मतदाता शिक्षा अपरिहार्य

अबको केही समयभित्रै मुलुकमा तीन तहको निर्वाचन हुनेछन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन आउन धेरै समय बाँकी छैन । त्यसका लागि प्रारम्भिक चरणको तयारीसमेत सुरु भइसकेको छ । जसअन्तर्गत यतिबेला मतदाता नामावली संकलन अभियान थालिएको छ । फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको छ । नामावली संकलनका लागि प्रतिनिधिहरू गाउँ–गाउँसम्म पुगेका छन् । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहहरूबाट मतदाता नामावली संकलन कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका केन्द्रमा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको हो । नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न गाउँगाउँमा अभियान थालिएको हो । यसले नागरिकलाई आफ्नो नाम दर्ता गर्न सहज बनाएको छ ।

सुर्खेतमा मंसिर १७ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन थालिएको थियो । पहिलो चरणमा सिम्ता, चिङ्गाड र चौकुने गाउँपालिका तथा लेकवेशी नगरपालिकामा मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन भइरहेको छ । पहिलो चरण अन्तर्गत यी पालिकाहरूमा पुस २ गतेसम्म नामावली संकलन गरिने छ । त्यस्तै, दोस्रो चरणको अभियान पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । उक्त चरणमा गुर्भाकोट र भेरीगंगा नगरपालिका तथा बराहताल गाँउपालिकामा नामावली संकलन गर्ने तयारी छ । निर्वाचन आयोगको निर्देशनअनुसार सुर्खेतमा दुई चरणमा मतदाता नामावली संकलन गर्ने कार्यतालिका बनाइएको हो । फोटोसहितको मतदाता नामावली विशेष कार्यक्रम एकै चरणमा सम्पन्न गरिनुपर्ने भनियता पनि कर्मचारी पर्याप्त नभएकाले सुर्खेतमा दुई चरणमा अभियान सञ्चालन गर्नुपरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गाउँमै टोली खटाएर नामावली संकलन थालिएपछि नागरिकहरूको उत्साहजनक सहभागिता रहेको स्थानीय तहहरूले जनाएका छन् ।

विगतमाजस्तो आफ्नो स्थायी घर भएकै ठाउँबाट मतदाता नामावली विवरण भर्नुपर्ने अवस्था अहिले छैन । यसअघि मतदान गर्नका लागि मात्रै नभइ मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साविककै जिल्ला धाउनुपर्ने बाध्यता थियो । अहिले अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । मतदाता नामावली अद्यावधिक भने सम्बन्धित जिल्लामा नै पुग्नुपर्ने व्यवस्था छ । मतदाता नामावली सच्याउने वा सार्नेजस्ता विभिन्न कामको लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मात्र काम गरिँदै आएको छ । मतदाता नामावली संकलन सँगसँगै अब मतदाता शिक्षामा समेत जोड दिन जरुरी छ ।

प्रकाशित मितिः   १ पुष २०७८, बिहीबार ०५:०१