कर्णालीमा विकास ओसार्दै मोटर
कहिल्यै गाडी नदेखेकी जुम्ला चन्दननाथस्थित रोकायाबाडाकी ६५ वर्षीया जुनकली रोकायालाई गाउँमा मोटर आउला भन्ने लागेकै थिएन । गाउँमा कसैले मोटर आउने कुरा गर्दा पनि उनलाई पटक्कै विश्वास लागेन । भारी बोकेर पैदल मात्र हिँडेकी उनले गाउँमा मोटर देख्ने कल्पना पनि गरेकी थिइनन् । तर जब उनको आँगनमै सुर्खेतबाट चामल बोकेर मोटर (गाडी) पुग्यो, तब उनलाई भगवानकै दर्शन पाएको अनुभूति भयो ।
सुर्खेत र नेपालगन्जबाट पैदल हिँडेर नुन र चामलको भारी बोक्दै जीवनका पाँच दशक बिताएकी उनले भनिन्, ‘जुम्लासम्म मोटर आउला भन्ने सोचेका पनि थिएनौं, हाम्रा दिन त भारी बोकेरै गए । अहिले त गाउँमै गाडी कुद्न थाले, छोरानातीले भने सुख पाउने भए ।’ सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उनको गाउँमा पनि अहिले मोटर पुगेको छ । गाउँमा गाडी सञ्चालन हुन थालेपछि भौतिक विकासले फड्को मार्न थालेको छ । मोटरसँगै पुगेको चेतना र शिक्षाले विस्तारै परम्परागत अन्धविश्वासको जालो पनि तोडिएको छ । बजार अभावमा गाउँमै कुहिने स्थानीय उत्पादनलाई मोटरले जिल्ला बाहिर लैजान थालेका छन् भने विकासको सम्भावना र आधारलाई जिल्लाभित्र ओसार्न थालेका छन् ।
वर्षौंसम्म सडकबाट वञ्चित कर्णालीका जिल्लाहरूमा प्रायः विकास निर्माण ठप्प नै थियो । भौतिक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ पु¥याउने एक मात्र विकल्प हवाईमार्ग थियो । त्यो पनि भरपर्दाे नहुँदा विकास निर्माणले गति लिन सकेको थिएन । तर हाल कर्णाली राजमार्ग सञ्चालनमा आएपछि कर्णालीका जिल्लामा विकासको ढोका नै खुलेको छ । ‘नुन र चामल त बाहिरबाट बोकेर ल्याउनुपथ्र्यो, निर्माणका सामान बोकेर ल्याउने सम्भावना नै थिएन’ रोकायावाडाका नरजीत परियारले भने, ‘सडक खुलेपछि मात्र गाउँमा विकासको लहर चलेको हो, मोटरले निर्माणका सामान ढुवानी गर्न थालेका छन् । मोटर त हाम्रा लागि भगवान नै हुन्, दुःख बोकेर बाहिरिन्छन् अनि विकास बोकेर भित्रिन्छन् ।’ उनले कर्णालीमा भित्रिएका मोटरसँगै विकास पनि भित्रिएको बताए । जीवन निर्वाह गर्न पुरुषहरू कालापहाड जानुपर्ने बाध्यता टरेको भन्दै उनले सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको जनाए ।
सेनाले ट्रयाक खोलेपछि पहिलोपटक जुम्लामा २०६३ मा मोटर पुगेको थियो । तर सडकमा स्तरोन्नति नहुँदा यो राजमार्गमा नियमित गाडी सञ्चालनमा आएको धेरै भएको छैन । अहिले यो राजमार्ग अन्तर्गत कर्णालीका कालिकोट, जुम्ला र मुगुसम्म मोटर सञ्चालन भइरहेका छन् । मोटर सञ्चालन भएपछि गाउँमा विकास निर्माणको अभियान नै चलेको बताउँछन् कालिकोट दाहा गाविसका कृष्णप्रसाद उपाध्याय । उनी भन्छन्, ‘हामी त हिँडेरै कालापहाड जान्थ्यौं, गाउँमा गाडी आउलान् भन्ने कल्पना पनि थिएन । तर हामीले हेर्दाहेर्दै कर्णालीमा सडक खुल्यो, मोटर चल्न थालेपछि गाउँको मुहार नै फेरिएको छ ।’ उनले गाडीमा ढुवानी गर्दा निर्माण सामग्री सस्तो पर्ने भएकाले पनि भौतिक निर्माणको कामले तीव्रता पाएको बताए । उनले थपे, ‘गाउँ–गाउँमा बाटो खुल्न खुलेको छ, यहाँ उत्पादन भएको सामान बाहिर बिक्री हुन थालेको छ । विद्यालय र अस्पताल निर्माण हुन थालेका छन्, रोजगारी पाइन थालेको छ ।’ पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको भन्दै उनले समयको पनि बचत भएको उल्लेख गरे ।
‘मान्छे बिरामी भएपछि बोकेर लग्नुपर्ने बाध्यता थियो, जहाजमा लैजान पैसा धेरै चाहिन्थ्यो’ जुम्ला कनकासुन्दरीका परिमल बुढाले भने, ‘मोटर नचल्दा उपचार नपाउँदा अकालमै मान्छे मरे, बाँच्ने मान्छेलाई पनि समयमा नै अस्पताल पु¥याउन मुस्किल थियो । अहिले त गाउँमै गाडी पुगे, चाहेको समयमा नै बिरामीलाई अस्पतालसम्म पु¥याउन सजिलो भएको छ ।’
उनले मोटर पुगेसँगै गाउँमा पनि स्वास्थ्यचौकी स्थापना भएको र डाक्टर पनि बस्न थालेको बताए । उनले थपे, ‘विकास भनेकै सडक रहेछ हजुर, पहिला पनि त्यही गाउँ हो । त्यो हालत थियो, अहिले गाडी पुगेपछि सबै सुविधा पुगेको छ ।’ उनले कर्णालीका लागि सडक नै भाग्यरेखा भएको बताए । आफूहरूको भाग्यरेखा भए पनि सडकको मर्मत तथा सुधार नहुँदा यात्रा गर्न कठिन भइरहेको उनको गुनासो छ । उनले मात्र होइन, कर्णालीबासीले नै बारम्बार यो राजमार्गको स्तरोन्नति गर्न माग गर्दै आएका छन् । वर्षातको समयमा भने यो राजमार्ग अवरुद्ध हुने गरेको छ । कर्णालीका डोल्पा र हुम्लामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन । सरकारले अबको दुई वर्षभित्र ती जिल्लामा पनि सडक पु¥याउने लक्ष्य राखेको छ ।
कर्णालीको भाग्यरेखा मानिएको कर्णाली राजमार्ग सञ्चालनमा आएको केही वर्षमा नै विकास निर्माणको गति बढेको छ । ‘भौतिक निर्माण मात्र होइन, सामाजिक विकासमा पनि कर्णालीले फड्को मारेको छ’ जुम्लाका सामाजिक अगुवा अम्मर रोकायाले भने, ‘मोटरसँगै शिक्षित मान्छेहरूको पनि आगमन भयो, बाहिरबाट नयाँ संस्कार र सोच पनि भित्रिएको छ । यसले यहाँको अन्धविश्वासलाई तोडेको छ, यो पनि विकास नै हो ।’ सडक सुविधा पुगेपछि सामाजिक अभियानले तीव्रता पाएको भन्दै उनले मोटरले कर्णालीका जिल्लामा भौतिक तथा सामाजिक विकास ओसार्न थालेको बताए ।
सडक पुगेपछि कर्णालीका कालिकोट, जुम्ला र मुगुमा भौतिक विकासको ढोका खुलेको हो । यस्तै मोटरले नै खाद्यान्न ढुवानी गर्न थालेपछि पछिल्ला वर्षमा यि जिल्लामा खाद्यान्न अभाव हुने समस्या टरेको छ । पैदल हिँड्नुपर्ने बाध्यता हटेपछि स्थानीयले आफ्ना छोराछोरीलाई हिजोआज सुर्खेत र नेपालगन्जमा पढाउन थालेका छन् । आवत–जावत गर्न सहज भएपछि छोराछोरीलाई बाहिरी जिल्लामा पढ्न पठाएको स्थानीय बताउँछन् ।
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १३:३३
साझा बिसौनी ।