कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन
सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित उक्त कार्यक्रम कर्णालीमा पनि सुरू गरिएको हो । प्रदेशको हुम्ला र डोल्पाबाहेकका ४७ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसका लागि सम्बन्धित पालिकाहरूसँग सम्झौता समेत भइसकेको कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक भोजराज सापकोटाले बताए । उनका अनुुसार कार्यक्रमले बहुपक्षीय सहभागितामूलक कृषि प्रसार सेवाको विकास र दिगो कृषि सेवा विस्तार गर्ने आधार तय गर्ने लक्ष्य लिएको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट टोलस्तरमा कृषि प्रसारका सेवा विस्तार गरिने छ । यो कार्यक्रमबाट किसानले बहुआयामिक लाभ लिन सक्ने संयोजक सापकोटाको भनाइ छ ।
कार्यक्रमले नाफामूलक कृषि मूल्य श्रृंखला, बाली वस्तुको पहिचान तथा छनोट, विकासको लागि सह–लगानी, सामुदायिक एवम् सार्वजनिक पूर्वाधार निर्माणमा लगानी गर्नेछ । यस्तै, ग्रामीण वित्तीय सेवाको विकास र कर्जा पहुँचमा सहजीकरण समेत गरिने जनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि बालीवस्तु, पशुपन्छी तथा माछाको नयाँ जात र नश्लहरूको परीक्षण एवम् प्रदर्शन गरिने छ । त्यसैगरी कृषिसम्बन्धी विभिन्न सामूहिक तालिमसमेत दिइने छ । सो कार्यक्रम अन्तर्गत मंगलवार सुर्खेतको भेरीगंगा नगरपालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको छ । कृषि क्षेत्र विकास कार्यक्रम र भेरीगंगा नगरपालिकाको सह–लगानीमा मैनतडा र रामघाटमा केन्द्र स्थापना गरिएका हुन् । यी दुई केन्द्रबाट पालिकाका अन्य क्षेत्रमा सेवा प्रवाह गरिने छ । यसअघि केही पालिकामा केन्द्र स्थापना गरिसकिएको छ । चालु आर्थिक वर्षमा २०७८÷०७९ मा विभिन्न पालिकामा गरी ४३ केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
प्रकाशित मितिः २२ मंसिर २०७८, बुधबार ११:०४
साझा बिसौनी ।