डाक्टरी पढाइ शुभारम्भ

जुम्ला: जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार चिकित्सा विज्ञानको पढाइ शुभारम्भ गरेकी हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको बताएकी छन् । प्रतिष्ठान स्थापनाको १० वर्षपछि यहाँ एमबीबीएस (डाक्टरी) पढाइ थालिएको हो । ‘यहाँका विद्यार्थीहरूले आफ्नै घरमा बसेर गुणस्तरीय मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनि गरिएको प्रयास सफल भएको छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले प्रतिष्ठानले स्वास्थ्य सेवाको पहुँच विस्तारमा ठूलो मद्दत पुगेको समेत बताइन् । दुर्गम क्षेत्रका गर्भवतीहरूका लागि राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरणमा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको समेत शिलान्यास गरेकी छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झाडा पखाला, हैजाजस्ता रोगको प्रकोपले सताउने कर्णालीमा प्रतिष्ठानले यो समस्याबाट मुक्ति दिएको भन्दै प्रशंसा गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० जना एमबीबीएस अध्ययनका लागि कोटा भए पनि १९ जना विद्यार्थीहरू अध्ययनका लागि जुम्ला पुगिसकेका छन् । जुम्लामा पहिलो पटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एमबीबीएस अध्ययन गर्न १९ जना विद्यार्थी भर्ना भएका छन् भने बीफार्ममा ११ जना, बीएमएसतर्फ आठ जना, बीएनएस नर्सिङ १६ जना र बीपीएचमा आठ जना विद्यार्थी भर्ना भइ आइतवारदेखि पढाइ सुरू भएको छ । एक जना डाक्टर पाउन मुस्किल हुने ठाउँ डाक्टर उत्पादन गर्ने कारखानाको रूपमा परिणत भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमसँगै पीएचडी कार्यक्रम पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानले तयारी गरेको छ ।

प्रकाशित मितिः   २७ मंसिर २०७८, सोमबार ११:३३