पदाधिकारीमा कर्णालीबाट दुई जनाको दाबी

सुर्खेत: कर्णाली प्रदेशबाट नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व गर्ने एक मात्र नेता हुन् पूर्णबहादुर खड्का । उनी केन्द्रीय सदस्यबाट सहमहामन्त्री हुँदै पार्टीको महामन्त्री भइसकेका छन् । शुक्रवार (आज) देखि सुरु हुने १४औं महाधिवेशनबाट भने कर्णालीले पदाधिकारीका दुई पदमा दाबी गर्ने भएको छ ।

महामन्त्री खड्का संस्थापन समूहबाट यसपटक उपसभापतिको उम्मेदवार बन्दैछन् । पुनः महामन्त्री हुने आकांक्षा राखेका खड्कालाई सभापति शेरबहादुर देउवाले उपसभापतिको उम्मेदवार बनाउन लागेको बताइएको छ ।

त्यसबाहेक सहमहाममन्त्रीमा पनि कर्णालीले दाबी गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका शाहीले पिछडीएको क्षेत्रबाट सहमहामन्त्री दाबी गरेका हुन् । उनी पनि संस्थापन समूहकै नेता हुन् । पार्टी सभापति शेरबहादुर देउवाले समेत शाहीलाई उम्मेदवार बनाउने बचन दिइसकेको उनी निकट स्रोतले जनाएको छ ।

यसबाहेक केन्द्रीय सदस्यका लागि भने कर्णालीबाट आधा दर्जन बढी नेताहरूले दाबी गरेका छन् । पूर्वमन्त्री हृदयराम थानीले यसपटक पनि केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिने भएका छन् । उनले कर्णाली प्रदेश भुगोलअन्तर्गत उम्मेदवारी घोषणा गरेका छन् । थानी संस्थापनइतर समूहका हुन् । सोही समूहबाट दिपकजंग शाह, दिनबन्धु श्रेष्ठ, नारायण भट्टराईलगायतले पनि केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरेका छन् ।
संस्थापन समूहबाट राजिवविक्रम शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि प्रदेश सभापतिको दाबी गरेका शाहलाई केन्द्रीय सदस्य बनाउने आश्वासन केन्द्रबाट दिइएको बताइन्छ । शाहसहित सोही समूहबाट कान्तिका सेजुवालले पनि केन्द्रीय सदस्यमा दाबी पेस गरेकी छिन् ।

कर्णाली प्रदेशबाट कांग्रेस महाधिवेशनका लागि तीन सय १६ जना प्रतिनिधि छानिएका छन् । महाधिवेशन प्रतिनिधिमा संस्था समूहका धेरै छन् । प्रदेशका १० मध्ये आठ जिल्लासहित अधिकांश स्थानीय तह, क्षेत्र र प्रदेशको नेतृत्व समेत सोही समूहले जितेको थियो ।

प्रकाशित मितिः   २४ मंसिर २०७८, शुक्रबार ०९:०९