‘वैशाख दोस्रो हप्तासम्म स्थानीय निर्वाचन’

संविधान संशोधनमा तत्काल सहमति नजुटेपछि त्यसलाई स्थगित गरेरै भएपनि स्थानीय निर्वाचनमा जान प्रमुख दलहरु सहमत भएपछि सरकारले निर्वाचनको तयारी थालेको छ । सरकारले वैशाख दोस्रो हप्तासम्ममा स्थानीय निर्वाचन गर्ने तयारी गरेको छ।

निर्वाचनमा जान प्रमुख दलहरु तयार भएका कारण सरकार निर्वाचनको घोषणा गर्ने तयारीमा लागेको हो। ‘अहिलेकै अवस्था रहे वैशाख दोस्रो सातासम्ममा स्थानीय निर्वाचन गर्ने घोषणा हुन सक्छ,’ सत्तारुढ दल माओवादी केन्द्रका कार्यालय सदस्य वर्षमान पुनले भने, ‘त्यही सहमतिका आधारमा संसदमा स्थानीय निर्वाचनसम्बन्धी विधेयक दर्ता भएको हो।’

संविधान संशोधन प्रस्ताव बरु तत्कालका लागि स्थगित हुन सक्ने पुनले बताए। ‘हाम्रो मात्रै चाहनाले संशोधन हुने होइन, सबै एक ठाउँमा नआएसम्मलाई त्यो यत्तिकै अड्किन पनि सक्छ,’ उनले भने।

संविधान संशोधनको मुख्य माग मधेसी मोर्चाको भएकाले उनीहरुलाई सहमतिमा ल्याउनुपर्ने सरकारको दायित्व भएको नेता पुनले जिकिर गरे। ‘अरु तीन पार्टी त संविधान घोषणादेखि नै एकै ठाउँमा छौँ, यो हाम्रै ९तीन पार्टी०कै अगुवाइमा घोषणा भएको हो,’ उनले भने।

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि राजनीतिक मतभेद थप चर्केको थियो। प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्तावविरुद्ध सडक आन्दोलन र सदन समेत अवरुद्ध गर्दै आएको थियो। मंगलबार तीन प्रमुख दलको शीर्ष नेतृत्वबीच बालुवाटारमा भएको छलफलमा नेताहरु स्थानीय निर्वाचनमा जान तयार भएपछि पुरानै संरचनामा निर्वाचन हुने चर्चा समेत चलेको छ।

‘पुरानै संरचनामा निर्वाचन गर्ने भन्ने सहमति भइसकेको छैन,’ पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘संविधानअनुसार गाविसलाई गाउँपालिका बनाएर पनि जान सकिन्छ भन्ने विषयमा नेताहरुबीच कुराकानी भएको हो।’

स्थानीय निर्वाचन घोषणा गरेर जाँदा प्रमुख प्रतिपक्षी एमाले पनि संसद खोल्न तयार हुने बताइएको छ।

प्रकाशित मितिः   २ पुष २०७३, शनिबार १३:४५