खेलकुदलाई अझै पनि सुरक्षित पेसा मानिदैंन । तर तेजुले खेलकुदबाहेक अन्यत्र सोच्दा पनि सोचिनन् । त्यो पनि आजभन्दा तीन दशकअघि । त्यो त्यतिबेलाको समय हो जतिबेला खेलकुदमा भविष्य देख्नेहरूको संख्या अत्यन्तै न्यून हुन्थ्यो । त्यही न्यून संख्याभित्रकी एक थिइन् सुर्खेतकी तेजु गुरुङ्ग ।
वि.सं. २०३६ सालमा जन्मिएकी तेजुले १० वर्षको उमेरदेखि नै कराँते खेल्न थालिन् । खेलकुदले उनलाई धेरै थोक दियो । उनले नाम कमाइन् । दाम पनि कमाइन् । र साथमा सम्मान पनि पाइन् । तर यी सबैथोक उनले सजिलै प्राप्त गरेकी भने होइनन् । थुप्रै चुनौती र समस्याहरूलाई पार गर्दै उनले सफलताका शिखरहरू चुमिन् । त्यो पनि एक पटक होइन पटक–पटक ।
तेजुको रुचि सानैदेखि खेलकुदमा थियो । उनका दाइ प्रकाश गुरुङ्ग पनि खेलकुदमा रुचि राख्थे । खेल्थे पनि । बाटोमा हिँड्दा प्रायः सधैं उनी वीरेन्द्रनगर रंगशालामा कराँते खेलिरहेकाहरू देख्थिन् । उनका दाइ प्रकाश पनि त्यही कराँते खेल्थे । उनीहरूको खेलले तेजुलाई पनि लोभ्याएको थियो । बाटोमा रोक्किएरै उनी दाइहरूले खेलेको हेर्थिन् र मनमनै आफूले पनि खेलेको कल्पना गर्थिन् । उनलाई पनि कराँतेमा रुचि थियो । संयोगले रंगशालामा कराँते सिकाउने गुरु उनकै दाइ प्रकाशका मिल्ने साथी थिए, प्रदिप राई । एक दिन प्रकाशले नै कराँते सिकाइ दिन भनेर तेजुलाई प्रदिपको जिम्मा लगाए । त्यसपछि तेजु पनि नियमित प्रशिक्षण लिन थालिन् ।
प्रदिप राई नै उनका पहिलो गुरु हुन् । उनले तेजुलाई कराँतेको कला सिकाए । तेजुले पनि दिन प्रतिदिन आफूलाई अब्बल सावित गर्दै गइन् । वि.सं. २०५३ सालमा ब्ल्याक बेल्ड पाएकी उनले वि.सं. २०६४ मा थर्ड डन प्राप्त गरिन् । त्यसअघि नै उनले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर पदक हात पारिसकेकी थिइन् । वि.सं. २०५१ सालमा झापामा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा ५३ केजी तौल समूहमा भिडेकी तेजुले थर्ड मेडेल जितिन् । त्यसपछि सुरु भएको हो उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको यात्रा । त्यसअघि जिल्ला र क्षेत्रीयस्तरका प्रतियोगितामा उनले थुप्रै पटक सहभागिता जनाइसकेकी थिइन् । ती प्रतियोगितामा उनी कहिल्यै दोस्रो भइनन्, सधैं प्रथम नै भइन् ।
पोखरामा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी दोस्रो भइन् । पाल्पामा पनि दोस्रो हुँदै उदयीमान खेलाडीको उपाधि जितिन् । वि.सं. २०५५ मा नेपालगन्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो हुँदै उनले वेस्ट प्राइज प्राप्त गरिन् । यसरी उनले राष्ट्रियस्तरका प्रतियोगितामा हरेक पटक पदक जितेरै आइन् । पदकविहीन हुनु परेन । उनको यात्रा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्यो । वि.सं. २०६६ मा काठमाडौंमै भएको आठौं साफ (अहिलेको साग) मा महिला टिमको नेतृत्व गर्दै उनले प्रथम स्थान हासिल गरी स्वर्णपदक दिलाइन् । त्यतिबेला उनको सहयात्री सोनामाया थापा पनि सुर्खेतकै हुन् ।
तेजुको विजयीयात्रा त्यति मात्र सीमित रहेन । दिल्लीमा भएको साउथ एसियन अन्तर्राष्ट्रिय प्रतियोगितामा ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरिन् । त्यहाँ पनि प्रथम भइ स्वर्णपदक जितिन् । एकपटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता आयोजना गरिएको थियो । त्यहाँ पनि ४५ केजी तौल समूहमा तेजु नै भिडिन् । त्यहाँ पनि उनी प्रथम नै भइन् । उनले सहभागिता जनाएका प्रतियोगितामा कहीं पनि खाली हात हुनुपरेको छैन । दुई दशक लामो सक्रिय खेलजीवन बिताएपछि उनी अहिले प्रशिक्षकको रूपमा सक्रिय छिन् ।
