८५ परिवारलाई राहत दिने निर्णय

सुर्खेत: कर्णाली प्रदेश सरकारले मुगुका अग्नी पीडितलाई राहत दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्याङ्कन गरी २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । आगलागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम प्रदान गर्न लागिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सरकारले यसअघि नै राहत दिने भनेपनि कति रकम उपलब्ध गराउने भन्नेबारे अहिले निर्णय गरिएको जनाए । गत कार्तिक २९ गते छायाँनाथ रारा नगरपालिका– १ गमगढी बजारमा आगलागी भएको थियो । आगलागीबाट २० घर पूर्णरूपमा क्षति भएका थिए भने ५० भन्दा बढी व्यवसायमा क्षति पुगेको थियो ।

आगलागीबाट पूर्णघर क्षति भएकालाई १० लाखसम्म राहत दिन लागिएको छ । व्यवसायमा क्षति भएकालाई नोक्सानीको यकिन गरी सोहीअनुसार रकम दिइने सरकारले जनाएको छ । यस्तै, आंशिक घर क्षतितर्फ एक लाख बराबरको नोक्सान भएकाले २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत रकम पाउने छन् । आगलागीबाट क्षति भएका व्यवसायहरूलाई २० लाखसम्म नोक्सान भएकाले तीस हजार राहत पाउने छन् । २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने सरकारले जनाएको छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७८, शुक्रबार ०९:०६