संसदीय समितिद्वारा नागरिकसँग संवाद

सुर्खेत: कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरूले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन संवादमा जोड दिन थालेका छन् । मिनी संसद्को रूपमा समेत चिनिने संसदीय समितिले कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न गाउँघरमै पुगेर संवाद गरिरहेका हुन् । नागरिकका गुनासा सुन्ने र सोहीअनुसार नीति निर्माण गर्ने उद्देश्यले नागरिक–सांसद संवाद थालिएको हो । यसले संसदीय खुलापन समेत बढाउँदै लगेको प्रदेशसभाका ससदस्यहरूले बताएका छन् ।

प्रदेशसभाका समितिहरू पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा पुगेर नागरिकहरूको गुनासो सुन्ने गरिरहेका छन् । सोही क्रममा कर्णाली प्रदेशसभा सचिवालय र सामाजिक विकास समितिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा पश्चिम सुर्खेतमा नागरिकसँग अन्तक्रिया गरेको छ । चौकुने गाउँपालिका–८ स्थित गुटुका नागरिकसँग अन्तरक्रिया गरिएको हो । उक्त नागरिक संवादमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्ट, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, सामाजिक विकास समिति सदस्यहरू कृष्णा शाह र रातो कामीको उपस्थिति थियो । स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा अधिवक्ता गीता कोइरालाले घरेलु हिंसाको स्वरूप तथा यसको कानुनी उपचारको विषयमा सहभागीहरूलाई जानकारी गराएकी थिइन् ।

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्टले घरेलु हिंसाबाट पीडित महिलाहरूको पक्षमा वकालत गर्न आफूहरू सधैँ तयार रहेको बताइन् । ‘अनेकखाले हिंसा भोगेको कारण महिला दिदीबहिनीहरू अगाडी बढ्न सक्नुभएको छैन,’ उनले भनिन्, ‘त्यसका लागि हिंसारहित समाज निर्माणका गर्न लैङ्गिक विभेद अन्त्य गर्ने अभियानमा लाग्नुपर्छ ।’ घरेलु हिंसाको अन्त्यको लागि सबैलाई प्रतिबद्ध हुन समेत उनले सुझाइन् । त्यस्तै, सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले शिक्षाले घरेलु हिंसा अन्त्य गर्न महŒवपूर्ण योगदान दिने जनाइन् । महिला सशक्तीकरणको लागि शिक्षा नै जरुरी रहेको उनको भनाइ थियो । अन्तरक्रियामा स्थानीय महिला तथा किशोरीरूले आफूले भोगिरहेको हिंसा र त्यसले पारेको मनोवैज्ञानिक प्रभावकाबारेमा प्रदेशसभा सदस्यहरूलाई बताएका थिए ।

प्रकाशित मितिः   २२ मंसिर २०७८, बुधबार ११:०६