कांग्रेस प्रदेश महाधिवेशन: संस्थापन पक्ष विजयी

सुर्खेत: नेपाली कांग्रेसको कर्णाली प्रदेश महाधिवेशनमा संस्थापन (शेरबहादुर देउवा) पक्ष विजयी भएको छ । सभापतिमा संस्थापन पक्षका ललितजंग शाहीसहित उनको टिम नै विजयी भएको हो । शाहीले चार सय २२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीले तीन सय १७ मत प्राप्त गरे । संस्थापनइतर ‐रामचन्द्र पौडेल) समूहका भुपेन्द्रजंग शाही एक सय पाँच मतान्तरले पराजित भएका हुन् । त्यस्तै विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका मोतिराज बमले सात मत पाएका छन् । प्रदेश महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सात सय ७१ मतदातामध्ये सात सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार आठ मत बदर भएका थिए ।

यस्तै, उप–सभापितमा कालिबहादुर सहकारी र सनतकुमार कार्की विजयी भएका छन् । सहकारीले चार सय ५६ र कार्कीले चार सय ४३ मत ल्याएर विजयी भएका हुन् । प्रदेश महामन्त्रीमा निरञ्जन केसी र कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् । केसीले चार सय २५ र रोकायले चार सय २३ मत ल्याएका हुन् । सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापा र एकराज डाँगी विजयी भएको छन् । थापाले चार सय ३० र डाँगीले चार सय ५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्यस्तै, सह–महामन्त्री महिला पदमा रामछायाँकुमारी शाही चार सय २४ मत ल्याएर विजयी भएकी छन् । यी सबै संस्थापन समूहका हुन् । कांग्रेस कर्णाली प्रदेश समितिमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । प्रदेश समितिको सदस्यमा पनि संस्थापन पक्ष नै विजयी भएको छ । सर्वसम्मत भएका केही सदस्य मात्रै संस्थापनइतर पक्षबाट आएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मितिः   २० मंसिर २०७८, सोमबार ०५:०२