आफूले रोजेको पेसाप्रति उनी सन्तुष्ट छिन् । नहोउन पनि कसरी ? आफूसँगैका अरु साथीसंगी धेरै पढेर डाक्टर, पाइलट बन्ने तथा सरकारी जागिर खाने सपना बुनिरहँदा तेजु भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिरहेको सपना देख्ने गर्थिन् । यतिबेला आफ्नो विगत सम्झिँदा तेजुलाई आनन्दानुभूति हुन्छ । खेलजीवनमा आफूले गरेको सङ्घर्ष र सफलताले उनलाई उद्देलित बनाउँछ । आफ्नो सानैदेखिको रुचि र परिवारको पनि साथ भएकाले उनले त्यति धेरै सङ्घर्ष त गर्नुपरेन । तर समस्याहरू नै नआएका भने होइनन् । उनी सम्झिन्छिन्, ‘त्यतिबेला प्रशिक्षण लिनु नै समस्या थियो । खेल सामग्रीहरू नै पाइदैंनथ्यो, भुइँमा खेल्थ्यौं, ढुङ्गा बिज्थे । चोट पटक पनि लाग्थ्यो । चेन्जिङ रुम समेत हुँदैन थियो त्यसैले हामी महिला खेलाडीहरूलाई यस्तै सानातिना समस्याले बढी सताउँथ्यो ।’
त्यतिबेला निकै कम प्रतियोगिताहरू हुन्थे । जतिसुकै प्रशिक्षण लिएर तयारी गरे पनि प्रतियोगिता नहुँदा खेल्न पाइदैनथ्यो । ‘प्रतियोगिता भनेको खेलाडीको क्षमता परीक्षण र मूल्याङ्कन गर्ने माध्यम हुन्’ तेजुले भनिन्, ‘तर प्रतियोगिताहरू अत्यन्तै न्यून हुँदा खेलाडीहरू आफ्नो क्षमता प्रदर्शन गर्न समेत नपाउने अवस्था थियो ।’ एकातर्फ प्रतियोगिताहरू नै कम हुन्थे, अर्कोतर्फ ठूला प्रतियोगितामा सहभागिताका लागि खेलाडीको क्षमता र प्रदर्शन हेरेरभन्दा पनि पहुँचको भरमा खेलाडी छनौट गर्ने प्रवृत्ति थियो ।
जिल्लाबाहिरका प्रतियोगितामा सहभागिता जनाउँदा आर्थिक अभावले पनि सताउँथ्यो । तेजुले पनि यस्तो अभाव झेलिन् । प्रतियोगितामा सहभागी हुनकै लागि उनले आमाले बनाइदिएका गहनादेखि साइकलसमेत बेचिन् । ती दिनहरू सम्झदैं उनी भन्छिन् ‘मेरा एउटा साइकल थियो, प्रतियोगितामा भाग लिन जिल्लाबाहिर जानुपर्ने भयो त्यसपछि त्यो साइकल नै बेचेँ ।’ खेलकुदमा आइपर्ने समस्या त छँदै थिए, त्यहीबेला तेजुले पारिवारिक समस्या पनि झेल्नुप¥यो । बुबा र आमाको मृत्युपछि दुई वटी बहिनीको पालनपोषण र पढाइको जिम्मेवारी पनि उनकै काँधमा आयो । किनभने दाइ र दिदीहरूको विवाह भएर छुट्टिसकेका थिए । तर पनि तेजुले हरेश खाइनन् । खेलकुदलाई निरन्तरता दिइन् । सँगसँगै खेलेर आएको पैसा बचत गरेर बहिनीहरूलाई समेत पढाइन् । जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षकको जागिर पाएपछि भने उनलाई सहज भयो । आठौं साफ प्रतियोगितामा प्रथम हुनेलाई सरकारले नै रोजगारी दिने निर्णय गरेको थियो । तेजुले पनि नियुक्ति पाइन् । १२ वर्षदेखि उनी जिल्ला खेलकुद विकास समिति सुर्खेत अन्तर्गत कराँतेको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । ‘कराँते खेलेर के पाउनु भयो त ?’ साझा बिसौनीको प्रश्नमा उनले भनिन्, ‘मैले जे जति पाएँ खेलेरै त पाएँ । ठूला मान्छेहरूसँग संगत भयो । धेरैजनासँग चिनजान भयो । धेरथोर पैसा पनि कमाइ भयो । आफूलाई सन्तुष्टि पनि मिल्यो । जीवनमा सही बाटो रोजेछु जस्तो लाग्छ ।’
जीवनमा सफल हुनका लागि सबैभन्दा पहिला आफ्नो रुचि चिन्नुपर्ने उनको भनाइ छ । आफ्नो इच्छाले गरेको काममा सफलता मिल्ने विश्वास पनि तेजुको छ । ‘लगनशील भएर मेहेनत गर्दै अघि बढे सफलता अवश्य मिल्छ’ उनले भनिन् । छोटो समयमा ठूलो प्रगति खोज्नेहरू सफल हनु नसक्ने उनको तर्क छ । त्यसमा पनि खेलकुदमा तत्काल नतिजा प्राप्त नहुने भन्दै उनले सङ्घर्ष गरिरहनुपर्ने सुझाव तेजु नयाँ खेलाडीहरूलाई दिन्छिन् ।
(फाइल स्टोरी)
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १३:२३
साझा बिसौनी ।