माओवादी केन्द्रको प्रदेश सम्मेलन

सुर्खेत: नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सम्मेलन शनिवार (आज) देखि सुरू हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलनमार्फत अधिवेशनको सबै तयारी पूरा भएको जनाइएको छ । माओवादी केन्द्रले प्रदेशको प्रथम सम्मेलन वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा गर्न लागेको हो ।

झन्डै एक हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले पार्टीको आगामी प्रदेश नेतृत्व चयन गर्ने छ ।

सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चूअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । सम्मेलन बिहान ११ बजे उद्घाटन हुने माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष एवम् सम्मेलन आयोजक कमिटीका संयोजक राजकुमार शर्माले बताए । उनका अनुसार सम्मेलनमा प्रदेशभरबाट नौ सय ६२ जना प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिसँगै पर्यवेक्षकको पनि सहभागिता रहने संयोजक शर्माले बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेशको नयाँ नेतृत्व चयन गरिने छ ।

प्रदेश सम्मेलन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू बनाइएको छ । प्रचार–प्रसार तथा मञ्च व्यवस्थापन, स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन समिति गठन गरिएको हो । त्यस्तै, स्वयम्सेवक परिचालन, कलाकार व्यवस्थापन र प्रतिवेदन तयारीलगायत गरेर आठ वटा उपसमिति बनाइएको छ । सम्मेलनमार्फत सकभर सर्वसम्मत् नेतृत्व छनोटका लागि प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मितिः   २५ मंसिर २०७८, शनिबार ०१:११