवादी केन्द्रलाई कर्णाली प्रदेश अध्यक्ष चयनमा निकै सकस भएको थियो । जसले गर्दा दुई दिनका लागि तय भएको सम्मेलन चार दिनसम्म लम्बिएको थियो । अध्यक्षमा केन्द्रीय र प्रदेश सदस्यहरूले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरूलाई नै जिम्मेवारी छाड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णयले केसीलाई नेतृत्वमा जान सहज भएको हो ।
यसअघि निवर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य नरबहादुर विष्टलगायतले अध्यक्षमा दाबी गरेका थिए ।
प्रकाशित मितिः १ पुष २०७८, बिहीबार १०:५१
साझा बिसौनी ।