हिंसारहित समुदाय
घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो अनेकन् विभेद यो समुदायले झेलेको छैन । लैङ्गिक र जातीयजस्ता विभेदका खाडल यहाँ छैनन् । राउटे समुदायका नागरिक मुलुकको कानुन जान्दैनन् । झै–झगडा र मुद्दामामिलाको लफडामा यिनीहरू फस्दैनन् । शान्त र अनुशासित उनीहरू आफ्नै परम्परा, रितीरिवाज र चालचलन चल्छन् । राउटे समुदायको उत्थानका लागि क्रियाशील अभियन्ताहरूका अनुसार सानो–ठूलो, धनी–गरिब र महिला–पुरुषबीच गरिने विभेद यो बस्तीमा निकै कम छ । समाजको मूलप्रवाहीकरणमा ल्याउने प्रयासहरू भइरहे पनि राउटे समुदायमा गैरसमुदायको तुलनामा एक–अर्काबीच बढी नै समानता छ । बरु पछिल्लो समय गैरसमुदायबाट राउटेमाथि दुव्र्यवहार र हिंसाजन्य गतिविधिको जोखिम बढ्दो छ । बाहिरी समुदायसँगको घुलमिलले उनीहरू कुलतमा फसेका छन् । यसले गर्दा अति लोपोन्मुख समुदाय अस्थित्वकै संकटमा छ । आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको छ राउटे समुदाय । उनीहरू औपचारिक शिक्षामा विश्वास गर्दैनन् । तर, यहाँ महिला–पुरुषमा सम्मान र समानता छ ।
राउटे अगुवाहरू श्रीमती र बालबालिकालाई गाली तथा हेला गर्नुहुन्न भन्ने मान्यता राख्छन् । सोही अनुसार व्यवहार गर्छन् पनि । परिवारमा मिलेर बसे राम्रो हुने उनीहरूको बुझाइ छ । महिलाको संरक्षण र सम्मानका लागि आफ्नो समुदायमा एकखालको नियम नै बनाइने गरिएको उनीहरू बताउँछन् । यो समुदायमा लैङ्गिक हिंसा र एक–अर्काबीच विभेद छैन । सभ्य भनिएको समाजले यहाँबाट सिक्नुपर्ने थुप्रै संस्कार पनि छन् । हिंसाजन्य घटना शून्यप्रायः जस्तै भएको समुदाय हो, राउटे । अहिलेको समाज प्रतिस्पर्धी र आधुनिकताउन्मुख छ । महिला–पुरुष र विभिन्न जातजाती मिलेर बसेको विरलै भेटिन्छ । आधुनिकता उन्मुख भएसँगै अन्य समाजमा हिंसा र विभेदका घटना बर्सेनि बढ्दै गएका छन् । हिंसाको रूप पनि बदलिँदो छ । जसले गर्दा महिला, बालबालिका र विपन्न परिवार मारमा पर्दै आएका छन् । तर, राउटे समुदायमा यस्ता कुरीति भेटिदैनन् । यही समयमा राउटे समुदाय भने नमुना बनेको छ । उनीहरू आफ्नो होस् वा अरु कसैमाथि हानी पुर्याउँदैनन् ।
लोपोन्मुख जाति राउटे कर्णाली प्रदेश र आसपासका जङ्गल तथा नदी किनारमा बस्ती सारिरहन्छन् । उनीहरू एकै ठाउँमा बस्न रुचाउँदैनन् । शिक्षा, आधुनिक उपचार पद्धति, कृषि र पशुपालनदेखि पर छन् । सरकारले उपलब्ध गराउने मासिक भत्ताका भरमा उनीहरूको जीवनयापन हुँदै आएको छ । बस्ती सरिरहने राउटेहरू अव्यवस्थित बसाइँले भने असुरक्षित छन् । जीविकोपार्जनमा समेत उनीहरूलाई समस्या छ । परम्परागत पेसाबाट बिमुख बनेको यो समुदायले खाद्यान्न खाद्य संकट समेत झल्दै आएको छ । गैरसमुदायको प्रभाव बढेसँगै राउटेहरू असुरक्षित महसुस गर्न थालेका छन् । उनीहरूको सुरक्षा र संरक्षणमा राज्यको ध्यान जान आवश्यक छ । अन्य समुदायजस्तो घरेलु हिंसाबाट राउटे महिला प्रताडित छैनन् । बरु गैरराउटे समुदाय अनेक खालका हिंसा र विभेदको सिकार हुँदै आएको छ । हिंसारहित समाज बनाउन राउटे समुदायबाट अरुले पनि सिक्न जरुरी छ ।
प्रकाशित मितिः २० मंसिर २०७८, सोमबार ०५:०१
सम्पादकीय ।